२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

इजरायल सरकारले हस्तान्तरण गरेपछि १० जना नेपालीको शव ल्याइन्छ : परराष्ट्र मन्त्रालय

इजरायल सरकारले पोस्टमार्टम गरेर शव बुझाउन बाँकी रहेको परराष्ट्र मन्त्रालयको भनाइ
कान्तिपुर संवाददाता

काठमाडौँ — इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बुधबार इजरायल घटनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण केही समय लाग्ने बताएकी हुन् ।

इजरायल सरकारले हस्तान्तरण गरेपछि १० जना नेपालीको शव ल्याइन्छ : परराष्ट्र मन्त्रालय

इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज उड्दै छ । इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ल्याउन उक्त जहाजमा ल्याउन नसकिने प्रवक्ता लम्सालले जानकारी दिइन् ।

'यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन तुरुन्तै ल्याउने हो,' प्रवक्ता लम्सालले भनिन्, 'इजरायल युद्धको अवस्थामा र आपत्कालीन अवस्थामा भएको कारणले पोस्टमार्टमलगायत प्रोटोकलहरुलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं । दबाब दिने अवस्थामा छैनौं ।'

धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको इजरायल सरकारले जानकारी दिएको पनि प्रवक्ता लम्सालले जानकारी दिइन् ।

आक्रमणमा परी घाइतेमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइसकेको पनि उनले बताइन् । 'भर्खरै दुई जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनु भएको जानकारी आएको छ,' प्रवक्ता लम्सालले भनिन् । सम्पर्कविहीन रहेका महेन्द्रनगरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको पनि उनले बताइन् । सरकारले बुधबार राति नेपालीहरूलाई स्वदेश फर्काउन नेपाल वायु सेवा निगमको जहाज पठाउन भएको छ ।

प्रकाशित : आश्विन २४, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?