२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

यूएन महासभाको पूर्वतयारी गर्न परराष्ट्रमन्त्री साउद न्युयोर्क आउँदै

प्रधानमन्त्री दाहालले नेतृत्व गर्ने प्रतिनिधि मण्डलको संख्या घटाएर ११ मा झारियो
जगदीश्वर पाण्डे

न्युयोर्क (अमेरिका) — नेपालबाट उच्च तहमै यसपटक संयुक्त राष्ट्रसंघ (यूएन) ७८ औं महासभामा प्रतिनिधित्व हुने भएपछि पूर्वतयारीका लागि परराष्ट्रमन्त्री एनपी साउद छिट्टै न्युयोर्क आउने भएका छन् ।

यूएन महासभाको पूर्वतयारी गर्न परराष्ट्रमन्त्री साउद न्युयोर्क आउँदै

न्युयोर्कमा रहेको यूएनको मुख्य कार्यालयमा बुधबारदेखि महासभा सुरु हुँदैछ । परराष्ट्रमन्त्री साउद मंगलबार आउन लागेका हुन् । ‘परराष्ट्रमन्त्रीज्यु भोलि आउने कार्यक्रम छ,’ परराष्ट्र स्रोतले भन्यो । मन्त्रीको साथमा उनका स्वकीय दीपक जोशी पनि हुनेछन् । साथै, न्युयोर्कस्थित यूएनका लागि नेपालको स्थायी नियोगले पनि महासभाको गृहकार्यका लागि तयारी गरिरहेको जनाएको छ । महासभा र त्यसको अघि र पछि हुने कार्यक्रम तथा साइडलाइन भेटवार्ताका लागि नियोग व्यस्त छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल भने ३० गते न्युयोर्क आउने कार्यक्रम छ । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर आउन लागेका दाहालको टोलीमा अब ११ जना हुनेछन् ।

प्रधानमन्त्री दाहाल स्वयंले भ्रमण दल ठूलो भयो भनेपछि यसअघि २६ जनाको टोली न्युयोर्क आउने तय गरिएकोमा अब ११ जनामा झारिएको हो । अब नेपालबाट ११ जना तथा अमेरिकामा रहेको न्यूयोर्कस्थित नेपाली स्थायी नियोग र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट १४ गरि ३० जनाले महासभामा सहभागिता जनाउने छन् । अमेरिकामा थपिने १४ जनामा यूएनका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापा र नियोगका अधिकारीहरू तथा वासिङ्टन डीसीस्थित नेपाली दूतावासका राजदूत श्रीधर खत्री र दूतावासका अधिकारीहरु हुन् ।

परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री दाहालको टोलीमा आउन लागेका प्रधानमन्त्रीका निजी चिकित्सक, स्वकीय सचिव रमेश मल्ल, परराष्ट्र सचिव भरतराज पौड्याल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीदेखि परराष्ट्र मन्त्रीका सचिवालयका उपसचिव हरि ओडारीसम्म रहेका छन् । ‘संख्या घटाउने सम्बन्धमा गृहकार्य भइरहेको छ । हालको लागि ११ जनामा झारिएको छ । अझै केही तलमाथि पनि हुन सक्छ,’ परराष्ट्र स्रोतले भन्यो ।

नेपालबाट दुई वर्षपछि महासभामा प्रधानमन्त्रीकै तहबाट सम्बोधन हुन लागेको हो भने सन् २०१८ मा ७३ औं महासभामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागिता जनाएका थिए । सन् २०१९ मा ७४ औं महासभामा ओली सरकारका तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका थिए भने सन् २०२० मा कोभिड–१९ को कारण भर्चुअल रूपमा भएको ७५ औं महासभामा तत्कालीन प्रधानमन्त्री ओलीले भिडियोमार्फत सम्बोधन गरेका थिए । सन् २०२१ मा भएको ७६ औं महासभामा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमन्त्री नारायण खड्का र सन् २०२२ को ७७ औं महासभामा परराष्ट्र सचिव भरतराज पौड्याललाई जिम्मेवारी दिएर सम्बोधन गर्न पठाएको थियो ।

नेपालले यूएनको महासभामा एक दर्जन मुख्य कार्यक्रममा सहभागिता जनाउने गरी गृहकार्य भएको छ । सेप्टेम्बर २१ मा महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल चीन भ्रमणमा निस्कने कार्यक्रम छ । त्यसबीचमा नेपालले दिगो विकास लक्ष्यहरू (एसडीजी) समिट, हाई लेभल डाइलग अन फाइनान्सिङ फर डेभलपमेन्ट, क्लाइमेट एम्बिसन समिट, हाई लेभल मिटिङ अन पेन्डामिक प्रिभेन्सन, प्रिपियरनेस एन्ड रेसस्पोन्स, प्रिपराटोरी मिनिस्टर्ल मिटिङ फर द समिट अफ द फ्युचर, हाई-लेभल मिटिङ अल युनिभर्सल हेल्थ कभरेल, हाई-लेभल मिटिङ अल द फाइट अगेन्स टुभर्कुलोसिस, अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गर्दै कार्यक्रम, सार्क मन्त्रीस्तरीय साइडलाइन वार्तामा नेपालको तर्फबाट सहभागिता रहने छ ।

प्रधानमन्त्री दाहाल न्युयोर्कबाट नआई सिधै चीन उड्ने कार्यक्रम छ । गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएपछि दाहालले जेठ १७ देखि २० सम्म भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि उनी इटाली प्रस्थान गरे । साउन ८–१० मा रोममा भएको ‘युनाइटेड नेसन्स फुड सिस्टम समिट–२०२३ स्टकटेकिङ मुभमेन्ट’ मा उनले नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए ।

प्रकाशित : भाद्र २५, २०८० १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?