२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

नेपालबाट चोरिएका सम्पदा थुप्रिएको विदेशी संग्रहालयकै सहयोगमा इटुम्बहाल विहारभित्र अर्को संग्रहालय !

चोर्नका लागि झनै सजिलो बाटो बन्यो : सम्पदाविद् सुदर्शन तिवारी
कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालबाट चोरिएका वा हराएका २ दर्जनभन्दा पुरातात्त्विक सम्पदा आफ्नो संग्रहमा राख्ने अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियमले काठमाडौं उपत्यकाको इटुम्बहालमा रहेको केशचन्द्र महाविहारभित्र म्युजियम स्थापना गर्न आर्थिकसहितको सहयोग गरेको छ ।

नेपालबाट चोरिएका सम्पदा थुप्रिएको विदेशी संग्रहालयकै सहयोगमा इटुम्बहाल विहारभित्र अर्को संग्रहालय !

यही केशचन्द्र महाविहारबाटै सन् ९० को दशकमा चोरिएको माला पहिरेकी अप्सरा (गन्धर्व)को आकृति रुबिनमै फेला परेपछि २ वर्षअघि मात्रै जनस्तर तथा कूटनीतिक पहलबाट घर फिर्ता गरिएको थियो । रुबिनमा अहिले पनि नेपालबाट हराएका २ दर्जनभन्दा बढी पुरातात्त्विक सम्पदा यथावत् रहेकै छन्‚ जसबारे घरफिर्तीमा कुनै पहल भएको छैन ।

‘रुबिनले यहाँ म्युजियम स्थापना गर्न २० हजार डलर सहयोग दिएको हो, यही स्रोतका आधारमा विहारभित्रका ३ कोठा उपयोग गरेर यो साताबाट संग्रहालय खुल्न लागेको हो,’ केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष प्रज्ञारत्न शाक्यले कान्तिपुरसँग भने‚ ‘रुबिनले हाम्रै विहारबाट चोरिएको सम्पदा पनि विगतमा संग्रहमा राखेको र अझै पनि त्यहाँ थुप्रै सम्पदाहरू रहेको जानकारी छ । यसो भन्दैमा म्युजियम खोल्नका लागि दिइएको सहयोगलाई अन्यथा ठान्न नमिल्ने देखेर हाम्रो गुठीले स्वीकार गरेको हो ।’

उपत्यकाकै ठूलो र समृद्धमध्येको मानिने केशचन्द्र महाविहारभित्र म्युजियम खोल्नेबारेमा विवाद उठिरहेका बेला अध्यक्ष शाक्यले ‘एउटा विहारमा म्युजियम बन्नु हुँदैन भनेर कतै नलेखिएको’ जिकीर गर्दै विहारमा भएका देवता र सम्पदा हटाएर म्युजियम बनाउने काम नगरिएको बताए । ‘भएका सम्पदालाई अझ सुरक्षित राख्न र अभिलेखमा देखाउन पनि म्युजियम बन्न लागेको हो,’ उनले बताए ।

रुबिनमा रहेका नेपाली सम्पदाको सूची हेर्न यहाँ क्लिक गर्नुहोस्

जुन विहारभित्रको पुरातात्त्विक सम्पदा चोरी भएर वर्षौंसम्म अमेरिकी म्युजियममा प्रदर्शनीमा राखिएको थियो, त्यही म्युजियमको आर्थिक सहयोगमा विहारमा म्युजियम खोल्न लाग्नुलाई ‘अनौठो घटना’ भन्दै सम्पदाविद् प्राध्यापक सुदर्शन तिवारीले कुनै विहार, मठ-मन्दिरमा म्युजियम खोल्नुको तुक नरहेको बताए । ‘आज पनि हाम्रा सम्पदाहरू रुबिन र अरु विदेशी म्युजियमहरूमा थन्किएकै छन्, त्यहाँ उनीहरुले प्रदर्शनीमा राखेर वाहवाही कमाएकै छन् । अब हाम्रै सम्पदाको नाम लिएर (बेचेर) यता पनि स्याब्बासी बटुल्नेछन्,’ तिवारीले भने‚ ‘अब यसो गर्नासाथ रुबिनको डिस्प्लेमा राखिएका नेपाली सम्पदा यता ल्याउन पनि मिल्यो, यताबाट उता लैजान पनि मिल्यो । चोर्नलाई अझ बाटो सजिलो भएझैं भयो ।’

उनले ‘यो एउटा मूर्ति वा कुनै सम्पदाको मात्रै कुरा नभएर यो त संवेदना, आरधना र आस्थाको कुरा समेत रहेको’ बताउँदै सम्पदा संग्रहका नाममा गलत नजिर बसाइसकेको विदेशी म्युजियमको सहयोग स्विकार्नु आफैंमा लज्जास्पद कुरा रहको बताए । ‘यसरी मनोमानी रुपमा विहारभित्र म्युजियम खोल्ने र त्यसमाथि हाम्रै सम्पदा चोरिएर संग्रहमा राख्ने म्युजियमले दिएको आर्थिक सहयोगमा यता संग्रहालय बनाउने कुरामा हाम्रा पुरातत्त्व विभागले के हेरिरहेको छ ?’ उनले प्रश्न गरे ।

विगतमा रुबिन म्युजियममा बसेर सोध गर्ने तथा हाल लुम्बिनी बौद्ध विश्वविद्यालयसम्बद्ध स्वस्ति राजभण्डारीले ‘आफ्नो विहारमा म्युजियम खोल्ने इटुम्बहालबासीको वर्षौं पुरानो सपनामा रुबिनले सहयोग गरेको’ बताइन् । ‘धेरै विहारमा यस्तै सम्पदा थन्किएर बसेका छन्, कुनै अभिलेख पनि छैन । यसरी म्युजियम बन्नु सकारात्मक हो,’ उनले भनिन् ।

रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

सम्पदाविद् एवं म्युजियम अफ स्टोलन आर्टका अध्यक्ष रवीन्द्र पुरीले ‘रुबिन म्युजियममा अझै पनि दर्जनौं नेपाली सम्पदा देखाएर वा लुकाएर राखिएकै अवस्थामा आफ्नो छवि सुधार्न सानो आर्थिक स्रोतका भरमा विहारभित्र म्युजियम खोलिदिने कुनियत’ राखेका बताएका छन् । ‘सांस्कृतिक र आध्यात्मिक भावनामा चोट पुर्‍याएपछि माफी माग्नुको सट्टा उपनिवेशवादी नयाँ स्वरुप देखाउनमा रुबिन अग्रसर भएको छ,’ एसिया-प्यासिफिक क्षेत्रमैं युनेस्को सम्पदा सम्मान (२००४) पाउने पुरीले भने‚ ‘सम्पदा संरुक्षण र सम्वर्द्धनका अन्तर्राष्ट्रिय प्रावधानमा समेत हाम्रा प्रमाणित सम्पदालाई रुबिनले अझै प्रदर्शनीमा राखेको छ, तिनको पहिचान (ओरिजिन अफ कन्ट्री) भएपछि पनि तिनलाई घरफिर्ती गराउन रुबिनले चाहिरहेको छैन । आज २० हजार डलर सहयोग दिएर यो अपराधको क्षतिपूर्ति वा मिलापत्र गर्ने नियत देखाउनुको अर्थ छैन, हामी सबैले यो नियतको विरोध गर्नैपर्छ ।’

रुबिन म्युजियमको रुची र सरोकारबारे जिज्ञासा राख्दा म्युजियमका एक प्रबन्धक जिलियान फ्लेक्सनरले ‘नेपाली सम्पदाको उत्पत्ति पहिचान तथा प्रामाणिकताबारे गम्भीरतापूर्वक ध्यान दिइएको’ बताउँदै इटुम्बहाल म्युजियमलाई गरिएको सहयोगबारे विस्तृतमा जानकारी उपलब्ध गराइने बताए ।

केशचन्द्र महाविहार संरक्षण समाजका अध्यक्ष शाक्यले ‘हाम्रा सम्पदा संग्रह तथा प्रदर्शनीमा राखेर रुबिनले अपराध गरेको भए पनि’ ती सम्पदाहरू प्रमाण र पहिचानसँगै क्रमश: घरफिर्ता हुनेमा विश्वास जनाए । उनका अनुसार यो साता उद्घाटन हुन लागेको इटुम्बहाल म्युजियममा स्थानीय विहारमा रहेका बज्र, घण्टा, चित्र, लिपीसहितका १ सयजति सम्पदा प्रदर्शनीमा रहनेछन् ।

म्युजियमको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनीता डंगोल, रुबिन म्युजियमका कार्यकारी प्रमुख जोरिट बित्स्गी, सांसद विराजभक्त श्रेष्ठ, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यसहितले उद्घाटन गर्ने भएका छन् ।

नेपालबाट चोरिएका मूर्तिको सूची :

प्रकाशित : श्रावण १०, २०८० १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?