रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

‘सम्पदा घर फर्काउन लाग्ने शुल्क म्युजियमले बेहोर्ने’

काठमाडौँ — उपत्यकाका दुई विहारबाट चोरिएका र अमेरिकाको प्रतिष्ठित म्युजियम रुबिनमा फेला परेका दुई पुरातात्विक सम्पदा तत्काल घर फर्काउनेबारेमा न्युयोर्कमा समझदारी भएको छ ।

रुबिन म्युजियममा भेटिएका दुई नेपाली सम्पदा घर ल्याउन न्युयोर्कमा सम्झौता

सन् ९० को दशकमा इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा( गन्धर्व) र पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण आकृति रुबिन म्युजियम अफ आर्टबाट घर फिर्ता आउने भएको छ । सोमबार म्युजियममा आयोजित एक समारोहमा कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतम र म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

‘नेपाली सम्पदाको पहिचान र यसबारेको प्रमाण जुटाएपछि रुबिन म्युजियमले सहयोगी रूपमा हाम्रा सम्पदा घर फर्काउन सहमति जनाएको हो,’ न्यूयोर्कस्थित कूटनीतिक नियोगका कार्यवाहक महावाणिज्यदूत गौतमले कान्तिपुरसँग भने । यी दुई पुरातात्विक सम्पदा न्युयोर्कको रुबिन म्युजियममा फेला परेकोबारे गत असोजमा नेपाली सम्पदाको पहिचान तथा प्रमाणीकरणको अभियान ‘लस्ट आर्टस् अफ नेपाल’ले सूचना बाहिर ल्याएको थियो ।

त्यसलगत्तै सम्पदा पुनःस्थापना अभियानले यी सम्पदा घरफिर्तीका लागि रुबिन म्युजियमलाई पत्राचार गरेर प्रक्रिया अघि बढाइएको थियो । पुरातत्व विभागले पनि हराएका सम्पदाबारेको प्रमाणीकरण र उत्पत्तिको पहिचानसहितको प्रमाण न्युयोर्क पठाएको थियो ।

७ सय वर्ष पुरानो सम्पदा मानिएको माला पहिरिएकी अप्सरा ।

दुईमध्ये ‘माला पहिरिएकी अप्सरा’ लाई ७ सय वर्ष पुरानो सम्पदा मानिएको छ । यो सन् १९९९ देखि हराइरहेको र सन् २००३ मा रुबिन म्युजियमको संग्रहमा पुगेको जानकारी महावाणिज्यदूत कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, ४ सय वर्ष पुरानो मानिने काष्ठकलाको तोरण भने सन् २०१० मा म्युजियमको संग्रहमा पुगेको थियो । कार्यवाहक महावाणिज्यदूत गौतमका अनुसार, यी सम्पदा औपचारिक समझदारीपछि नेपाल सरकार मातहतमा आए पनि घरफिर्ती प्रक्रिया सुरु नहुन्जेल म्युजियमकै संरक्षणमा रहनेछन् ।

‘सम्पदा घरफिर्तीमा लाग्ने आवश्यक खर्च रुबिन म्युजियम स्वयंले बेहोर्ने भएको छ,’गौतमले भने, ‘साथै, यी सम्पदालाई अहिले म्युजियम डिस्प्ले (प्रदर्शनी) बाट हटाइएको छ । अहिले कोरोना संक्रमणको स्थितिमा फिर्ती प्रक्रियामा कठिनाइ देखिएकाले सम्भवतः आगामी वैशाखभित्रमा यी सम्पदा काठमाडौं पुग्नेछन् ।’

रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिन ।

न्युयोर्क टाइम्समा प्रकाशित समाचारअनुसार, सन् १९९९ देखि हराइरहेको ‘माला पहिरेकी अप्सरा’ (गार्लेन्ड बियरिङ अप्सरा)को आकृति भने म्युजियमका संस्थापकसमेत रहेका रुबिन कल्चरल ट्रस्टका सेली र डोनाल्ड रुबिनले एक निजी व्यापारीबाट खरिद गरेका थिए । तर, रुबिन म्युजियमका प्रवक्ता सान्ड्रिन मिलेटले यो सम्पदा कोबाट, कसरी खरिद गरिएको हो, खुलाउन चाहेकी छैनन् ।

पाटनको यम्पी महाविहारबाट हराएको मूलढोकाको माथि राखिने तोरण मूर्ति ।

सम्पदा घरफिर्तीको समझदारी पत्रमा हस्ताक्षर गरेपछि रुबिन म्युजियमका कार्यकारी प्रमुख डा.जोरिट बित्स्गीले ‘पुरातात्विक महत्वका सम्पदाका बारेमा कला जगतमा उब्जिएको सरोकारबारे म्युजियम सचेत रहेको’ जनाएका थिए । ‘हामीसँग सग्रहमा रहेका र प्रदर्शनीमा आएका कला सामग्रीबारेमा हामी सावधानीपूर्वक अनुसन्धान गरिरहेका हुन्छौं ।

रुबिन म्युजियमले यस्ता सामग्रीको नैतिक र व्यवसायिक उच्चतम आधारलाई सम्मान गर्नेछ,’कार्यकारी प्रमुख बित्स्गीको भनाइ उद्धृत गर्दै जारी विज्ञप्तिमा भनिएको छ—‘सांस्कृतिक सम्पत्तिको सरोकारलाई सम्बोधन गर्न र समस्या समाधान गर्न हामीले आफ्नो जिम्मेवारीबोध गरेका छौं, यस्ता सम्पदा घरफिर्ती गर्नमा समेत उचित सहायता गर्नेछौं ।’

प्रकाशित : पुस २७, २०७८ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?