२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६
जीवन संघर्षको कथा

अन्नपूर्णको खोँचमा खसेर बाँचेका भारतीय पर्वतारोही स्वदेश फर्किए

उपचारमा संलग्न चिकित्सक भन्छन्- 'मेडिकल चमत्कारको हिस्सा हुन पाउँदा निकै सन्तोष महसुस भएको छ'
अझै ३-४ महिना चिकित्सककै निगरानीमा बसेर उपचार गराउनु पर्ने
स्वरूप आचार्य

काठमाडौँ — अन्नपूर्ण हिमालको खोँच खसेको तीन दिन पछि उद्धार गरेर अस्पताल पुर्‍याइएपछि चिकित्सकहरूले करिब ४ घण्टा कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर- बन्द भएको मुटुलाई चलाउने विधी) गरेर बचाएका भारतीय पर्वतारोही अनुराग मालुलाई करिब-करिब ठिक भएसँगै बाँकी उपचारका लागि भारत लगिएको छ ।

अन्नपूर्णको खोँचमा खसेर बाँचेका भारतीय पर्वतारोही स्वदेश फर्किए

उनलाई बिहीबार बिहान ११:३० बजे भारतबाटै आएको एयर एम्बुलेन्सबाट नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको हो ।

चुचुरोमा पुग्न स्वास्थ्यले साथ नदिएपछि अन्नपूर्ण प्रथमको ‘क्याम्प फोर’बाट आधार शिविर फर्कंदै गर्दा ३४ वर्षीय मालु क्याम्प थ्रीबाट तल बाटोमा रहेको हिमदरार पार गर्ने क्रममा त्यसैभित्र खसेका थिए । तीन सय मिटर गहिरो दरारबाट उनलाई करिब आधा दर्जन उद्धारकर्ताहरूको साहयतामा ७२ घण्टापछि बाहिर निकालिएको थियो । सोमबार खोँचमा खसेका उनको बिहीबार बिहान मात्रै उद्धार सम्भव भएको थियो । उद्धार गरेर पोखरास्थित मणिपाल अस्पतालको इमर्जेन्सीमा पुर्‍याउँदा उनको मुटु र श्वास चलेको थिएन ।

यो पनि पढ्नुहोस् :

हिउँको खोंचका ३ दिन, ४ घण्टा सीपीआरले चमत्कार

अस्पतालमा लगातार चार घण्टाको सीपीआरपछि मुटुको धड्कन र श्वास दुवै फर्कियो। मणिपाल अस्पतालका आकस्मिक कक्षका इन्चार्ज कन्सल्ट्यान्ट फिजिसियन डा.असिम सुवेदी र कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्टसहितको टिम अनुरागको उपचारमा खटिएका थिए । मुटुको चाल बन्द भइसकेको, श्वासप्रश्वास पनि नभएको र मस्तिष्कसमेत सक्रिय नदेखिएकाले चिकित्सकहरूले भने आशा मारिसकेका थिए । तर चिसो तापक्रममा धेरै दिन रहेका मालुलाई मृत घोषित गर्नकै लागि पनि शरीरको तापक्रम सामान्यमा ल्याउन जरुरी थियो । तसर्थ पर्वतारोही अनुराग मालुका भाइ सुधीर मालुको दबाबबीच चिकित्सकहरूले निरन्तर ४ घण्टासम्म सीपीआरसँगै विभिन्न औषधि दिएपछि 'चमत्कारिक रूप'मा उनको मुटुको चाल सुरु भएको थियो । मालुको उपचारमा संलग्न चिकित्सकहरू नै यसलाई अति दुर्लभ घटना मान्छन् ।

अन्नपूर्ण प्रथम आरोहणका क्रममा तीन दिनसम्म हिम दरारमा फसेका भारतीय पर्वतारोहीको उद्धारमा खटिएका पर्वतारोहण गाइड । तस्बिर सौजन्य : सेभेन समिट ट्रेक

मणिपालको आकस्मिक कक्षमा आरट्रिएल ब्लड ग्यास एनालाइसिस (एबीजी) गर्दा एसिडिक लेभल (अम्लीयपना) ६.७ मापन गरिएको थियो । साधारण मानिसको शरीरमा अम्लीयपना ७.४ सम्म हुन्छ । शरीरमा एसिडिक लेभल तल झर्नु भनेको अम्लीयपना बढ्नु हो, जुन निकै घातक मानिन्छ । शरीरमा अक्सिजन कम हुँदा कोशिकाहरू मर्न सुरु गर्छन् र ल्याक्टेटको लेभल बढ्दै जान्छ । साधारण मानिसको शरीरमा ल्याक्टेटको लेभल २ देखि ४ सम्म हुन्छ । अनुरागको शरीरमा त्यसको लेभल पनि बढेर ५.३ पुगेको थियो । यो अवस्थासँगै मुटु र मस्तिष्क नचल्दा तथा श्वास नफेर्दा मानिसको मृत्यु नै हुन्छ । तर अम्लीयपना घटाउनका लागि सोडियम बाइकार्बोनेटलगायतका अन्य अत्यावश्यक औषधि दिँदै गएपछि चार घण्टापछि उनको मुटुको चाल फर्किएको थियो ।

मुटुको चाल फर्किए पनि आफैं स्वास फेर्नसक्ने अवस्थामा मालु थिएनन् । उनलाई भेन्टिलेटरमा राखेर थप उपचारका लागि हेलिकप्टरबाट ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालको आईसीयूमा ल्याइयो । त्यहाँ ल्याइ पुर्‍याउँदा उनको अवस्था अत्यन्तै गम्भीर थियो । 'पहिलो कुरा त उनी भेन्टिलेटरमा थिए । चार घण्टा सीपीआरपछि मुटुको चाल फर्किएको थियो । मिर्गौला, कलेजो र फोक्सोमा पनि समस्या थियो,' मेडिसिटी अस्पतालमा कार्यरत सघन उपचार विशेषज्ञ डा. किशोर खनालले भने, 'उनको मस्तिस्कको अवस्था कस्तो छ भनेर त्यति बेला सोच्ने कुरै थिएन । पहिला उनको स्वास्थ्य अवस्थालाई स्थिर राख्ने चुनौती हामीलाई थियो ।'

हिउँमा पुरिएको अवस्थामा भेटिएका अनुराग मालु ।

डा. खनालका अनुसार अत्यधिक चिसोले मुटु नचल्ने समस्यालाई 'हाइपोथर्मिक कार्डियाक अरेस्ट' भनिन्छ । चिसोमा मुटु नै बन्द भए पनि बाँच्ने सम्भावना भने हुन्छ । चिकित्सकीय सिद्धान्तमा त्यसबारे उल्लेख भएपनि उपचारमा संलग्न चिकित्सकहरूले जीवनमा मुस्किलले यस्ता बिरामी ठीक भएको देख्न पाउँछन् । 'लामो सयम सीपीआर दिएर उनको मुटु चले पनि दिमागमा लामो समयसम्म अक्सिजन तथा रगत नपुग्दा त्यहाँ कति क्षति भएको छ थाहा पाउन उनी होसमै आउनुपर्छ,' उनले भने, 'तर चिसोमा हाइपोथर्मिक भएर बसेकोले शरीरका सबै अंग निष्क्रिय भएर बस्छन् जसले गर्दा सामान्य अवस्थामा भन्दा क्षति कम हुन्छ । नभए दिमागमा आठ मिनेटभन्दा बढी समय अक्सिजन युक्त रगत नपुगेको खण्डमा निको पार्न नसकिने गरी क्षति पुग्छ ।'

खनालका अनुसार अनुरागलाई आईसीयूमा राखेर उपचार सुरु गरेसँगै उनको स्वास्थ्य अवस्थामा चमत्कारिक रुपमा सुधार हुन थालेको थियो । मेडिसिटी अस्पतालको आईसीयूमा उनी २४ घण्टा नै वरिष्ठ चिकित्सक प्रा. डा. अर्पणा न्यौपानेसहित सघन उपचार विशेषज्ञ डा. किशोर खनाल, डा. विजय राजवंशी र डा. सञ्जय कार्कीको निगरानीमा रहेका थिए । 'हामीले पहिला त उनको शरीरको तापक्रमलाई सामान्य अवस्थामा फर्कायौं । त्यससँगै रक्तचाप नियन्त्रणमा राख्न औषधिहरू दियौं । उनको फोक्सोबाट धेरैपटक पानी निकाल्यौं । अहिले पनि केही पानी छ । जुन उनी उठेर हिँड्न सक्ने नभएसम्म जम्मा भइरहन सक्छ,' उनले भने, 'यस्तै विभिन्न प्रकारका एन्टिबायोटिक्सहरूका साथै मिर्गौला र कलेजोमा परेको असरको पनि उपचार गर्‍यौं ।'

उनका अनुसार अहिले मालुको मिर्गौलाले सामान्य रूपमा काम गरेर पिसाब बनाउन थालिसकेको छ भने केरेटिनिन लेभल पनि घट्दै गएको छ । 'हामी कहाँ ल्याइएको करिब एक सातापछि उनी अर्धचेत अवस्थामा आएका थिए । त्यसपछि हामीले भेन्टिलेटरको सहायतालाई कम गर्दै लगेका थियौं । तर पूर्ण रूपमा भेन्टिलेटरबाट भने निकाल्न मिलेको थिएन । त्यसैले घाँटीमा प्वाल पारेर (ट्राकेस्टोमी) भेन्टिलेटरको सपोर्ट घटाएका थियौं,' उनले भने, 'आज हामी कहाँबाट डिस्चार्ज भएर जाँदा उनी पूर्ण होसमा थिए । यो हाम्रो टिमका लागि ठूलो सफलता हो ।'

डा. खनालका अनुसार विश्वमा नै दुर्लभ मानिने यस्तो अवस्थाका बिरामी नेपालको अस्पतालमा उपचार गराएर पूर्ण होसमा आएर आफ्नो देश फर्किनु भनेको चिकित्सकीय क्षेत्रकै मनोबल बढ्ने विषय हो । 'हामी सबैलाई उनको स्वास्थ्यलाभले ऊर्जा दिएको छ,' उनले भने, 'मालुको हात र खुट्टाका औंलाहरू चिसोका कारण कालो हुँदै गएका छन् । त्यसलाई काट्ने वा सफा गर्ने भन्ने निर्णय भारतमा नै गएर गर्ने भनेर परिवारले आग्रह गरेपछि हामीले त्यसका लागि यहाँ थप केही गरेनौं । नभए उनको सम्पूर्ण उपचार अझै पनि नेपालमै हुन सक्थ्यो ।'

उनका अनुसार अनुराग मालु पूर्ण रुपमा निको हुन अझै ३-४ महिना चिकित्सककै निगरानीमा बसेर उपचार गराउनु पर्छ । 'लामो समयसम्म मोबिलिटी नभएकोले फिजिसोथेरापीसँगै थप उपचार केही महिना अझै चाहिन्छ,' उनले भने ।

अन्तिममा डा. खनालले खुसी हुँदै भने, 'मैले यो मेडिकल चमत्कारको एक हिस्सा हुन पाउँदा निकै सन्तोष महसुस गरेको छु ।'

प्रकाशित : वैशाख २८, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?