१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिलीप हत्या मुद्दा : तीन वर्षसम्म ‘प्रारम्भिक अवस्थामै’

धनुषाको औरही खोलामा भइरहेको ढुंगा, गिट्टी र बालुवा उत्खननको विरोध गर्दा मारिएका ओमप्रकाश महतो (दिलीप) को ‘हत्या’ भएको भन्दै ०७६ माघ २२ मा दर्ता भएको मुद्दामा जिल्ला अदालतले साक्षीको बकपत्र गराउन पुनः आदेश दिएको छ, अदालतले ६ महिनाअघि पनि यही आदेश गरेको थियो

जनकपुर — धनुषा जिल्ला अदालतको दोस्रो तलामा न्यायाधीश भीष्मराज प्रसाईंको इजलास कक्षमा बुधबार दिनभर बहस सुनेपछि मिथिला–५ श्रीपुरका रामजीवन महतोलाई लागेको थियो– छोरा दिलीपको हत्या गर्नेहरूलाई सजाय हुने गरी आजै फैसला हुनेछ । तर, दिनको अन्त्यमा न्यायाधीश प्रसाईंले आदेश गरे– ‘कानुन व्यवसायीहरूको बहस नसकिएको हुँदा हेर्दाहेर्दैमा राखेर मंसिर २९ गते बिहान १० बजे नियमित सुवाइ हुने गरी पेस गर्नू ।’ रामजीवनले चित्त बुझाए– ‘फैसला आज नभए पनि भोलि त भइजानेछ । तीन वर्ष कुरियो भने अरू एक दिन कुर्न के भो र ? कोही बात छैन ।’

दिलीप हत्या मुद्दा : तीन वर्षसम्म ‘प्रारम्भिक अवस्थामै’

मुद्दा दर्ता भएको करिब तीन वर्षमा सुनुवाइ भइरहेको थियो । न्यायाधीशले गरेको आदेशअनुसार पनि उनी मुद्दालाई हेर्दाहेर्दैमा राखेर बहस सक्न चाहन्थे भन्ने देखिन्थ्यो । त्यसैले रामजीवनले फैसलाको आशा गर्नु अन्यथा थिएन तर बिहीबार बिहान एकैछिन बहस सुनेपछि न्यायाधीश प्रसाईंले आदेश गरे– घटना विवरण कागज गर्ने कृष्णकुमार महतोको बकपत्र भएको नदेखिँदा निजलाई उपस्थित गराई बुझ्नू ।’

गत जेठ २४ मा पनि न्यायाधीश परशुराम भट्टराईले ठ्याक्कै यही आदेश गरेका थिए । ६ महिनासम्म पनि घटना विवरण कागज गर्ने एक साक्षीको बकपत्र गराउन नसकेको अदालतले बिहीबार पुनः त्यही आदेश गरेको छ । ‘गत जेठमै भएको आदेशअनुसार बकपत्र भएको रहेनछ, साक्षीलाई बकपत्र नगराई नहुने छ भन्ने न्यायाधीशलाई लागेको भए सुरुमा मिसिल हेरेरै त्यही आदेश गर्न सक्थे, दुई–दुई दिनसम्म बहस गराउनै पर्दैनथ्यो,’ पीडित परिवारको पक्षबाट बहस गरेका एक जना कानुन व्यवसायीले भने, ‘अदालतले मुद्दा समयमै फैसला गर्न किन चाहिरहेको छैन, बुझ्न सकिएको छैन ।’

घर अगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ओमप्रकाश महतो (दिलीप) ले २०७६ पुस २५ मा ज्यान गुमाएका थिए । अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको अभियोग लागेको छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर उनी त्यहाँबाट जीवितै फर्किएनन् ।

दिलीप महतो हत्याका दुई वर्ष : न्याय टाढा, अभियुक्तबाटै मुद्दा र अदालतबाट आदेश

हत्यापश्चात् उनलाई टिपरले किचाएर दुर्घटना भएको देखाउने प्रयास गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये सुरुमा फरार रहेका उद्योग सञ्चालक विनोद करिब एक वर्षपछि अदालतमा आफैं हाजिर हुन पुगेकामा जिल्ला अदालतले साधारण तारिखमा राख्यो ।


दिलीपका बुवा रामजीवन ।

कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका कारण उनीहरू निष्फिक्री हिँडिरहेका छन् । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन् । उनीहरू सातै जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपक्रमा आत्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडि चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ ।

‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१)’ ले जिल्ला अदालतमा दर्ता भएका मुद्दा बढीमा १८ महिनाभित्र फैसला गरिसक्ने लक्ष्य राखेको छ । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मुद्दालाई प्रकृतिअनुसार सरल, सामान्य र विशेष मार्ग समूहमा विभाजन गरिन्छ । त्यसमध्ये सरल मार्ग समूहका मुद्दालाई बढीमा ६ महिना, सामान्य मार्ग समूहका मुद्दालाई बढीमा एक वर्ष र विशेष मार्ग समूहका मुद्दालाई बढीमा १८ महिनामा टुंग्याउनुपर्छ । जसको अर्थ जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा लामो अवधिसम्म नटुंग्याई राख्न पाइने बढीमा डेढ वर्ष हो । सामान्यतया ३ देखि १० जनासम्म प्रतिवादी भएका मुद्दाहरू सामान्य मार्ग समूहमा पर्दछन् । दिलिप हत्याको मुद्दामा सात जना प्रतिवादी छन्, त्यसैले यो सामान्य मार्ग समूहको मुद्दा हो, जसलाई फर्स्योट गर्नुपर्ने अधिकतम अवधि एक वर्ष हो तर २०७६ माघ २२ मा दर्ता भएको यो मुद्दा अहिले पनि साक्षी बुझ्ने चरणमै छ ।

न्याय खोज्न देहातबाट काठमाडौं

विगत ३ वर्षमा १८ पटक पेसी चढेकोमा केवल चार पटक सुनुवाइ भएको छ । जसमा चारै पटक न्यायाधीशहरूले साक्षी बुझ्ने आदेश मात्र गरेका छन् । धनुषा जिल्ला अदालतका स्रेस्तेदार विकास बस्नेत फरक मुद्दा व्यवस्थापन पद्धति लागू भएकाले बढीमा डेढ वर्षमा टुंगिनुपर्ने भए पनि अदालतको मात्र नियन्त्रणमा नहुँदा लम्बिएको बताउँछन् । ‘फौजदारी मुद्दाहरूमा साक्षीको बकपत्र गराउने, कागजपत्र र प्रतिवेदन झिकाएर हेर्नेलगायतका काम राज्यका अन्य निकायसँगको समन्वयमा गर्नुपर्ने हुन्छ, त्यो अदालतको मात्र नियन्त्रणमा हुँदैन,’ उनले भने, ‘मुद्दाका पक्षहरूलाई स्थगित गराउने सुविधा कानुनले नै दिएको छ । त्यसअनुसार स्थगित गराएका कारणले र बीचमा कोभिडको प्रभावका कारणले पनि मुद्दा ढिलो भएको हो । हाम्रो प्रयास सकेसम्म छिटो सक्नेमै छ ।’


धनुषा जिल्ला अदालतबाहिर दिलीपका बुवा रामजीवन र बहिनी लक्ष्मी ।

न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाअनुसार अदालतबाट मुद्दा फर्स्योट भएको हुन्थ्यो भने महतो परिवारले ‘न्याय’ पाइसक्ने थियो । तर, दिलीपको मुद्दामा अहिलेसम्म साक्षीको बकपत्रसमेत नसकिँदा बुवा रामजीवन निराश हुँदै धनुषा जिल्ला अदालतबाट २० किलोमिटर उत्तरको घरतिर लागे । ‘दमको बिरामी छु, अदालतको सिँढी चढ्न पनि समस्या हुन्छ, हरेक पटक आउजाउ गर्दा स्वास्थ्य समस्या एकातिर छ, अर्कोतिर पैसा पनि त्यत्तिकै खर्च हुन्छ,’ उनले भने, ‘पढाइ सकेर परिवारको हेरचाह गर्ने उमेरको छोराको हत्या गरिदिए । अहिले न्याय खोज्न पनि यति गाह्रो छ ।’

दिलीपकी बहिनी संगम र लक्ष्मी सुरुबाटै रामजीवनसँगै न्याय खोज्ने अभियानमा छन् । बुधबार र बिहीबार दुवै दिन लक्ष्मीले बुवा रामजीवनलाई अदालत ल्याउने र लैजाने गरिन् । बीएड चौथो वर्षमा अध्ययनरत लक्ष्मी न्याय खोज्न हिँड्दाहिँड्दै आफ्नो पढाइ नै चौपट भएको बताउँछिन् । भनिन्, ‘एकातिर दाइलाई मारे । परिवार बर्बाद भयो । त्यसमाथि अहिले न्यायको बदला दुःख मात्र पाइएको छ ।’

दिलीप भारतको भोपालमा इन्जिनियरिङको अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर छुट्टीमा घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । इन्जिनियरिङ पढाइसँगै घर आएका बखत वातावरण संरक्षण र प्राकृतिक स्रोतको गैरकानुनी रूपमा अनियन्क्रित दोहनविरुद्ध त्रियाशील भइरहन्थे । स्थानीयस्तरमा त्यसविरुद्ध अभियान नै चलाएका थिए । त्यसै क्रममा उनको हत्या भएको थियो । प्राकृतिक स्रोतको दोहन रोक्ने अभियानमा लाग्दा मारिएका दिलीपको परिवारले न्याय पाउन नसकेको यो घटनाले समाजमा मौलाउँदो अपराध र दण्डहीनताको कथा मात्र भनेको छैन, हाम्रो फौजदारी न्याय प्रणाली कसरी असफल हुँदै छ भन्ने पनि देखाएको छ ।

प्रकाशित : पुस १, २०७९ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?