न्याय खोज्न देहातबाट काठमाडौं

ढुंगा, गिट्टीको गैरकानुनी उत्खननविरूद्ध आवाज उठाइरहेका धनुषाका ओमप्रकाश महतो (दिलीप) को हत्या भएको तीन वर्ष पुग्न लाग्दा पनि परिवारले पाएन न्याय

भाद्र ११, २०७९

तुफान न्यौपाने

काठमाडौँ — घरअगाडिको औरही खोलाबाट भइरहेको ढुंगा, गिट्टी र बालुवाको अवैध उत्खननको विरोध गर्दा ज्यान गुमाएका धनुषाको मिथिला–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) को परिवार साढे दुई वर्षसम्म न्याय नपाएपछि काठमाडौं आइपुगेको छ । 

जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने गरी ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१)’ को लक्ष्यअनुसार काम भएको भए महतो परिवारले ‘न्याय’ पाइसक्ने थियो । तर, दिलीपको मुद्दामा अहिलेसम्म साक्षीको बयान/बकपत्रसमेत नभएका कारण उनको परिवार सहयोगको याचना गर्न काठमाडौं आएको हो ।

दिलीपका बुवा रामजीवन, भाइ ख्वाइस, दुई बहिनी लक्ष्मी र संगम शुक्रबार राजधानी आइपुगेका हुन् । आइतबार पत्रकार सम्मेलन गरी कानुन व्यवसायीको सहयोगमा न्यायिक नेतृत्वको ध्यानाकर्षण गराउने उनीहरूको तयारी छ । ‘विपक्षीले आठ जना वकिल नै राखेका छन्, पालैपालो पेसी स्थगित गराइरहेका छन्, हामीले सरकारी वकिलबाहेक कोही राख्न सकेका छैनौं,’ रामजीवनले भने । 

अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाइरहेका दिलीपको चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक र कामदारले हत्या गरेको आरोप छ । क्रसर उद्योग सञ्चालक विपिनकुमारले अवैध एवं अनियमित रूपमा बालुवा–गिट्टी उत्खनन गरेको भन्दै विरोध गर्न २०७६ पुस २५ गते बिहान ४ बजे दिलीप खोलामा पुगेका थिए तर त्यहाँबाट उनी जीवितै फर्किन पाएनन् । 

हत्यापश्चात् उनलाई टिपरले किचाएर दुर्घटना भएको देखाउने प्रयास गरिएको प्रहरी प्रतिवेदनमा उल्लेख छ । दिलीपको हत्या गरेको भन्दै चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो, उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो र शत्रुधन महतो तथा दिलीपका साथी रोशनकुमार यादवविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूमध्ये सुरुमा फरार रहेका उद्योग सञ्चालक विनोद करिब एक वर्षपछि अदालतमा आफैं हाजिर हुन पुगेकामा जिल्ला अदालतले साधारण तारेखमा राख्यो । 

न्याय माग्न शुक्रबार काठमाडौं आइपुगेका धनुषाको मिथिला–५ श्रीपुरका ओमप्रकाश महतो (दिलीप) का बुवा रामजीवन, भाइ ख्वाइस, बहिनीहरू लक्ष्मी र संगम ।

कामदारहरू सत्यनारायण र शत्रुधन तथा विनोदका साथी रोशनकुमारलाई जिल्ला र उच्च अदालतले २५ हजार धरौटीमा छाडेका कारण उनीहरू निष्फिक्री हिँडिरहेका छन् । उद्योग सञ्चालक विपिन तथा उनका कामदारहरू मुनिन्द्र र जितेन्द्र पुर्पक्षका लागि थुनामा छन् । यो मुद्दाको फैसला नहोउन्जेलसम्म उनीहरू न्यायिक हिरासतमा बस्नुपर्नेछ । उनीहरू सातै जनाले दिलीपलाई फलामको लिभर र पेचकसले शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेर हत्या गरेको सरकारी वकिलको दाबी छ । जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा आक्रमणपश्चात् बेहोस भएर ढलेका दिलीपलाई ना ७ ख ६४१३ नं. टिपरको पछाडिको चक्काले टाउकोमा कुल्चाएर मारी सडक दुर्घटनाको रूप दिने प्रयास गरिएको उल्लेख छ । 

दिलीप महतो हत्याका दुई वर्ष : न्याय टाढा, अभियुक्तबाटै मुद्दा र अदालतबाट आदेश

२०७६ माघ २२ मा धनुषा जिल्ला अदालतमा दायर गरिएको अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सातै जनालाई जीवित रहेसम्म कैद गर्न माग गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ मा ‘क्रूर यातना दिई निर्ममतापूर्वक ज्यान मार्ने व्यक्तिलाई जीवित रहेसम्म कैद गर्नुपर्ने’ कानुनी व्यवस्था छ । यही कानुनी व्यवस्थालाई दिलीपको घटनामा पनि आकर्षित गर्ने सरकारी प्रयास छ ।

दिलीपको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता भएको १४ महिनापछि मात्रै पूर्ण सुनुवाइका लागि इजलासमा पेस भएको थियो । २०७७ चैत ३१ देखि गत महिना साउन ३० सम्ममा जम्मा १० पटक पेसीमा चढेकामा तीन पटकमात्र सुनुवाइ भयो, जसमा २०७८ असोज ७ मा जिल्ला न्यायाधीश ध्रुव कार्कीले साक्षी बुझ्न आदेश दिएका थिए । त्यसपछि अदालतले निरन्तर तीन पटकसम्म यो मुद्दा स्थगित गर्‍यो । 

२०७८ फागुन २५ मा अर्का न्यायाधीश तीर्थराज केसीले पुनः साक्षी बुझ्ने आदेश दिए । त्यस्तै गत जेठ २४ मा अर्का न्यायाधीश परशुराम भट्टराईले बयान/बकपत्र गराउन आदेश दिएका थिए । त्यसबाहेक पेसीका अन्य दिनमा अभियुक्तहरूका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएका थिए । गत जेठ ९ मा एक पटक सरकारी वकिलले सुनुवाइ स्थगित गराएको देखिन्छ । ‘आफूहरूले जति नै अनुरोध गर्दा पनि अदालतमा सुनुवाइ सुरु नभएपछि काठमाडौं आएको’ दिलीपकी बहिनी लक्ष्मीले बताइन् । 

दिलीप भारतको भोपालमा इन्जिनियरिङको अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर छुट्टीमा घर आएका थिए । हत्या भएको केही महिनापछि उनी अन्तिम वर्षको अन्तिम सेमेस्टरको परीक्षामा पनि उत्तीर्ण भएको खबर आएको थियो । दाइको मृत्युपछि उनी पास भएको खबर पाउँदा कैयौं दिन आँसु नरोकिएको संगम बताउँछिन् । न्याय प्राप्तिको लडाइँसँगै बहिनीहरू संगम र लक्ष्मीले स्थानीयस्तरमा वातावरण संरक्षणको समेत अगुवाइ गर्दै छन् ।

२०७७ भदौ ३१ मा संगमको अध्यक्षतामा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ दर्ता गरिएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण समिति र प्रदेश सरकारले गरेको सहयोगले संरक्षणका कार्यक्रम अगाडि बढाउँदै उनीहरूले औरही खोलामा ‘दिलीप चुरे वाटिका’ बनाउँदै छन् ।

श्रीपुर गाउँका दुई सयभन्दा बढी परिवारको भेलाले २०७६ फागुन १० मा दिलीपलाई पर्यावरण सहिद घोषणा गर्दै औरही खोलामा अवैध उत्खनन रोक्ने निर्णय गरेको थियो । उद्योग सञ्चालक विपिन पक्राउ परेका थिए भने विनोद फरार थिए । त्यसमाथि गाउँलेको भेलाले उद्योग सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो तर विनोदले साधारण तारेखमा बसेर मुद्दाको प्रतिरक्षा गर्ने मौका पाएपछि दिलीपका बुवा रामजीवन, आमा चन्द्रकलादेवी र दुईवटी बहिनीहरू संगम र लक्ष्मीविरुद्ध जनकपुर उच्च अदालतमा आफ्नो उद्योगमा हस्तक्षेप गरेको भन्दै २०७७ चैत २० मा निषेधाज्ञा निवेदन दिए ।

११ दिनपछि चैत ३१ मा उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र लेखनाथ घिमिरेले दिलीपको परिवारका नाममा ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू/नगराउनू’ भन्ने अन्तरिम आदेश दिए । 

चार दिनअघि गत भदौ ७ मा उच्च अदालतका न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ र सागर बिष्टको इजलासले दिलीप परिवारविरुद्ध निषेधाज्ञा आदेश जारी गरेको छ । ‘अदालतको २०७७ चैत अन्तिमकै अन्तरिम आदेशबाट ढुक्कसँग चलेको उक्त उद्योगका पक्षमा अन्तिम फैसला आएपछि अहिले झन् गैरकानुनी उत्खनन तीव्र बनेको’ दिलीपकी बहिनी लक्ष्मीले बताइन् । उनका अनुसार उक्त बालुवा प्रशोधन उद्योग सरकारले तोकेको मापदण्डविपरीत चलिरहेको छ ।

धनुषाको औरही खोलामा दाजुको हत्या भएको स्थान देखाउँदै दिलीपकी बहिनी लक्ष्मी ।

खोलाबाट कर नतिरी, सम्बन्धित निकायको अनुमतिबिनै नदीजन्य पदार्थको उत्खनन र निकासी गर्दै आएको उद्योगले सर्वसाधारणको स्वास्थ्य, जनजीवन र पर्यावरणमा नकारात्मक प्रभाव पारेको छ । आफूहरूले कम्तीमा दिलीप हत्याको मुद्दा टुंगो नलागेसम्म उद्योग नचलाउन गरेको मागलाई समेत बेवास्ता गरिएको उनको गुनासो छ । 

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

मिथिला नगरपालिकाले नगरभित्र सञ्चालित उद्योगहरूको व्यवस्थापनका लागि गठन गरेको अध्ययन टोलीले स्थलगत अनुगमन र निरीक्षणको आधारमा तयार पारेको औरही, जलाद र जगधर खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा पनि चुरियामाई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्डसमेत पालना नगरेको उल्लेख छ । उक्त उद्योगले तोकिएभन्दा बढी परिणाममा र गहिरो गरी उत्खनन गरेको तथा निषेध गरिएको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा झिकेको पाइएको थियो । 

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या

दिलीपको हत्यामा सात जनाविरुद्ध दर्ता भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरेको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न र नियन्त्रण गरी जफत गर्न माग गरिएको छ । ‘तर त्यसमा अदालतले कुनै आदेश दिएको छैन,’ संगमले भनिन्, ‘उच्चले उद्योगलाई निरन्तर चलाउन आदेश दिएपछि अहिले प्रतिबन्धित स्थानबाट पनि ढुंगा, गिट्टी, बालुवा निरन्तर उत्खनन गरिएको छ ।’

धनुषाको औरही खोलामा दाजुको हत्या भएको स्थान देखाउँदै दिलीपकी बहिनी संगम ।

दिलीपका बुवा रामजीवनले पैसाको चलखेल भएको आफूले सुनेको बताए । ‘प्रहरी र स्थानीय तहका प्रतिनिधिले अवैध उत्खनन रोक्न चासो देखाउँदैनन्, किन त ?’ उनको प्रश्न छ, ‘जिल्ला अदालतमा अहिले गोलाबाट इजलास छानिने कारणले आफूले चाहेको न्यायाधीशकामा मुद्दा नपरेसम्म स्थगित गराइरहेका छन् । त्यो पैसाको चलखेल नभएर के हो ?’

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Link copied successfully