अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या, स्थानीयले गरे राजमार्ग अवरुद्ध

पुस २५, २०७६

सन्तोष सिंह

धनुषा — धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान एक युवकको हत्या भएको छ । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो । 

मिथिला नगरपालिका–५ श्रीपुरमा रहेको घरनजिकैको नदीमा भइरहेको अवैध उत्खनन्‌को विरोध गर्दा महतोलाई टिपरले किचेर हत्या गरेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए । उनका अनुसार महतोलाई जबर्जस्ती समाएर  ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेका थिए ।

साथीसँग मर्निङवाक गएका बेला महतोको हत्या भएको स्थानीयले आरोप लगाएका छन् । टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ । युवकको हत्या विरोधमा स्थानीयले टायर बालेर पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । 

महतोको शव पोस्टमार्टम का लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरी निरीक्षक यादवले बताए । 

घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक यादव । [भिडियो]

 

सन्तोष सिंह कान्तिपुरका महोत्तरी संवाददाता हुन् ।

Link copied successfully