१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

दिलीप महतो हत्याका दुई वर्ष : न्याय टाढा, अभियुक्तबाटै मुद्दा र अदालतबाट आदेश

दिलीपको हत्यापछि पनि नगरपालिका, प्रहरी र अदालतसमेतको संरक्षणमा नदी उत्खनन जारी, दिलीपका दुई बहिनी भने परिवार र पर्यावरणका लागि संघर्षमा
अवैध उत्खननको विरोध गर्ने दिलीप महतोको हत्याका अभियुक्त निस्फिक्री घुम्दै
दिलीपको हत्यासम्बन्धी मुद्दा जिल्ला अदालत धनुषामा जम्मा पाँच पटक पेसीमा चढ्यो, चार पटक स्थगित
तर हत्याका अभियुक्तले दिएको मुद्दामा भने उच्च अदालतमा ११ दिनमै सुनुवाइ, परिवारविरुद्ध आदेश
तुफान न्यौपाने

श्रीपुर, धनुषा — ढुंगागिट्टी अवैध उत्खननविरुद्ध आवाज उठाउने युवा ओमप्रकाश (दिलीप) को हत्या भएको आज ठ्याक्कै दुई वर्ष पुगेको छ । सुनियोजित रूपमा टिपरले किचेर हत्या गर्नेहरूविरुद्ध परेको मुद्दा अहिलेसम्म पाँच पटक मात्र पेसी चढे पनि चार पटक सुनुवाइ स्थगित भएको छ । उता पीडित परिवारलाई तर्साउन दर्ता भएको मुद्दामा भने फटाफट कारबाहीको आदेश आएको छ ।

दिलीप महतो हत्याका दुई वर्ष : न्याय टाढा, अभियुक्तबाटै मुद्दा र अदालतबाट आदेश

मिथिला–५ श्रीपुर हुँदै बग्ने औरही खोलामा भइरहेको अनियन्त्रित उत्खननविरुद्ध आवाज उठाउँदा दिलीपलाई चुरिया माई बालुवा प्रशोधन उद्योगका सञ्चालक र सहयोगीले दुई वर्ष पहिले हत्या गरेका थिए । न्यायका लागि संघर्ष गर्दै आएको परिवारले प्रहरी, सरकारी वकिल कार्यालय र न्यायालयबाट समेत अनेक ठक्कर पाइरहेको छ ।

‘न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजना (२०७६–२०८१)’ ले जिल्ला अदालतमा दर्ता भएका मुद्दा दुई वर्षमा टुंगो लगाउने लक्ष्य राखेको छ । अदालतले नै निर्धारण गरेको मितिमा सुनुवाइ भएको भए चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिनकुमार महतो, उनका दाइ विनोदकुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो र शत्रुधन महतो तथा दिलीपका साथी रोशनकुमार यादवविरुद्धको मुद्दा टुंगो लागिसकेको हुने थियो । तर, अभियुक्त विनोद, सत्यनारायण र रोशनकुमार अहिले निस्फिक्री हिँडिरहेका छन् ।

धनुषाको मिथिला–५ श्रीपुरस्थित औरही खोलाको बगरमा लक्ष्मी र संगम महतो । यही खोलामा अवैध उत्खनन रोक्न खोज्दा उनीहरूका दाजु दिलीपको हत्या गरिएको थियो । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

भारतको भोपालमा अध्ययनरत दिलीप छुट्टीमा घर आएका थिए । घरबाट पाँच मिनेट टाढा रहेको औरही खोलाबाट अवैध रूपमा बालुवा तथा गिट्टी उत्खनन हुँदै गरेको देखेपछि उनी विरोधमा उत्रिएका थिए । उनी कहिले गाउँलेलाई खबर गर्थे, कहिले मिडियालाई । आफैं पनि उत्खननस्थलमा पुगेर विरोध गर्थे ।

दुई वर्षअघि पुस २५ मा रातारात उत्खनन भइरहेको थाहा पाएर बिहान ४ बजे नै दिलीप खोलामा पुगेका थिए । उद्योग सञ्चालक विपिन लगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ । बेहोस भएर ढलेपछि ना ७ ख ६४१३ नं टिपरको पछाडिको चक्काले टाउकामा किचेर उनको प्राण लिइएको थियो । सडक दुर्घटना पुष्टि गर्न उनीहरूले यो प्रपञ्च गरेका थिए ।

औरही खोलाको बगर । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

तर दिलीपको हत्या भएको खबर राष्ट्रिय मुद्दा बन्यो, एक महिनाको अनुसन्धानपछि माघ २२ मा जिल्ला अदालतमा मुद्दा दर्ता भयो । अभियोगपत्रमा दिलीपलाई यातना दिई क्रूरतापूर्वक मारेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको छ । तर, जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेले उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरू मुनिन्द्र र रञ्जितलाई मात्रै मुद्दाको फैसला नहोउन्जेलसम्म थुनामा राख्न आदेश दिए । रोशनकुमार, सत्यनारायण र शत्रुधन भने २५ हजार रुपैयाँ धरौटीमा छुटे ।

एक वर्ष फरार रहेर अदालतमा हाजिर भएका उद्योगका अर्का सञ्चालक विनोदले साधारण तारेखमा बसे हुने गरी २०७७ असोज २६ मा जिल्ला अदालतबाटै अनुमति पाए । मुख्य अभियुक्त नै धरौटी र तारेखमा बसे पुग्ने भन्दै आएको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालय जनकपुर उच्च अदालत पुग्यो । उता यसअघि नै थुनामा बसिरहेका तीन जना पनि साधारण तारेखमा बस्न पाउनुपर्ने मागसहित निवेदन लिएर उच्च अदालत पुगे । उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद बगाले र रमेश ढकालले २०७७ पुस २ मा जिल्ला अदालतका सबै आदेशलाई सदर गर्‍यो । त्यसविरुद्ध सर्वोच्च अदालतमा निवेदन परेकामा २०७७ माघ २२ मा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ ।

अदालतको आदेशपछि निस्फिक्री घुमिरहेका उद्योग सञ्चालक विनोदले उल्टै दिलीपको परिवारविरुद्ध गत वर्ष चैत २० मा जनकपुर उच्च अदालतमा मुद्दा हालेका छन् । उनले आफ्नो चुरिया माई बालुवा प्रशोधन उद्योगमा हस्तक्षेप गरेको भन्दै दिलीपका बुबा रामजीवन, आमा चन्द्रकलादेवी र दुई बहिनी संगमकुमारी (२२ वर्ष) र लक्ष्मी (२० वर्ष) विरुद्ध मुद्दा हालेका हुन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषामा विनोदका भाइ विपिनका नाममा दर्ता भएको उक्त उद्योग दिलीपको हत्यापछि सञ्चालन हुन सकेको थिएन । हत्या अभियोगमा विपिन जेल परेका थिए भने विनोद फरार थिए । अवैध बालुवा, गिट्टी उत्खननलाई रोक्न दिलीपले चलाएको अभियानलाई सफल पार्न भन्दै गाउँका अधिकांश परिवारबाट कम्तीमा एक जना जम्मा भएर २ सय ३२ जनाको भेलाले २०७६ फागुन १० मा औरही खोलामा अवैध उत्खनन रोक्ने निर्णय गरेको थियो । उक्त भेलाले दिलीपलाई पर्यावरण सहिदसमेत घोषणा गरेको थियो ।

त्यस्तै मिथिला नगरपालिकाले नगरभित्र सञ्चालित उद्योगहरूको व्यवस्थापनका लागि गठन गरेको अध्ययन टोलीले स्थलगत अनुगमन र निरीक्षणका आधारमा तयार पारेको ‘औरही, जलाद र जगधर खोलाबाट ढुंगा, गिट्टी र बालुवा संकलन एवं उत्खनन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन २०७५’ मा पनि चुरिया माई बालुवा प्रशोधन उद्योगले न्यूनतम मापदण्ड पालना नगरेको उल्लेख छ । उक्त उद्योगले तोकिएभन्दा बढी परिमाणमा र गहिरो गरी उत्खनन गरेको तथा निषेध गरिएको क्षेत्रबाट पनि ढुंगा, गिट्टी, बालुवा झिकेको थियो ।

आफू साधरण तारेखमा बसे हुने भनेर अदालतबाट अनुमति पाएपछि विनोदले दिलीपका परिवारलाई लक्ष्य गरी उच्च अदालतमा मुद्दा हाले । रिट परेको दुई दिनपछि नै न्यायाधीश उज्ज्वल शुक्लले कारण देखाऊ आदेश जारी गरे । उनले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई चैत ३१ मा बोलाए ।

छोराको हत्याविरुद्ध न्यायका लागि प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय र अदालत धाइरहेका बाबु र आमालाई मात्र होइन, दिलीपका दुई बहिनीलाई पनि अर्को आपत् थपियो, हत्याका आरोपितले हालेको मुद्दामा उल्टै लिखित जवाफ पेस गर्नुपर्ने भयो । ‘आफैं लेख्न नजानिने, वकिल खोज्नुपर्‍यो । उसलाई पैसा दिनैपर्‍यो, यता छोराको मुद्दामा न्याय पाइएकै छैन । उता उसैले परिवारका सबैलाई मुद्दा लगाएर दुःख दिएको छ,’ रामजीवनले भन्छन् ।

जवाफ पठाउन अदालतले १५ दिन दिएको थियो । त्यही बीचमा वकिल खोजेर रामजीवनले श्रीमती र छोरीहरूको समेत वारेस भएर उच्च अदालतलाई जवाफ पठाए– ‘निवेदक विनोदकुमार महतो एक वर्षदेखि फरार थिए । हालै उपस्थित भएर तारेखमा छुटेपछि मुद्दा हालेर हामीलाई दुःख दिएका हुन् । उनीहरू आफैंले उद्योग बन्द गरी लुक्दै/भाग्दै हिँडेका हुन् । हामीले कुनै बाधा विरोध गरेका छैनौं । सञ्चालन गर्न रोकेका छैनौं ।’ जबकि उक्त बालुवा प्रशोधन उद्योग सरकारले कर नतिरी, सम्बन्धित निकायको अनुमति नलिई खोलामा उत्खनन र ढुंगागिट्टी–बालुवा निकासी गर्दै आएको थियो । उद्योगले सर्वसाधारणको स्वास्थ्य, जनजीवन र पर्यावरणमा पार्ने नकारात्मक प्रभावको हिसाब भएकै थिएन ।

दिलीप महतोकी आमा चन्द्रकलादेवी । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

दिलीपको हत्याविरुद्ध दायर भएको अभियोगपत्रमा अपराधमा प्रयोग गरिएको साधन तथा कसुरजन्य सम्पत्ति रोक्का राख्न तथा नियन्त्रण गरी जफत गर्न माग गरिएको छ । गैरकानुनी रूपमा उत्खनन गरिरहेको उद्योग परिसरमै दिलीपको हत्या भएकाले उक्त सम्पत्ति पनि रोक्का राख्न माग गरिएको थियो । तैपनि गत चैत ३१ मा न्यायाधीशद्वय लेखनाथ घिमिरे र रमेश ढकालले उद्योगका पक्षमा अन्तरिम आदेश जारी गरे । दिलीपका परिवारका नाममा दिएको आदेशमा भनिएको छ, ‘कानुनले नदिएको अधिकार प्रयोग गरी उद्योग सञ्चालनमा अनधिकृत हस्तक्षेप नगर्नू/नगराउनू ।’

पीडित परिवारलाई दुःख दिन अभियुक्तहरूका तर्फबाट दायर मुद्दामा सुनुवाइमा अदालतबाट कुनै ढिलाइ भएन, ११ दिनमै आदेश आयो । तर हत्या आरोपीहरूविरुद्धका सुनुवाइ अवरुद्ध छ । ‘न्याय मागेर धाउन थालेको दुई वर्ष बितिसक्यो । उनीहरू दिनहुँ हाम्रै घरअघिबाट ओहोरदोहोर गरिरहन्छन् । तर दाइकै हत्याराले हामीलाई दुःख दिन हालेको मुद्दामा भने दर्ता भएको ११ दिनमै अदालतले अन्तरिम आदेश दियो । हामीले हार्‍यौं, उनीहरूले जिते,’ दिलीपकी बहिनी लक्ष्मीले भन्छिन्, ‘त्यत्रो शक्तिशाली व्यक्तिको उद्योग हामीले कसरी बन्द गर्नू ? अहिले पनि हाम्रै खेत मिचेर बालुवा थुपारेका छन् । त्यही रोक्न सकेका छैनौं ।’

दिलीपकी अर्की बहिनी संगमकुमारी पनि अदालतले आफूहरूलाई न्याय होइन, दुःख दिएको सुनाउँछिन् । ‘दाइको हत्याको मुद्दा जहाँको त्यहीं छ । तर उनीहरूले उच्च अदालतमा पुगेर भए पनि चाहेजस्तो आदेश गराइछाडे,’ भन्छिन्, ‘मेरो दाइले यहाँका लागि जीवन बलिदान दिनुभयो । तर, खोला झन् बिग्रिएको छ । ढुंगा, गिट्टी, बालुवा अझ बढी खोतलिएको छ ।’

अभियुक्त विनोदले दायर गरेको मुद्दामा पीडित परिवार र समग्र पर्यावरणविरुद्ध आदेश जारी भएकाले सत्यको विजय हुने विश्वास टुटेको उनले बताइन् । ‘जसको हातमा पैसा छ, उसकै हातमा कानुन छ । यो देश पनि उसकै हातमा छ,’ उनको भनाइ छ ।

दिलीपको हत्यासम्बन्धी मुद्दा धनुषाका जिल्ला न्यायाधीश ध्रुवराज कार्कीले सुनुवाइ गरिरहेका छन् । जिल्ला अदालतको अभिलेखमा उक्त मुद्दा गत वर्ष चैत ३१ देखि पुस ७ सम्ममा जम्मा पाँच पटक पेसीमा चढेको छ । जसमा एक पटक मात्रै सुनुवाइ भएको छ । सुनुवाइ भएको गत असोज ७ मा न्यायाधीश कार्कीले साक्षी बुझ्ने आदेश गरेका थिए । मुद्दाको प्रक्रिया त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन ।


औरही खोलाको बगरमा दिलीपकी बहिनी संगम महतो । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

न्याय प्राप्तिको लडाइँसँगै दिलीपका बहिनीहरू संगम र लक्ष्मीले दाइको अभियान पनि अघि बढाइरहेका छन् । वृद्ध हजुरबुबा, हजुरआमा, बुबा, आमा, थप दुई बहिनी र एक भाइको जिम्मेवारी आफूहरूको काँधमा आएको संगम र लक्ष्मीले सुनाए । तर उनीहरूले नदी उत्खनन रोक्ने चुनौती पनि स्विकारेका छन् ।

बीबीएस सकेकी संगम र बीएड तेस्रो वर्ष अध्ययनरत लक्ष्मी दिलीपले जस्तै वातावरण जोगाउन ‘फिल्ड’ मा नै खटिएका छन् । गत मंसिर २७ मा कान्तिपुर संवाददातालाई दाइको हत्या भएको स्थान देखाउन औरही खोला पुगेका उनीहरूले त्यहाँ जथाभावी ढुंगागिट्टी उत्खनन भएको देख्नेबित्तिकै ढल्केबर इलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षकलाई फोन गरेर जानकारी दिए । तर, उतापट्टिबाट प्रहरी अधिकृत बोले– ‘मलाई केही नभन्नुस्, जे भन्नुछ, त्यहीं नगरपालिकालाई भन्नुहोस् ।’

लक्ष्मी यत्तिकैमा छाड्नेवाला थिइनन्– ‘हामी कहाँ–कहाँ भन्न जाने ? गैरकानुनी काम रोक्ने काम प्रहरी प्रशासनको होइन ? आफ्नो जिम्मेवारी किन पन्छाउनुहुन्छ ?’

जवाफमा प्रहरी निरीक्षकले आफूहरूले रोक्ने प्रयास गरे पनि नगरपालिकाले नै आफूहरूलाई अब उत्खनन नरोक्नू भन्ने आदेश गरेकाले केही गर्न नसक्ने बताए । अदालतले समेत ढुंगागिट्टी निकाल्न नरोक्नू भन्ने आदेश दिएकाले लडाइँ चुनौतीपूर्ण छ, तर यो अभियान नरोक्ने संगम र लक्ष्मीको अठोट छ । त्यसैले संगमको अध्यक्षतामा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ दर्ता गरिएको छ ।

औरही खोला किनारमा सञ्चालित क्रसर उद्योग । तस्बिर : तुफान न्यौपाने/कान्तिपुर

२०७७ भदौ ३१ मा दर्ता भएको प्रतिष्ठालाई राष्ट्रपति चुरे तराई मधेस संरक्षण समितिले १५ लाख बजेट दिएपछि संरक्षणका कार्यक्रम अगाडि बढेका छन् । दिलीपको हत्यापछि प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिएको थियो । त्यो रकमबाट पनि औरही खोलामा ‘दिलीप चुरे बाटिका’ बनाइँदै छ ।

भारतको भोपालमा इन्जिनियरिङमा स्नातक अध्ययनरत दिलीप अन्तिम सेमेस्टरको अन्तिम परीक्षा दिएर घर आएको ११ औं दिनमा उनको हत्या गरिएको थियो । घटनाको केही समयपछि उनका साथीले संगमलाई फोन गरेर भने– ‘रिजल्ट आयो । तिम्रो दाइ दिलीप पनि पास भएछन् ।’ दाइको मृत्युपछि उनी पास भएको खबर पाउँदा कैयौं दिन आफ्नो आँसु नरोकिएको संगमले सुनाइन् । भनिन्, ‘दाइ हुनुभएको भए हामीलाई थप पढाउनुहुने थियो । वातावरण जोगाउन हामीले थोरै भए पनि केही गर्दा दाइको सपना पूरा भएजस्तो लाग्छ । त्यसले हामीलाई उत्प्रेरणा दिन्छ ।’

(जनकपुरबाट सन्तोष सिंहको सहयोगमा)

प्रकाशित : पुस २५, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?