खेत र गाउँ बचाउन चाहन्थे दिलीप- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खेत र गाउँ बचाउन चाहन्थे दिलीप

अवैध उत्खनन‌्‌काे विराेध गर्दा टिपरले किचेर हत्या
सन्तोष सिंह

धनुषा — भारतको भोपालमा इन्जिनियरिङ पढ्दै गरेका मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय ओमप्रकाश महतो (दिलीप)को शुक्रबार बिहान टिपरले किचेर हत्या गरियो । महतो दुई साताअघि मात्र कलेज बिदामा घर फर्केका थिए । महतो बिटेक इन्जिनियरिङको अन्तिम सेमेस्टर पढ्दै थिए ।

गाउँमा मिलनसार र लोकप्रिय युवा दिलीप राजनीतिमा रुचि राख्थे । छिमेकी संजयकुमार महतोका अनुसार दिलीप गाउँमा हुने विवादहरु मिलाउन पनि अग्रसर हुन्थे । दिलीपका साथी एवं स्थानीय विद्यालयका शिक्षक कमलेश सिंहकाअनुसार दिलीपले पछिल्लो २ वर्षयता गाउँनजिकैको औरही खोलामा भइरहेको उत्खननकाे विरोध गरिरहेका थिए ।


नदीमा गरिने उत्खननले श्रीपुर वरपरका उब्जाउ खेत खोलाले कटान गर्ने र गाउँमा बाढी छिर्ने भन्दै दिलीप निरन्तर यसको विरोधमा थिए । उत्खननकाे विरोध गरेकै कारण उनको पटक–पटक ठेकेदारहरुसँग विवाद भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादव बताउँछन् ।


उनलाई धम्की आउनु सामान्यजस्तै भएको आफन्त बताउँछन् । चिनजानकै व्यक्तिले धम्की दिँदा उनी वास्ता गर्दैनथे । दिलीपका दाई वीरेन्द्रकुमार महतो नदी उत्खननकाे विरोध गरेकै कारण उनको हत्या भएको बताउँछन् । ‘उसलाई धम्की र प्रलोभन आइरहेका थिए,’ उनले भने, ‘ठेक्दारहरुले घरमै आएर धम्की र प्रलोभन दिन्थे । क्रसर सञ्चालकले मोटर साइकल खरिद गरिदेने प्रलोभन दिए । तर, ऊ न धम्कीबाट डरायो न प्रलोभनमा पर्‍यो । विरोध गर्न छोडेन ।’


दिलीपले गत वर्ष खोलामा भएको उत्खननबारे जनकपुरका पत्रकारलाई बोलाएरसमेत देखाएका थिए । सञ्चारमाध्यममा उत्खन्नको खबर आएपछि केही दिन कारोबारी काम बन्द पनि भयो । सञ्चारकर्मीको समेत साथ पाएका महतोलाई क्रसर व्यवसायी र निर्माण व्यवसायी संयुक्त रुपमा मिलाउन चाहन्थे ।


केही महिनाअघि छठ मनाउन घर आउँदा पनि दिलीपको क्रसर व्यवसायीहरुसँग विवाद भएको थियो । दुई साताअघि घर आएका उनी औरही खोलामा राति डोजर प्रयोग गरी भइरहेको उत्खनन रोक्ने अभियान चलाउन चाहन्थे । तर, उनलाई सहयोग गर्ने कोही थिएन ।


दिलीपले खोलामै पुगेर उत्खनन नगर्न आग्रह गरेपछि उनका बुबा रामजीवन महतोलाई क्रसर सञ्चालक विपन महतोले टिपरले किचेर ज्यान मार्ने धम्की दिएको दाजु वीरेन्द्रले बताए ।


शुक्रबार बिहान घर पछाडिको खोलामा लोडर र टिपर गुडेको अवाज सुनेपछि साथी रोशन यादवसँग खोलातर्फ गएका थिए । त्यहीँ उनलाई टिपरले किचेर हत्या गरिएको साथी रोशनले गाउँमा आएर जानकारी गराएका थिए । दिलीपको किचेर हत्या गरेको ना ७ ख ६४१३ टिपर र चालक महोत्तरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रण गरिएको टिपर घटनास्थलबाट २ सय मिटर दुरीमा रहेको चुरियामाई बालुवा प्रशोधन उद्योगको रहेको प्रहरीले जनाएको छ ।


महतोको हत्यापछि विपन महतोसहितका बालुवा प्रशोधनका सञ्चालकहरु फरार छन् । दिलीपको शव पोष्टमार्टमका लागि जनकपुर प्रादेशिक अस्पतालमा राखिएको छ ।


सम्बन्धित समाचार :

अवैध उत्खनन्‌को विरोध गर्ने युवकको टिपरले किचेर हत्या

प्रकाशित : पुस २५, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्

इरानी मिसाइलले युक्रेनी जहाज खसालेकाे क्यानडेली प्रधानमन्त्रीको आरोप 

एजेन्सी

टोरन्टो — क्यानडाका प्रधानमन्त्री जस्टिन टुडोले युक्रेनी जहाजलाई इरानले मिसाइल हानेर खसालेको आरोप लगाएका छन् । उनले यसबारेमा आफूसँग प्रमाणसमेत भएको दाबी गरेका छन् । क्यानडाका सुरक्षा एजेन्सी र विभन्न स्रोतका अनुसार इरानले जहाज खसालेको प्रमाण प्राप्त भएको प्रधानमन्त्री ट्रुडोले बताए । 

‘जबसम्म सत्थतथ्य पत्ता लाग्दैन तबसम्म हामी चुप बस्दैनौ“’ प्रधानमन्त्री ट्रुडोले भने, पीडितका परिवार र सम्पूर्ण क्यानडेली नागरिकले यसको जवाफ माग गरेका छन् , मलाई पनि यसको उत्तर चाहिएको छ ।

सन् २०१२ देखि क्यानडा र इरानबीच कुनै कुटनीतिक सम्बन्ध नरहेका कारण यस दुर्घटनाको छानबिन गर्न क्यानडालाई कठिन हुनेछ । क्यानडाका विदेशमन्त्री फ्रान्स्वा फिलिपले इरानी समकक्षी मोहम्मद जावेद जरिफलाई बिहीबार टेलिफोन गरेका थिए ।

क्यानडाका विदेशमन्त्री फिलिपले इरानी समकक्षीले दुर्घटनाको सत्यतथ्य छानबिन गर्न सकारात्मक रहेको बताए ।

ब्रिटेन र अमेरिकाका नेताहरुले पनि विमान दुर्घटनाका पूर्ण जाँच हुनुपर्ने बताएका छन् । शुक्रबार अमेरिकाले पनि तेहरानमा भएको युक्रेन इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाको छानबिनमा सघाउने बताएको छ ।
युक्रेनी अधिकारीले पनि दुर्घटनाको स्वतन्त्र छानिबिनमा सघाउन संयुक्त राष्ट्रसँग सहयोग मागेको छ ।

बुधबार युक्रेनको एक यात्री विमान तेहरान हवाई अड्डाबाट उडान भर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार १७६ जना यात्रुको मृत्यु भएको थियो । जसमा ८२ जना इरानी, ६३ क्यानडेली, ११ युक्रेनी, १०स्विडेनी, ४ अफगानी, ३ जर्मन, र ३ जना बेलायती नागरिक रहेका थिए ।

प्रकाशित : पुस २५, २०७६ १५:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×