३३ वर्षपछि कविरामले पाए आफ्नै नामको नागरिकता- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३३ वर्षपछि कविरामले पाए आफ्नै नामको नागरिकता

'कुकुर कामी' नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।
ज्योति कटुवाल

दैलेख — जिल्ला प्रशासन कार्यालय दैलेखले भगवतीमाई गाउँपालिका –३ मेहेतोलीका कविराम कामीलाई नयाँ नागरिकता प्रदान गरेको छ ।

गृहमन्त्रालयले अपमानजनक नाम भएका नागरिकताबारे आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रशासन कार्यालयलाई पुन: नागरिकता दिन निर्देशन दिएपछि 'कुकुर कामी' नाम उल्लेख गरिएका कविरामलाई जिल्ला प्रशासनले नयाँ नागरिकता प्रदान गरेको होे ।

२०४६ जेठ १० गतेको गाउँमा नागरिकता टोली गएको बेलामा कविरामको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा 'कुकुर कामी' लेखिएको थियो । 'नाममै अमपमान' शिर्षकमा कान्तिपुरले समाचार लेखेपछि गृह मन्त्रालय र संसदको ध्यानाकर्षण भएको थियो ।

त्यसलगत्तै गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई पत्राचार गर्दै अपमानजनक नाम सच्याउन निर्देशन दिएको थियो ।

कविरामलाई आइतबार प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले नयाँ नागरिकताको प्रमाणपत्र दिएका हुन् । नागरिकता प्रमाणपत्र लिन उनी वडा कार्यालयको सिफारिससहित प्रशासन कार्यालय पुगेका थिए ।

३३ वर्षपछि नागरिकतामा वास्तविक नाम पाएपछि कविराम खुसी भए । उनले भने, ‘नयाँ जुनी पाएको महसुस भएको छ ।’ आफ्नै नामबाट नागरिकता पाउला भन्ने सोचेकै थिइनँ । कविराको नागरिकतासँगै 'कुकुर कामी' नाम भएका अन्य प्रमाणपत्रहरु खारेज गरिने प्रजिअ प्याकुरेलले बताए ।

नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार

दलितका नागरिकताको अपमानजनक नाम सच्याऊ

प्रकाशित : भाद्र ५, २०७९ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्

साउनमा दैनिक ५ करोड ९३ लाखको बिजुली भारत निर्यात

कान्तिपुर संवाददाता

काठमाडौँ — चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिना साउनमा नेपाल विद्युत् प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले चालु आवको साउन महिनामा कुल १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको हो । 

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत जेठ १९ बाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा दुईवटा विद्युत् गृहको ३९ मेगावाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा आईएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युत्‌ गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आईएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्‌को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

गत आव २०७८/७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कुल ७३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो ।

योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्दछ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने ‘मुलुकमा विद्युत् उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीलाई विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने छ ।’

प्रकाशित : भाद्र ५, २०७९ १५:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×