नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको निर्देशन- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकतामा अपमानजनक नाम नलेख्न र विगतमा जारी भएकाको सच्चाउन गृह मन्त्रालयको निर्देशन

कान्तिपुर संवाददाता

काठमाडौँ — गृह मन्त्रालयले 'अपमानजनक' शब्द प्रयोग गरी नागरिकता जारी नगर्न र यसअघि जारी भएका नागरिकता पनि सम्बन्धित व्यक्तिले सच्याउन चाहे सच्याइदिन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । 

अपमानजनक नामहरु राखी नागरिकता जारी भएकोबारे कान्तिपुर लगायतका संचार माध्यममा समाचार आएपछि गृह मन्त्रालयले यस विषयमा ध्यानाकर्षण भएको जनाएको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार विज्ञप्ति जारी गर्दै दुई बुँदे निर्देशनबारे जानकारी दिएका हुन् ।

'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने' विज्ञप्तिमा छ,'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।'

प्रकाशित : श्रावण २३, २०७९ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्

‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

अमेरिकाको एटलान्टमा अगष्ट ४ देखि ७ सम्म आयोजित उक्त फिल्म फेस्टिवलको अन्तिम दिन सोमबार भएको अवार्ड समारोहमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो ।

निर्देशक गणेश पाण्डेका अनुसार बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको थियो । दाजुभाइहरूले एउटै श्रीमती बिहे गर्ने प्रचलन अहिले पनि नेपालका हुम्ला लगायत हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पर्दामा उतारेका हुन् ।

निर्देशक पाण्डेले करिब ४ वर्षको छायाँकन र अनुसन्धानबाट 'सहायक श्रीमान' तयार भएको बताएका छन् । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गरेका हुन् ।

जसको निर्माता शारदा गैरे हुन् भने प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशकको रुपमा नृपराज हमाल छन् । यस्तै ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र पुकार तिमिल्सिनाले सिनेमाटोग्राफरको रुपमा काम गरेका हुन् ।

यस्तै संगीतकार जुगल डंगोलले संगीत संयोजन गरेका हुन् । अमेरिकामा अवार्ड ग्रहण गर्दै निर्देशक पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको प्रतिक्रिया दिएका छन् । पाण्डेका अनुसार ‘सहायक श्रीमान’ले अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको छ ।

प्रकाशित : श्रावण २३, २०७९ १७:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×