नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याइयोस् : सांसद सुनार

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् । सोमबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए ।

दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे । सांसद सुनारले यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई पनि आग्रह गरे।
'यस्तो पनि नागरिकता हुन्छ ? यस्तो पनि लेख्न मिल्छ ? ती हाकिमहरू, ती फटाहाहरू यो देशमा एकथरि मान्छेलाई कति घृणा गर्न उद्धत हुँदा रहेछन् त ? कति अपमान गर्न उद्धत हुँदा रहेछन् त ? कति उनीहरुलाई खिस्सीट्युरी गर्ने, घृणा गर्न, अपमान गर्न चाहँदा रहेछन् त ? नागरिकता लिन जाँदा ती हाकिमहरूले केरकार गर्ने, सोधपुछ गर्ने गर्दछन् । अहिले पनि गर्दछन् । त्यो बेलामा पनि गरे होलान् । किन यस्तो नाम लेखेको किन भनेनन् ? दूरदराजका जनतालाई नागरिकता दिँदा त्यस्तो लेख्न मिल्छ ?,' उनले भने ।
नाममै अपमान
सबै अपमानजनक नामहरू तत्काल सच्याउने पहल गर्न सांसद सुनारले गृहमन्त्रीलाई आग्रहसमेत गरेका छन् । उनले अगाडि भने, 'यी नागरिकता सच्याउनलाई म गृहमन्त्रीसँग अनुरोध गर्दछु । तुरुन्त सच्याइनुपर्छ । र यस्तो खोजी गर्नलाई राष्ट्रिय दलित आयोगले अनुगमन गर्नु आवश्यक छ । राष्ट्रिय दलित आयोग तुरुन्त पुग्नुपर्छ । आयोगको अनुगमन र निगरानी पुगिरहेको छैन ।'
नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमानमाथि अपमानभएको सुनुवारले बताए । कथित माथिल्लो जातका ‘शिक्षित’ हाकिमहरूले निरक्षर दलितका नागरिकतामा अपमानजनक नाम लेखिदिएका छन् । उनीहरूले राखिदिएका नाम यस्तासम्म छन्– ‘फ्याउरो बादी, सिँगाने कामी, कुत्ता बादी, कुकुर्नी कमिनी, कुकुर कामी, रातो कामी, नौपुठे कामी, ढाले कामी, काली गासे, गोप्लो, लाटो, लुखुरी कामी’।
प्रकाशित : श्रावण २३, २०७९ १५:०२