सडक आयो, मूलको पानी हरायो- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सडक आयो, मूलको पानी हरायो

भूसंवेदनशीलता ख्याल नगरी ग्रामीण सडक जथाभावी खन्दा मुहान सुकेका छन्, पानी अभावकै कारण स्थानीय बासिन्दाको बसाइँसराइ तीव्र बनेको छ
डम्बरसिं राई, माधव अर्याल, शमशेरविक्रम जीसी, गगनशिला खड्का

खोटाङ, पाल्पा, प्यूठान, गुल्मी — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले काँडेका पेशल खत्री गत माघ २३ मा सुनसरीको रामधुनी नगरपालिका–८ डुम्रामा बसाइँ सरे । गाउँमा पानीको अभाव चर्किंदै गएपछि उनी बसाइँ सरेका हुन् । 

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक निर्माणका क्रममा एक्स्काभेटर प्रयोग गरेर जथाभावी ढुंगा निकालिँदै र गाउँमा रहेको मुहान सुकेपछि दुई घण्टा धाएर पानी ओसार्दै दिक्तेल रूपाकोट मझुवागढी–४ खाल्लेका स्थानीय । तस्बिर : डम्बरसिं/कान्तिपुर

दिक्तेल–खानीडाँडा–आहाले सडक खन्दा एक्स्काभेटरको जथाभावी प्रयोगका कारण गाउँको छँदाखाँदाको खानेपानीको मुहान सुकेको उनले बताए । ‘जन्मे–हुर्केको गाउँ झलझली याद आइरहन्छ,’ उनले भने, ‘पिउने पानीकै अभाव भएपछि छाडेर हिँड्नुपर्‍यो ।’ स्थानीय साझेबारी ओडारे भन्ने ठाउँको मुहान सुकेपछि गाउँबाट बसाइँ सर्ने क्रम तीव्र भएको छ । पानी अभावकै कारण काँडेबाट अन्य १९ घरपरिवार बसाइँ सरेका छन् ।

जुकेपानी, खरदारधारा, अलैंचीबारी, निगुरेगैरालगायत स्थानका मुहान पनि सुकेको स्थानीय नेत्र कटवालले बताए । डाँडाखर्क र लेकालीटोलका एघार घरपरिवार पनि बसाइँ सरेका छन् । ‘पानी छैन, कसरी बस्नु ?’ कटवालले भने ।

सडक खन्दा जथाभावी एक्स्काभेटर प्रयोग गरिएकाले पानीका मुहान सुकेको स्थानीय बासिन्दाको दाबी छ । खाल्लेकै दाँदेबारी, लेकालीटोल, कुवागैरीलगायत बस्तीका बासिन्दा पनि बसाइँ सरेका छन् । लेकाली टोलबाट सुजन राई, सम्पुर राई तथा कुवागैरीबाट कुमार विष्ट, फडिन्द्र विष्ट, जीवन विष्ट, दीपक विष्ट, उद्धव विष्ट, मदन विष्टलगायत बसाइँ सरेको उनीहरूकै भाइ अर्जुनले बताए । दाँदेबारीबाट मेखबहादुर खत्री बसाइँ सरेका छन् । खेतबारी बाझिएका छन् ।

आफूहरूले खाइरहेको पानीको मुहान सुकेपछि निवर्तमान नगरप्रमुख दीपनारायण रिजाल, निवर्तमान वडाअध्यक्ष डिल्लीकुमार राईलगायतलाई अनुरोध गर्दा बेवास्ता गरेको खत्रीले सम्झिए । ‘कत्ति अनुरोध गरियो तर हाम्रो कुरालाई वास्तै गरिएन,’ खत्रीले भने, ‘अब त झन् कसले पहल गर्छ होला र !’

पानीको मुहान सुकेपछि यहाँका बासिन्दा आधादेखि दुई घण्टासम्म लगाएर पानी ल्याउन बाध्य रहेको विष्टको भनाइ छ । उनका अनुसार कुवागैरीवासीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ को डाँडाबारीबाट आधा घण्टा लगाएर पानी ओसार्न बाध्य छन् । लेकालीटोल, डाडाँखर्क, रमाइलोटोललगायत स्थानीयले दुई घण्टा लगाएर पानी ओसार्नुपरेको स्थानीय प्रवर्द्धन राईले बताए । रमाइलोटोलवासीले खाने निगुरेगैरीको पानीको मुहान सुकेपछि आधा घण्टा धाएर पानी भर्नुपरेको छ । अलैंचीबारीस्थित ५० घरपरिवारले पिउने पानीको मुहान सुकेपछि लफ्याङमा मुहान किनेर खाँदै गरेको तर त्यो पनि सुकेकाले समस्या आएको वडा सदस्य सीताराम घिमिरेले बताए ।

दिक्तेल–खानीडाँडा–आहाले सडक आर्थिक वर्ष ०६७/६८ बाट सुरु गरिएको हो । त्यतिखेर प्रयोग गरिएको एक्स्काभेटरको कम्पनले त्यसै सालदेखि मुहान सुक्न थालेको स्थानीय नेत्र कटवालको भनाइ छ । यसबाहेक मझुवागढी आसपास ढुंगा खानी सञ्चालन गर्दा त्यसमा प्रयोग गरिएको ब्रेकरले पनि पानीको मुहान सुकेको कटवालको भनाइ छ । पानीको मुहान सुकेको बारेमा प्रशासन र प्रहरीमा पटक–पटक निवेदन गर्दासमेत बेवास्ता गरेको कटवालको गुनासो छ । ‘मेसिन प्रयोग गरेकाले पानीको मुहान सुकेपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा पटक–पटक निवेदन पेस गर्‍यौं,’ कटवालले भने, ‘न सीडीओ न डीएस्पी कसैले पनि वास्ता गरेनन् ।’

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकामा पनि पानीका मुहान सुकेका छन् । यहाँ पनि स्थानीय सडक खन्न थालेपछि नै मुहान सुक्न थालेका हुन् । उक्त पालिकाको वडा ६ इन्द्राणीपोखरीस्थित दुधेधारामा पानी सुकेको छ । स्थानीय इन्द्र नारथुङेका अनुसार आर्थिक वर्ष ०७०/७१ मा रसुवा–पानधारे सडक खन्न प्रयोग गरिएको एक्स्काभेटरले त्यसै सालबाट पानीको मुहान सुकेको नारथुङेको भनाइ छ । उक्त वडाकै कार्कीधारामा पनि पानी कम भएको छ । पानीको स्रोत घटेपछि यहाँका १६ घरपरिवारका गाईबस्तुलाई खुवाउन र खेती गर्न समस्या भएको छ । स्रोत सुकेपछि धानलगायत अन्य बालीमा समस्या आएको नारथुङेको भनाइ छ । फनबोर्ड (खानेपानी तथा सरसफाइ विकास समिति) ले खानेपानी योजना सम्पन्न भएकाले पिउनका लागि पानी उपलब्ध गराएको तर अन्य प्रयोजनका लागि भने पानी अभाव भएकाले समस्या उत्पन्न भएको नारथुङेले सुनाए ।

जिल्लाको सुदूर दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुंगा गाउँपालिकामा पनि पानीको मुहान सुकेका छन् । ६ वटै वडामा सडक पुर्‍याउन एक्स्काभेटर प्रयोग गर्दा मुहान सुकेको हो । वडा–३ काहुलेस्थित प्रख्यात मानिएको आरुबोटे धारामा पानी सुकेको छ । ०६९/७० सालतिर भोजपुरको युँदेखि चिसापानीसम्म सडक खनेपछि पानीको मुहान सुक्दै गएको स्थानीय बद्री राईले बताए । उनका अनुसार उक्त पालिकाकै वडा १ बोपुङको कन्यधारा र लितधारामा पनि पानी सुकेको छ । पानी नभएपछि घण्टौं लगाएर पानी लिन जान बाध्य भएको राईको भनाइ छ । ‘सुरुमा भोजपुरको युँदेखि चिसापानीसम्म एक्स्काभेटरले सडक खन्दा पानी भासिएको थियो ।’ राईले भने, ‘अहिले त झन जताततै एक्स्काभेटरको प्रयोगले सबैतिर पानीको मुहान सुक्दै गएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पानीका अधिकांश मुहान सुकेको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । यसबाहेक भूकम्पले पनि स्रोत सुकेको उनको भनाइ छ । पिउने पानीका लागि खरुवा खोलाको छितापोखरी र टुवाखोलाको शिर दिउ ढालाचुङबाट पानी ल्याइएको छ । अन्य धारा कुवाहरू भने सुकेको राईले सुनाए । ‘धारा र कुवा त सखापै भएका छन्,’ राईले भने । यसबाहेक जिल्लाको उत्तरी क्षेत्रमा पर्ने केपिलासगढी गाउँपालिकाका विभिन्न ठाउँको पानीका स्रोत सुकेका छन् । बाक्सिला–दिप्रु सडक खन्दा प्रयोग गरिएको एक्स्काभेटरको कम्पनले वडा ६ दिप्सुङको दिनखा खोलाको पानी सुकेको स्थानीय भीम तामाङले बताए । यसबाहेक अन्य ठाउँको समेत मुहान सुकेको गाउँपालिका अध्यक्ष समीर राईले बताए ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाका सबै वडामा सडक खनिएका छन् । जिल्लाभरको ७९ वटा वडामै एक्स्काभेटर प्रयोग गरेर सडक पुर्‍याइएको हो । स्थानीय तहहरूले वातावरणीय प्रभाव मूल्यांकन (एआईई) तथा प्रारम्भिक वातावरण मूल्यांकन (आईईई) बिनै एक्स्काभेटर प्रयोग गरेर सडक खनेकाले यो अवस्था आएको हो । सडकको ट्र्याक खोल्दा एआईई र ट्र्याक ओपन भइसकेका सडक विस्तार गर्दा आईईई नगरी जथाभावी खनिएको सडक विभागका सिनियर डिभिजनल इन्जिनियर गोपाल खकुरेलले बताए । ‘सडकको ट्र्याक ओपन गर्दा एआईई र ट्र्याक ओपन भइसकेकालाई विस्तार गर्दा आईईई अनिवार्य रूपमा गर्ने प्रावधान छ,’ खकुरेलले भने, ‘त्यो मापदण्ड नपुर्‍याउँदा मुहान सुक्ने, पहिरो जानेलगायत समस्या आउँछ ।’

खानेपानीजस्तो संवेदनशील विषयमा ध्यान नदिएकैले यो समस्या आएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख इन्जिनियर हिराकाजी महर्जनले बताए । विकास भनेकै सडक भन्ने स्थानीय सरकारको बुझाइले मेसिन लगाएर अन्धाधुन्द सडक खन्दा मुहान सुकेको उनको भनाइ छ । ‘खानेपानीजस्तो संवेदनशील विषयमा स्थानीय सरकार गम्भीर हुनुपर्ने हो,’ महर्जनले भने, ‘सामान्य मापदण्डलाई समेत बेवास्ता गर्नाले यस्तो भयानक समस्या आइपर्‍यो ।’

ग्रामीण सडक खन्दा भौगोलिक संवेदनशीलताको ख्यालै नगरी जथाभावी ग्रामीण सडक खन्दा पानीको मुहान सुकेका घटना लुम्बिनी प्रदेशका जिल्लाहरूमा पनि उस्तै छ । पाल्पाको कालीगण्डकी करिडोरअन्तर्गत बगनासकाली–६, मन्द्रानमा खानेपानी अभाव भएको १० वर्ष भयो । रानीमहल–राम्दी सडक विस्तार गर्दा पानीको मूल र पाइपलाइन बिग्रिएको थियो । ठेकेदार र करिडोर आयोजनाले क्षतिपूर्ति दिने विश्वासमा रहे पनि अहिलेसम्म नपाएको स्थानीय सुमन न्यौपानेले बताए । जथाभावी सडक खन्दा मूल र पाइपलाइन भताभुंग भएको उनले बताए । त्यसले कम्तीमा एक सय परिवारलाई पानीको समस्या छ । जिल्लाकै भुटुके–ज्यामिरे–रोल्लाबास–दुम्कीबास सडक विस्तार गर्दा निस्दी–७, मठेखर्कमा ३४ परिवारले पानी पिउन पाएका छैनन् ।

सडक विस्तार गर्दा माथिबाट बगेर आएको गेग्रेटोले मूल र पाइपमा असर पुर्‍याएको थियो । स्थानीय बासिन्दा वर्षायाममा तीन महिना धमिलो पानी पिउन बाध्य छन् । ‘खानेपानीको मुहान र पाइप बिगारेको छ,’ मठेखर्कका किमबहादुर आलेमगरले भने, ‘माथिल्लो भागमा जथाभावी डोजर लगाएपछि खसेको पहिरोले पाइपलाइन बगायो । यो सबै माथिल्लो भागमा मोटरबाटो खन्दा बगेको गेग्रेटोकै कारण भएको हो ।’ सडक विस्तारका क्रममा जथाभावी तल्लो भागमा फालिएको गेग्रेटो, ढुंगामाटोले पाल्पाका ६० भन्दा बढी स्थानमा गत वर्ष मात्रै खानेपानीको मुहान र पाइपलाइनमा क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । सडक खन्दा जभाभावी फालिने ढुंगामाटोले सामान्य पानी पर्दासमेत धमिलो हुने गर्छ । पाइपलाइन बगाउने, मूल, टंकीमा असर गर्ने गरेको छ । वर्षा लाग्यो कि सामान्य पानीले समेत पिउनै नमिल्ने समस्या रहेको स्थानीयको गुनासो छ ।

जथाभावी सडक खनेपछि पाल्पाका झुम्सा–श्रीडाँडा सडक खण्डमा पनि खानेपानीको मुहान पुर्ने, पाइपलाइन बगाउने, खानेपानीको टंकीमा क्षति पुग्ने समस्या छ । माथिल्लो भागमा खनेको सडक र यसबाट जथाभावी फालिएको गेग्रेटोका कारण पानीको पाइपलाइन परिवर्तन गर्न बाध्य भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्राविधिक रोमाकान्त न्यौपानेले बताए । ‘जथाभावी सडक खनेर फालेको गेग्रेटोकै कारण खानेपानीको मुहानमा बनाएको ट्यांकी अर्को स्थानमा बनाउनुपरेको छ,’ उनले भने, ‘पहिले बनाउन सर्भे गरेको पाइपलाइनसमेत परिवर्तन गर्नुपर्दा योजनाको काम समयमै सम्पन्न गर्न समस्या भएको छ ।’ उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर विकले खानीपानीको मुहानमाथि जथाभावी सडक खनिएको बताए ।

सडक निर्माणका क्रममा सावधानी नअपनाउँदा प्यूठानका अधिकांश स्थानका पानीका मुहान सुकेका छन् । मुहानभन्दा माथिबाट सडक निर्माण गर्दा सुकेका हुन् । ‘जथाभावी सडक निर्माण गर्दा माटोले पानीको मुहान पुरियो,’ मल्लरानी गाउँपालिका–२, चुजाका बेगम परियारले भने, ‘अहिले पानीको साह्रै समस्या छ ।’ जिल्लास्थित खलंगा–मुनडाँडा–चुजा सडक खण्डअन्तर्गतको सडक निर्माण गर्ने क्रममा गाउँमा रहेको पानीको मुहान पुरिएको परियारले बताए । पहिले १ सय ५० घरधुरीले प्रयोग गर्दै आएको पँधेरो अहिले पुरिएर समस्या भएको छ । गाउँमा रहेको पँधेरो सुकेपछि खानेपानी समस्या भएको छ । पानीका मुहानभन्दा माथिपट्टि निर्माण गरिने सडकले यहाँका अधिकांश मूल सुकेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा पछिल्लो समय सडक निर्माणले तीव्रता पाए पनि दीर्घकालीन रूपमा टिकाउ सडक निर्माण भएका छैनन् । सडक निर्माणमा ध्यान नपुर्‍याउँदा यसको प्रत्यक्ष असर मूलमा परेको छ । खानेपानीका मुहान सुकेका छन्, भएका पानीका पँधेरा माटोले पुरिँदा गाउँमा पानीको समस्या भएको मल्लरानी–३, बर्बोटका ऋषिराम पौडेलले सुनाए । ‘पहिले गाउँमा हरेक स्थानमा पानीका मुहान थिए तर सडक निर्माण गर्ने क्रममा ती सबै मासिए,’ उनले भने, ‘भएका मुहान जोगाएर सडक निर्माण गर्ने कसैको ध्यान पुगेन ।’ धमाधम गरिएका सडकका कारण पानीका मुहान सुक्न थालेपछि अहिले गाउँमा लिफ्ट खानेपानीको काम सुरु भएको छ । गाउँका मुहान सुकाएर लिफ्ट सञ्चालन गरिनु कस्तो विकास हो भन्दै उनले स्थानीय तहका जनप्रतिनिधिलाई प्रश्नसमेत गरे । विकास गर्ने बहानामा विनाश बढी भएको छ ।

गुल्मीको मालिका गाउँपालिका–५ छापहिले निवासी ३९ वर्षीया हिमकला जीसी घरनजिकैको पँधेरोबाट खानेपानी ल्याउने गर्थिन् । खानेपानी पँधेरोबाटै पाइपमा जोडेकी उनले कपडा धुने काम पँधेरोमै पुगेर गर्थिन् । मुहानको चिसो पानी पिउँदा पनि उनलाई छुट्टै आनन्द मिल्थ्यो तर केही वर्षदेखि जीसीले त्यो पानी पिउन पाएकी छैनन् । गाउँपालिकाको चौरासी अर्जे, छापहिले, बोम सडक खण्डका कारण खानेपानीको मुहान सुक्दा जमलपोखरा वरिपरिका स्थानीयले आफ्नै मुहानको पानी खान पाएका छैनन् । ‘हाम्रो मूल त त्यहाँ थियो नि, अहिले सुकेर छैन, कहाँ गयो, गयो,’ उनले भनिन्, ‘यो बाटो नआउन्जेल थियो, अहिले मुहान नै भासियो ।’

वर्षौंदेखि आफ्नै टोलमा भएको एकमात्र खानेपानीको मुहान सुकेपछि यहाँका स्थानीय चिन्तित छन् । गाउँपालिकाले एक घर एक धारामार्फत खानेपानी दिँदै आएको छ ।

सडक निर्माण गर्ने क्रममा गुल्मीको धुर्कोट गाउँपालिका–१ का ५५ घरधुरीले पिउने पानीको मुहान गुमाएका छन् । नयाँगाउँमा रहेका मूलनेटा साकिने खानेपानी र नेटाकटेरी मूलका पुराना मुहान एउटै सडकका कारण सुकेका छन् ।

अर्घाखाँची हुँदै गुल्मीको नयाँगाउँसम्म आउने देउराली डाँडाकटेरी खनदह सडकका कारण दुईवटा खानेपानीका मुहान सुकेको विष्णु सुनारले बताए । सडककै कारण खानेपानीका मुहान सुक्दा गाउँमा खानेपानीको समस्या भोगिरहेको उनले बताए । ‘हाम्रोमा एउटा मुहानबाट ३५ घरले पानी खान्थ्यौं, त्यो मुहान सुक्यो,’ उनले भने, ‘अर्को २० घरले पानी खाने मुहान पनि सुक्यो । मुहानमाथिबाट बाटो खनेकै कारण यी सुकेका हुन् ।’

गाउँगाउँमा जथाभावी मोटरबाटो खन्दा खानेपानीका मुहान सुक्ने अवस्था आएको धुर्कोट गाउँपालिका–१ का झविलाल जीसीले गुनासो गरे । उनले नयाँगाउँमा भएका पुराना खानेपानीका मुहान सुकेका कारण गाउँमा खानेपानीको समस्या भएको बताए । एक घर एक धारामा पनि चाहिनेजति खानेपानी नआउँदा गाउँका मुहानबाट बोकेर पानी खाने स्थानीयलाई समस्या भएको उनले बताए ।

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

जब महेन्द्रले पाँच–पाँच बिघा जमिन बक्सिए...

राजा महेन्द्रको जन्मोत्सवमा फोटो छपाउन म कलकत्ता गएँ । छपाएर ल्याएपछि फोटो दरबार पुग्यो । फोटोमा राजाको एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । राजाले भने, ‘मेरो सुनको दाँत त कालो पो आएछ ।’
दुर्गाप्रसाद श्रेष्ठ

यो घटना ०१९ सालतिरको हो । ‘गोरखापत्र’ मा राजा महेन्द्रको एउटा कविता छापियो– मवीवि शाहको नाउँबाट– ‘रारा की अप्सरा’ ! रारा दहको नैसर्गिक सौन्दर्यको वर्णन गर्दै लेखिएको थियो कविता । उपमा–अलंकारले भरपूर । मलाई पछि थाहा भयो– मवीवि शाह नेपालका राजा रहेछन्– महेन्द्रवीरविक्रम शाहदेव !

म बनारसमा एमए पढ्दापढ्दै आफ्नी शिष्याको बिहामा आएको थिएँ र पछि ‘प्रगति’ का सम्पादक नारायणप्रसाद बाँस्कोटाको कृपाले सरकारी जागिरदार भएँ । प्रेस (मुद्रणस्थल, छापाखाना) सम्बन्धी ज्ञान भएकाले ‘गोरखापत्र’ छापाखानामा खटाइएँ । गोरखापत्र छापाखाना वस्तुतः गोरखापत्र अखबार छाप्ने हेतुले स्थापना गरिएको रहेछ ।

‘ह्यान्ड कम्पोजिङ’ द्वारा लेख–समाचार ‘कम्पोज’ (विन्यास ?) गरिन्थ्यो र ह्यान्ड–फेड ‘गिद्धे प्रेस’ मा अखबार छापिन्थ्यो । मेसिनको नाउँ त ‘इगल’ (अंग्रेजीमा नाउँ) थियो, तर स्थानीय भाषामा ‘गिद्ध’ बाट ‘गिद्धे’ प्रचलित भयो । पछि ‘कोलम्बो प्लान’ अन्तर्गत बेलायतबाट एक जना ‘एडभाइजर’ आए । उनको सिफारिसअनुसार, ‘लाइनोटाइप’ मेसिन आएपछि ‘ह्यान्ड कम्पोजिङ’ बन्द भयो । अखबार र अन्य सामग्री छाप्न स्वचालित मुद्रण मेसिन पनि आयो । सूचना प्रविधिको विकासमा यो पहिलो कदम थियो । त्यसपछि एएफपीका सल्लाहकारहरूसँग सम्झौता भएपछि ‘टेलिप्रिन्टर’ पनि जडान भयो, त्यसपछि राष्ट्रिय संवाद समितिले समाचार सम्प्रेषणको दिशामा आधुनिक प्रविधि अपनायो ।

‘प्रगति’ का सम्पादक नारायण बाँस्कोटालाई प्रचार विभागमा डाइरेक्टर बनाएपछि त्यसको आमूल परिवर्तन भयो र पछि ‘सूचना–प्रसार मन्त्रालय’ खडा भएपछि त्यो सूचना विभागमा परिवर्तन भयो ।

प्रचार विभागमार्फत ‘पञ्चायती व्यवस्था’ को फिल्मी शैलीमा प्रचार गर्न नेपालको पहिलो चलचित्र ‘आमा’ को निर्माण गरियो । ‘आमा’ मा काम गर्ने कलाकार र गायकहरू सबै सरकारी जागिरदार थिए– शिवशंकर, भुवन थापा, वसुन्धरा भुसाल, इन्द्रलाल, भैरवबहादुर थापा आदि । अनि उत्तम नेपाली र म पनि । गायकहरू थिए– खनारायणगोपाल, तारादेवी आदि । हीरासिंहलाई राजा महेन्द्रले भारत भ्रमणका बेला बम्बईमा भेटेर ‘तिमी नेपालमा काम गर्छौ ?’ भनी सोधेर ‘आमा’ बनाउने जिम्मेवारी दिइएको रहेछ । मेरो बुबा काशीबहादुर श्रेष्ठलाई ‘गोरखापत्र’ को सम्पादकमा नियुक्त गर्न महेन्द्रबाट बोलाइएको रहेछ । बुबालाई जागिर खान मन लागेन र बिन्ती गर्नुभएछ, ‘सरकार, मेरो पत्रिका ‘उदय’ लाई केही आर्थिक मदत बक्से त्यसैमार्फत सेवा गर्नेछु ।’

‘उदय’ लाई प्रचार विभागबाट विज्ञापन दिने आदेश भएपछि ‘अरू केही चाहिन्छ ?’ भनी राजाले सोधे । त्यसपछि बुबाले भन्नुभयो, ‘सरकार, मेरो छोरा दुर्गाप्रसादको नेपाली कथासंग्रह छाप्न आर्थिक मद्दत पाऊँ ।’ तुरुन्तै १२ सय भारु बकस भएछ । यसप्रकार मेरो कथासंग्रह ‘सम्झनाको बादल’ प्रकाशित भयो । पछि यो मराठी र तेलेगु भाषामा पनि प्रकाशित भयो ।

यो चाहिँ २०२८ सालको घटना हो । रौतहटमा हिन्दु–मुसलमान दंगा भएछ । त्यसको शान्ति–सुव्यवस्थाका लागि रामनारायण श्रेष्ठ अञ्चलाधीशको अध्यक्षतामा गृह मन्त्रालयको एउटा टोली खटाइयो । समाचार सम्प्रेषणका लागि मलाई पनि खटाइयो । साथै सेनाको एक टुकडी पनि खटाइएको थियो । सेनाको अधिकृतका साथ म पनि जिपमा बसेर गस्ती गर्न गाउँगाउँ जान्थेँ ।

हामी बस्न चौरमा फुसको झुपडी बनाइएको थियो । खाटहरूको व्यवस्था पनि थियो । नजिकै इनारको पानीले बिहान नुहाउँथ्यौं । रामनारायण श्रेष्ठले बरखी बार्नुभएको रहेछ र बिहानै उठेर नुहाएर तर्पण दिनुहुँदो रहेछ । करिब एक महिनापछि सबै साम्य भएपछि निरीक्षण गर्न राजाको सवारी भयो । हाम्रो टोलीका सबैले एक लाइनमा उभिएर सरकारको स्वागत गर्‍यौं । रामनारायणले सबैको परिचय गराउनुभयो । परिचय पाएपछि राजाले सोधे, ‘तिमी काशीबहादुरको छोरा होइन ?’

‘हो सरकार,’ मैले भनेँ । जाने बेलामा राजाले रामनारायणसँग कुराकानी गरे । त्यहाँबाट राजा ‘दियालो बंगला’ मा बस्ने गरी चितवन हिँडे ।

‘दुर्गाजी, टोलीका सबैलाई सरकारबाट ‘चन्द्रनिगाहपुरमा पाँच–पाँच बिघा जमिन व्यवस्था गरिदिनू’ भन्ने हुकुम भयो । ल, बधाई छ ।’

म सबेलाबजार, धनुषामा जन्मेको ! सुनेर खुसी लाग्यो । तर, अफसोस ! त्यही राति राजालाई हृदयाघात भएपछि नहुने घटना भयो । हाम्रो सपना चकनाचूर भयो । एक पटक राजाको जन्मोत्सवका पोस्टर छपाउन म कलकत्ता गएँ । सानो साइजको फोटोबाट ठूलो आकार (२०”–३०”) को पोस्टर छपाउनुपर्ने । कलकत्ताबाट छपाएर ल्याइयो र नमुना दरबार पठाइयो । फोटोमा राजाको मुहारमा एउटा दाँत कालो देखियो अर्थात् भाँचिएजस्तो । अब सबैले मेरो जागिर जाने भयो भने । सचिव सुन्दरप्रसाद शाह पनि रिसाए र त्यो पोस्टरको नमुना लिएर दरबार पठाए । संवाद सचिव रेणुलाल सिंहलाई पोस्टर दिएँ । उनले सरसर्ती हेरेपछि राजालाई देखाउन भनी लिएर गए । एक छिनपछि उनी फर्केर आउनुभयो ।

म भित्रभित्रै डराइरहेको थिएँ । तर, संवाद सचिवसँग सोध्ने आँट आएन । रेणुलालले एक छिनपछि भने, ‘ठीक छ भनी बक्स्यो । तर, ‘मेरो सुनको दाँत त कालो पो आएछ’ भनिबक्स्यो ।’मैले अफिस फर्केर रेणुलालको सन्देश सुनाएँ । ‘दुर्गाजीको जागिर जाने भो’ भनी आस गरी बसेका सबै खिस्स भए । देश–विदेशका प्रतिभालाई कदर गर्ने राजा महेन्द्रको बानी ‘काबिल–ए–तारिफ’ हो । ‘आमा’ फिल्मको निर्माण गर्ने कुरा उठ्दा राजाबाट प्रेमप्रकाश मल्ललाई पनि गीत गाउने मौका दिनू भन्ने हुकुम भएछ । प्रेमप्रकाश मल्लले राजाको नेपालगन्ज सवारीका बेला क्याम्पमा गीत गाएर सुनाउँदा आवाज मन परेर उनलाई मौका दिनू भनेका रहेछन् । उर्दूमा यस्तोलाई ‘कद्रदँ’ अर्थात् ‘कदर गर्न जान्ने मान्छे’ भन्छन् । राजा महेन्द्र यस्तै थिए ।

तर, अफसोस कलकत्ता पुगेर मल्लजीलाई ‘डेंगु’ ले समातेछ र एक हप्ता होटलको कोठैमा बस्नुपर्‍यो । उनले स्वर्णिम मौका गुमाए । ‘आमा’ फिल्म बनेर आएपछि ‘जयनेपाल सिनेमाघर’ मा ‘प्रिमियम शो’ भयो । राजा र राजपरिवारका साथै उच्चपदस्थ व्यक्तिविशेषले पनि ‘आमा’ हेरेपछि जयनेपालमै त्यसको नियमित प्रदर्शन भयो ।

‘आमा’ मा काम गर्ने सबैलाई राजाबाट दुई–दुई हजार पुरस्कार दिनू भन्ने हुकुम भयो । त्यो बेला सुनको भाउ दुई सय रुपैयाँ तोला थियो । अहिले कति भयो त ? खैर ।

यो मैले राजा महेन्द्रको गुणगान गाएको होइन । देशको नेतृत्व गर्ने मान्छे कस्तो हुनुपर्छ, त्यसको उदाहरण पेस गरेको । कसैले अन्यथा लिन्छ भने के गर्न सकिन्छ ?

प्रकाशित : जेष्ठ २८, २०७९ ०९:२०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×