निर्वाचन कानुन एकीकृत गर्न सरकारको सहमति- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निर्वाचन कानुन एकीकृत गर्न सरकारको सहमति

निर्वाचनसम्बन्धी ९ वटा कानुनलाई तीन वटामा सीमित गरिने
कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले वैशाख दोस्रो साता स्थानीय निर्वाचन गर्न प्रस्ताव राखेको एक सातापछि सरकारले निर्वाचन कानुनको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तर्जुमा गर्न सहमति दिएको हो ।

आयोगले केपी शर्मा ओली नेतृत्वको सरकार रहेका बेला ६ महिनाअघि नै विधेयकको प्रारम्भिक मस्यौदा तयार गरी सैद्धान्तिक सहमतिका लागि गृह मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा पठाएको थियो । उक्त मस्यौदामा विदेशमा रहेका नेपालीलाई मतदान समावेश गर्ने विषय समेटिएको छ । निर्वाचन मिति प्रस्ताव गरेपछि सरकारले कानुन बनाउन चासो देखाएको हो । संवैधानिक प्रावधानअनुसार एक वर्षभित्र तीनवटै तहको निर्वाचन गर्नुपर्नेछ । आयोगले निर्वाचन सञ्चालनसम्बन्धी छरिएका कानुनलाई एकीकृत गर्न खोजेको छ । आयोगले स्थानीय तह, प्रदेशसभा सदस्य, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन र मतदाता नामावलीसम्बन्धी ऐनलाई गाभेर निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयकको प्रस्ताव गरेको थियो ।

निर्वाचन आयोगसम्बन्धी ऐनमा भएको केही व्यवस्थालाई निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी विधेयकमा समेत समेटिएपछि त्यसलाई मिलाउन आयोगले निर्वाचन आयोगसम्बन्धी विधेयकको मस्यौदा बनाएर सरकारलाई बुझाएको थियो । यसमा पनि सरकारले समर्थन जनाउँदै मस्यौदा तर्जुमा गर्न सरकारले सैद्धान्तिक स्वीकृत दिएको छ । निर्वाचनसम्बन्धी ९ वटा कानुन रहेकामा अब निर्वाचन आयोगसम्बन्धी, निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी र राजनीतिक दलसम्बन्धी गरी ३ वटामा सीमित हुने देखिएको छ ।


प्रकाशित : पुस १६, २०७८ २१:५२
प्रतिक्रिया
पठाउनुहोस्

पामेमा 'फायर इन्द दि माउन्टेन'ले जित्यो क्रिटिक्स र फिचर फिल्मको अवार्ड

कान्तिपुर संवाददाता

पोखरा — पाँचौं पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा भारतीय फिल्मकर्मी अजितपाल सिंहको 'फायर इन्द दि माउन्टेन'ले उत्कृष्ट फिचर फिल्मको अवार्ड उचालेको छ । हिमाली क्षेत्रमा महिलाले गर्ने संघर्षमाथि बनेको यही फिल्मले क्रिटिक्स तर्फको अवार्ड पनि जित्यो ।

अजितले फिचरमार्फत १ लाख र क्रिटिक्सबाट ६० हजार उपहार रकम जित्न सफल भएका छन् । अजितले यसअघि फिल्मलाई भर्चुअल्ली देखाए पनि भौतिक रुपमा देखाउन पाएका थिएनन् । उनले फिल्मलाई भौतिक रुपमा प्रदर्शन गर्दै दर्शकसँग अन्तरक्रिया गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

'अहिलेसम्म फिल्मलाई भर्चुअल्ली देखाएँ । पोखरामा पहिलोपटक फिजिकल्ली फिल्मलाई देखाउन पाएँ । हिजो फिल्मपछि भएको अन्तरक्रियामा एकजनाले गहिरो प्रश्न गर्नुभयो । त्यसले मलाई एकदम खुसी तुल्यायो,' अजितले भने ।

त्यस्तै लि मिन्याङको फिल्म 'सरिरा'ले उत्कृष्ट सर्ट फिल्मको अवार्ड उचाल्दै नगद ८० हजार प्राप्त गर्‍यो । बेलमाया नेपालीले बनाएको फिल्मले उत्कृष्ट डकुमेन्ट्री फिल्मसँगै 'आयम बेलमाया' जित्दै ५० हजार प्राप्त गर्‍यो । यही विधामम 'सफ्टी'ले ५० हजार नगदसहितको अवार्ड जत्यो । फिल्मलाई साम सोकोले निर्देशन गरेका थिए ।

स्टुडेन्ट सर्ट फिल्म सौरभ घिमिरेले बार्किङ डगमार्फत ६० हजारसहितको नगद पुरस्कार प्राप्त गरे । त्यस्तै सर्ट फिल्मतर्फ चलचित्र निर्माणका लागि तीन फिल्मले अनुदान(फिल्म डेभलपमेन्ट ग्रान्ट) रकम प्राप्त गर्‍यो । पासाङ दावा शेर्पाको 'कुकु', दीपेन्द्र महर्जनको 'इराोजन' र दृष्टि बागदसको 'तिमी र म'ले अनुदान रकम २५ हजार प्राप्त गर्‍यो । फेस्टिभलको अन्तिम दिन अजितको फिल्म प्रदर्शन पनि गरियो ।

प्रकाशित : पुस १६, २०७८ २१:४४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×