कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्रिमो आउनुअघि प्रस्तावित राजदूतहरूको ‘अन्तरक्रिया कार्यक्रम’ पूरा

काठमाडौँ — प्रस्तावित तीन मुलुकका राजदूतहरूले सम्बन्धित मुलुकहरुबाट अग्रिमो (सहमति पत्र) आउनुअघि नै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा भाग लिइसकेका छन् ।

अग्रिमो आउनुअघि प्रस्तावित राजदूतहरूको ‘अन्तरक्रिया कार्यक्रम’ पूरा

भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले प्रतिष्ठानले आयोजना गरेको चार दिने ‘नवनियुक्त राजदूतहरुका लागि अन्तक्र्रिया कार्यक्रम’ मा सहभागिता जनाएका हुन् । उक्त अन्तरक्रिया कार्यक्रम बिहीबार पूरा भएको हो । ‘उहाँहरु तीन जना प्रतिष्ठानले आयोजना गरेका कार्यक्रमको सबै सत्रहरुमा सहभागी भएर अन्तरक्रियालाई सफल बनाउनु भयो,’ प्रतिष्ठानका एक अधिकारीले कान्तिपुरलाई भने ।

तीन प्रस्तावित राजदूतहरुको अग्रिमा आउने लगभग पक्का भएपछि उनीहरुलाई राजदूत नियुक्त हुनुअघि नै प्रतिष्ठानले अन्तरक्रिया कार्यक्रम गराएको हो । साधारणतया राजदूतमा नियुक्त भएपछि मात्र उक्त कार्यक्रममा सहभागी गराइन्छ । प्रस्तावित राजदूतको सम्बन्धित मुलुकबाट अग्रिमो स्वीकृत भएर आएन भने नयाँ राजदूत फेरि प्रस्तावित गर्नु पर्ने हुन्छ । २०६२/६३ पछि भारतका लागि माओवादी केन्द्रका प्रस्तावित राजदूत सुरेन्द्र कार्कीको अग्रिमो अस्वीकृत भएको थियो । र, पछि फेरि अर्को राजदूत नियुक्त गरेर बनाउनु पर्‍यो ।

सरकारले राजदूतमा प्रस्तावित गरेपछि परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको प्रतिष्ठानले सम्बन्धित मुलुकमा जिम्मेवारी सम्हाल्न जानुअघि राजदूतहरूसँग अन्तरक्रिया कार्यक्रम गर्छ । उक्त कार्यक्रममा राजदूत भएर सम्बन्धित मुलुकमा के–के काम, कसरी गर्नेदेखि विदेशीसँग कसरी खाना खानेसमेत विषयमा राजदूतहरुलाई विज्ञहरुले जानकारी दिन्छन् ।

शर्मा, खत्री र आचार्यलाई सरकारले कात्तिक ११ गते सम्बन्धित मुलुकको राजदूतमा सिफारिस गरेको थियो । प्रस्तावित राजदूतहरूको मंसिर २० गते संसदीय सुनुवाइ भएको थियो । उनीहरुलाई समितिले सोही दिन अनुमोदन गरेपछि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकहरुमा अग्रिमो लिनका लागि पत्राचार गरेको गरिसकेको छ । मन्त्रालय स्रोतका अनुसार तीन प्रस्तावित राजदूतहरूको शुक्रबारसम्म कुनै पनि मुलुकबाट अग्रिमो आइपुगिसकेको छ । कानुनअनुसार अग्रिमो आइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले राजदूतहरुलाई नियुक्त गर्ने छिन् । र, राजदूतहरू सम्बन्धित मुलुकमा पुगेर आफ्नो ४ वर्षे कार्यकाल थाल्ने छन् ।

प्रस्तावित राजदूतसामु परराष्ट्र मन्त्री नारायण खड्का, मुख्य सचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्यालदेखि अन्तर्राष्ट्रिय, अर्थतन्त्र र परराष्ट्र मामिलालगायतका जानकारहरुले अन्तरक्रिया गरेका थिए । अहिलेको विश्वको राजनीति, नेपालले विज्ञान र प्रविधि कूटनीतिमा ध्यान दिनु पर्नेदेखि शिष्टाचारका बारेमा पनि राजदूतहरूसँग अन्तरक्रिया भएको थियो । उनीहरुलाई ‘टेबल म्यानर’ भने मेरियट होटलमा गराइएको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रममा भाग नलिएर पनि राजदूतको जिम्मेवारी सम्हाल्न जाने पनि छन् । पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीले भने आफू बेलायतका लागि राजदूतमा सिफारिस भएपछि उक्त अन्तरक्रियामा भाग लिन अस्वीकार गरेका थिए । उनले सुरुआतमा आफ्नो अग्रिमो आइनसकेको भन्दै उक्त कार्यक्रममा गएनन् । पछि अग्रिमो आइसकेपछि उनी तालिम नै नलिइकन बेलायत उठेका थिए । रेग्मीको उक्त गतिविधिका कारण कूटनीतिक रुपमा गलत सन्देश गएको मन्त्रालय र प्रतिष्ठानकै पदाधिकारीहरुले बताएका थिए ।

प्रकाशित : पुस १६, २०७८ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?