कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस : पाखा लागेका नेताको भविष्य देउवामा निर्भर

पार्टीको आन्तरिक प्रतिस्पर्धामा सहभागी भएर पराजित भएका र प्रतिस्पर्धामै आउन नसकेका कांग्रेसका यी हस्तीको भावी राजनीति अब सभापति शेरबहादुर देउवाको तजबिजमा भरपर्छ । देउवाले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यको कोटामा पनि नअटाए यी नेताहरू कांग्रेसको केन्द्रीय समितिमा आगामी चार वर्षसम्म देखिने छैनन् ।
प्रकाश धौलाकोटी

काठमाडौँ — ३४ वर्षदेखि कांग्रेस केन्द्रीय समितिमा रहेका रामचन्द्र पौडेलले १४ औँ महाधिवेशनको आन्तरिक प्रतिस्पर्धामा भाग लिएनन् । महाधिवेशनले निर्वाचित गरेको १३५ सदस्यीय केन्द्रीय कार्यसमितिको सूचीमा उनी छैनन् ।

कांग्रेस : पाखा लागेका नेताको भविष्य देउवामा निर्भर

अघिल्लो पटक सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका पौडेलले पाँच वर्षसम्म पार्टीभित्र प्रतिपक्षको नेतृत्व गरे । तर, आफूले नेतृत्व गरेको समूहभित्रको शक्ति संघर्ष मिलाउन नसक्दा उनी मैदान छाडेर भाग्नुपर्ने स्थितिमा पुगे ।

०४० सालमै कांग्रेसको केन्द्रीय प्रचार संयोजक भएका पौडेल ०४४ सालदेखि निरन्तर केन्द्रीय समितिमा थिए । यसबीचमा उनी पार्टीको महामन्त्री, उपसभापति र कार्यवाहक सभापति भए, तनहुँबाट पटक–पटक चुनाव जितेका उनी मन्त्री र उपप्रधानमन्त्रीसमेत भए । तर, न पार्टी सत्ताको, न मुलुकको नै, उनले ‘फस्टम्यान’ बनेर काम गर्ने मौका पाएनन् । प्रधानमन्त्री बन्न १७ पटकसम्म प्रतिस्पर्धामा उत्रिएका पौडेल पार्टीमा भने एकैपटकमा हार खाए । १३ औँ महाधिवशेनमा पार्टीको सभापति बन्न प्रतिस्पर्धा गरेका पौडेल १४ औँ महाधिवेशनसम्म आइपुग्दा न निर्णायक बने, न उनको समूह नै एकढिक्का रह्यो । त्यहीकारण उनको अबको राजनीतिक भविष्य अन्योलमा परेको छ ।

पौडेल जस्तै पार्टीमा लामो समय काम गरेका पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, कुलबहादुर गुरुङ, पूर्वकोषाध्यक्ष सीतादेवी यादव, नेताहरू नरहरि आचार्य, दिलबहादुर घर्ती, प्रदीप गिरी, नारायण खड्का, मीन विश्वकर्मा लगायत प्रतिस्पर्धाको मैदानमै आएनन् । प्रकाशमान सिंह, विमलेन्द्र निधि, सुजाता कोइराला, विजयकुमार गच्छदार, महेश आचार्य, प्रकाशशरण महत, मिनेन्द्र रिजाल, मानबहादुर विश्वकर्मा, कमला पन्त लगायत प्रभावशाली नेताहरू प्रतिस्पर्धामा उत्रिएपनि महाधिवेशनबाट पाखा लागेका छन् । महाधिवेशनअघि कांग्रेसको केन्द्रीय समिति १०३ सदस्यीय थियो, त्यो अब १३५ सदस्यीय बनेको छ । तर, तत्कालिन केन्द्रीय समितिमा रहेका ४७ जना नेता अहिलेको केन्द्रीय समितिभन्दा बाहिर पुगेका छन् ।

महाधिवेशन लगत्तै पौडेलले विज्ञप्तिमार्फत् भनेका छन्, ‘साथीहरूले ‘रामचन्द्रजीले अब पार्टीभित्रका चुनाव लड्नुहुँदैन, जोगिएर रहनुपर्छ’ भनेको हुनाले प्रतिस्पर्धाबाट नै अलग रहने निर्णयमा पुगेँ, र मतदानबाटै अलग रहेँ । तर यो राजनीतिक विश्राम होइन, अल्पविराम मात्रै हो, मेरो राजनीतिक यात्रा जारी छ ।’ पौडेलले दाबी गरेको जस्तो राजनीतिक यात्रा जारी रहेपनि पार्टीमा उनको राजनीतिक भूमिका अब विगतको जस्तो प्रभावकारी नहुने स्थिति छ ।

दोस्रोपटक सभापतिमा निर्वाचित शेरबहादुर देउवाले विधानअनुसार अब केन्द्रीय समितिमा जम्मा ३३ जनालाई मनोनित गर्न पाउँछन्, त्यो पनि केन्द्रीय समितिमा समावेशी समानुपातिक प्रतिनिधित्व गराउने गरी । कसलाई मनोनित गर्ने वा नगर्ने भन्ने देउवाको तजबिजको कुरा हो ।

त्यसआधारमा अब कांग्रेसमा पदाधिकारी भइसकेका, पटक–पटक जिम्मेवारी पाएर निर्णायक भूमिकामा काम गरेका यी हस्तीको राजनीतिक भविष्य सभापति देउवाको तजबिजमा टिकेको छ । देउवाले मनोनयन गर्ने ३३ केन्द्रीय सदस्यको कोटामा पनि नअटाए यी नेताहरू कांग्रेसको केन्द्रीय समितिमा आगामी चार वर्षसम्म देखिने छैनन् । यदि केन्द्रीय समितिमा रहेपनि उनीहरूसँग फेरि विगतकै जस्तो पार्टीभित्रको शक्ति संघर्षमा देउवाविरुद्व बोल्ने नैतिक हैसियत बाँकी रहनेछैन ।

सहमहामन्त्री किशोरसिंह राठोरले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम सबैलाई समेटेर पार्टीलाई एकढिक्का बनाएर अघि बढाउने बताए । ‘सभापतिज्यूको यो अन्तिम पटक हो, पार्टीमा विभाजन आउने, कसैलाई चित्त दुखाउने काम अब उहाँले गर्नु हुनेछैन,’ उनले भने, ‘उहाँले सबैलाई मिलाएर सहमतिबाट अघि बढ्ने भन्नुभएको छ ।’ उनले पार्टीमा लामो समयसम्म योगदान गरेका सबैजसो नेताहरूलाई देउवाले मनोनित गर्ने तयारी गरिरहेको बताए ।

विगतमा एकपटक पदाधिकारी भइसकेका नेता १३ औँ महाधिवेशनपछि सधैँ पार्टीको निर्णायक भूमिकामा रहे, कारण–देउवाले केन्द्रीय समितिभन्दा पदाधिकारी र पूर्वपदाधिकारीका धेरै वटा निर्णायक बैठक गरे । तर, अब त्यस्तै किसिमको केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने वैधानिक व्यवस्था छ, जसमा देउवाले ३१ जनालाई मात्रै मनोनयन गर्न पाउँछन् ।

यदि देउवाले विगतमा जस्तो पदाधिकारी र पूर्वपदाधिकारीको अवैधानिक अभ्यास नगरेको अवस्थामा पार्टीको निर्णायक भूमिकामा पुराना नेताको अनुहार अब फेरि देखिने छैन । ‘पदाधिकारी र पूर्वपदाधिकारी बैठकको अभ्यास अवैध थियो, अब त्यस्तो अवैधानिक अभ्यास हुँदैन,’ एक पदाधिकारीले भने, ‘सकेसम्म केन्द्रीय समिति र कार्यसम्पादन समितिमै निर्णायक छलफलको अभ्यासलाई जोड दिन्छौँ ।’

केन्द्रीय पदाधिकारीमा देउवा र उपसभापति पूर्णबहादुर खड्काबाहेक सबै नयाँ पुस्ताका नेताहरू छन् । १२१ केन्द्रीय सदस्यमध्ये ७९ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका नेता छन् । यसकारण पनि पार्टीको महाधिवेशनबाट म्याण्डेट लिएर आएका नेताहरूले पुराना नेताहरूको निर्णायक भूमिकालाई क्रमशः विस्थापित गर्ने ती पदाधिकारीको भनाइ छ ।

राजनीतिक विश्लेषक शंकर तिवारी भने महाधिवेशनबाट अनुमोदित नहुँदैमा पुराना अनुभवी नेताहरूको उपादेयता नसकिने बताउँछन् । ‘विधानले मनोनितको व्यवस्था गरेको छ, पार्टीलाई योगदान पुर्‍याएका अनुभवी नेताहरूलाई म्याण्डेट पाएको नेतृत्वले सँगै लिएर हिड्नसक्छ, महाधिवेशनमा पराजित हुँदैमा ती नेताहरूको उपादेयता सकिने भन्ने हुँदैन,’ तिवारीले भने, ‘सभापतिले उहाँहरूलाई मनोनित गर्नुहोला, त्यसपछिको निर्णय प्रक्रियामा नेतृत्वले कसरी समेट्छ ? त्यसमा भर पर्छ ।’

तिवारीले पौडेल, सिंह, निधि र सिटौलाहरूको पार्टीमा आ–आफ्नै किसिमको क्षमता र भूमिका रहेको बताए । ‘सिटौलाको समन्वयकारी भूमिका राम्रो छ, निधिले मधेशलाई समेट्ने र भारतसँगको सम्बन्ध कायम गर्ने सन्दर्भमा प्रभावकारी भूमिका खेल्न सक्छन्, त्यसैगरि सबै नेताहरूको आ–आफ्नो उपादेयता छ,’ उनले भने, ‘त्यसलाई नवनिर्वाचित कार्यसमितिले उचित सम्मानसहित भूमिका दिन सक्नुपर्छ ।’

सामान्यतः कांग्रेसमा पार्टीको नेतृत्वमा स्थापित नभए प्रधानमन्त्री वा अन्य महत्वपूर्ण पदमा पुग्ने संभावना कम रहन्छ । त्यहीकारण पार्टीको आन्तरिक प्रतिस्पर्धा केही पेचिलोसमेत बन्ने गर्दछ । तर, पार्टी नेतृत्वबाट पाखा लाग्दैमा संसदीय राजनीतिबाटै बाहिरिनुपर्ने अवस्था नरहेको तिवारी बताउँछन् ।

उनले देउवाले आपसी समझदारीमा जिम्मेवारी बाडफाँड गरेर अघि बढ्न सक्ने बताए । ‘अब पार्टीभित्र प्रतिपक्ष भनेको शेखर कोइराला मात्रै हो, अरु नेताहरूसँग महाधिवेशनमै दोस्रो चरणको चुनावमा देउवाले एक खालको समझदारी गरेका हुनसक्छन्, त्यो समयक्रममा खुल्दै जाला,’ उनले भने, ‘यदि कुनै समझदारी थिएन भने पनि आपसी समझदारीमा जिम्मेवारी बाँडफाँट गरेर अघि बढ्न सक्छन् ।’

जो प्रतिस्पर्धामै आएनन्

कांग्रेसको १४ औँ महाधिवेशनमा पुस्तान्तरण र रुपान्तरणको चर्को नारा लाग्यो, दोस्रो पुस्ताका नेताहरूले धमाधम पार्टीको नेतृत्वदायी भूमिकामा उम्मेदवारी दिए । क्रियाशील सदस्यलाई दोब्बर बनाएकै कारण तल्लातहदेखि नै युवा सहभागिता उत्साहजनक बन्यो, जसकारण एकथरी नेताले केन्द्रीय महाधिवेशनमा प्रतिस्पर्धा नै गरेनन् ।

सभापतिमै दाबी गर्दै आएका रामचन्द्र पौडेलले मतदान नै नगर्ने अवस्था बन्दा १३ औँ महाधिवेशनमा उनीसँगै प्रतिस्पर्धा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले देउवालाई सघाए । पूर्वमहामन्त्री कुलबहादुर गुरुङ र निवर्तमान कोषाध्यक्ष सीतादेवी यादवले पनि चुनाव लडेनन् । कांग्रेसभित्र वैचारिक नेतृत्व गर्ने नरहरि आचार्य, प्रदीप गिरी, दिलबहादुर घर्ती लगायतले पनि प्रतिस्पर्धा गरेनन् ।

सभापति देउवाको विश्वासपात्रका रुपमा काम गर्दै आएका परराष्ट्रमन्त्री नारायण खड्का र मीन विश्वकर्माले पनि प्रतिस्पर्धा गरेनन् । पार्टीको आन्तरिक शक्तिसंघर्ष र अन्तरपार्टी समायोजनका क्रममा मनोनित भएर केन्द्रीय सदस्य बनेका तत्कालिन केन्द्रीय सदस्यहरू राधेचन्द्र यादव, अतहर कमाल मुसलमान, शिवप्रसाद हुमागाई, जंगीलाल राय, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, पवनकुमार सारडा, रामकृष्ण भट्टराई, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव र किरण गिरीले पनि प्रतिस्पर्धा गरेर फेरि केन्द्रीय समितिमा आउने हिम्मत गरेनन् ।

जो पराजित भएर पाखा लागे

कांग्रेसले यसपटक अहिलेसम्मकै धेरै पदमा चुनाव गर्‍यो, १३ पदाधिकारीसहित १३४ पदमा । तर यति धेरै पदमा प्रतिस्पर्धा हुँदा समेत आकांक्षी झन् धेरै देखिए । सभापति एक जनाका लागि पहिलो चरणमा पाँच जना उम्मेदवार थिए– शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ । देउवा–कोइराला दोस्रो चरणमा भिडे । पराजित भएका सिंह, निधि र गुरुङ दोस्रो चरणमा देउवाको सहयोगी बने । पार्टीको पदाधिकारीमा प्रभावशाली नयाँ पुस्ताका नेता स्थापित हुँदा अर्को महाधिवेशनसम्ममा उनीहरूको राजनीतिक भविष्य कायम रहन्छ वा पूर्णविराम लाग्छ, त्यो हेर्न बाँकी छ ।

सभापतिमा जस्तै दुई उपसभापति र महामन्त्रीमा पनि दोब्बरभन्दा धेरै प्रतिस्पर्धी थिए । उपसभापतिमा विजयकुमार गच्छदार, सुजाता कोइराला, महेश आचार्य र चन्द्र भण्डारी तथा महामन्त्रीमा पराजित प्रकाशशरण महत, मिनेन्द्र रिजाल र प्रदीप पौडेल लगायत पराजित भए । देउवाले ३३ जना मनोनित गर्दा पराजितमध्ये आफूनिकटलाई केन्द्रीय समितिमा ल्याउन सक्नेछन् । तर, उनीहरूको भूमिका विगतभन्दा निकै खुम्चिएर जानेछ ।

त्यस्तै, सहमहामन्त्रीमा पराजित भएका मानबहादुर विश्वकर्मा, जीवनबहादुर शाही, कमला पन्त र रामकृष्ण यादवसमेतलाई फेरि केन्द्रीय समितिमा पुग्न अर्को महाधिवेशनसम्मै कुर्नुपर्ने हुनसक्छ । केन्द्रीय सदस्यमै पराजित भएका पूर्वकेन्द्रीय सदस्यहरू रत्न शेरचन, हृदयराम थानी, किरण यादव, हरिप्रसाद नेपाल, मंगलप्रसाद थारु, टिएन योगी, हरिप्रसाद न्यौपाने, नसिर सिद्धिकी, पार्वती डिसी चौधरी र सुमित्रा थरुनी महाधिवेशनबाट पाखा लागेका छन् ।

प्रकाशित : पुस १५, २०७८ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?