समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सुरु हुने- समाचार - कान्तिपुर समाचार
माओवादी महाधिवेशन

समूहगत छलफल सकियो, शुक्रबारबाट केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया सुरु हुने

शुक्रबार नै दाहालले छलफलमा उठेका विषयमा जवाफ दिने
कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहगत छलफलमा भएका निष्कर्ष राख्ने क्रम सकिएको छ । 

दाहालको राजनीतिक दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि २४ समूहमा भएका छलफलको निष्कर्ष बुधबार दिउँसो सुरु गरेर बिहीबार साँझ बन्दसत्रमा राख्ने क्रम सकिएको हो ।

बिहीबार १४ समुहका नेताहरूले बन्दसत्रमा समूहका सुझाव र निष्कर्ष प्रस्तुत गरेका थिए । दाहालले बन्दसत्रमा ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शिर्षकको दस्तावेज प्रस्तुत गरेका थिए । जसमा बिहीबार सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारी, सल्लाहकारहरूको समूह ‘क’ बाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहबाट जगत सिम्खडा, समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट मानबहादुर धामी, समूह २२ बागमती प्रदेशबाट इन्द्रबहादुर थिङ, समूह ११ गण्डकी प्रदेशबाट देवेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहबाट नन्दकुमार प्रसाई, समूह ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बरालमगर, केन्द्रीय विभागबाट घनश्याम रजक, समूह २५ जनवर्गीय संगठन तथा मोर्चाबाट सुरेश आलेमगर, समूह ९, लुम्बीनी प्रदेशबाट नारायण अधिकारी र प्रदेश नम्बर २ बाट भवानी थापाले दाहालको दस्तावेज र गुरुङको विधान संशोधन मस्यौदामाथि आ–आफ्नो समूहमा भएका छलफलको निष्कर्ष प्रस्तुत गरेका थिए ।

समूहगत छलफलका लागि यसअघि २५ वटा समूह गठन गरिएकोमा सम्पर्क मञ्च प्रदेशको दुई समूहलाई एउटै समूहमा राखेपछि समूहको संख्या २४ वटा बनेको थियो ।

समूहको छलफलबाट दाहालको दस्तावेज र गुरुङको प्रस्तावमा समर्थन आएको माओवादी केन्द्रको प्रचार तथा प्रकाशन उपसमितिले जानकारी दिएको छ ।

माओवादीको बन्दसत्र शुक्रबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार बन्द सत्रमा लेखा, अनुशासन र निर्वाचन आयोगका प्रतिवेदन प्रस्तुत गरिने बताइएको छ । त्यसपछि विधान संशोधन मस्यौदामाथि उठेका प्रश्नको जवाफ गुरुङले दिने र दाहालले आफ्नो दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

दुवैले जवाफ दिएपछि केन्द्रीय सदस्यहरुको चयन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रकाशित : पुस १५, २०७८ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्

मनमोहक गुप्सीपाखा [तस्बिरहरु]

हरिराम उप्रेती

गोरखा — धार्चे गाउँपालिका–४ लाप्राकस्थित गुप्सीपाखा बस्ती हिउँले ढाकेको छ । मंगलबार र बुधबार परेको हिउँले २७ सय मिटर उचाइमा रहेको लाप्राकको गुप्सीपाखा बस्ती ढाकेसँगै मनमोहक देखिएको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडितका लागि बनाएको ५ सय ७३ घर धुरीको सामूहिक बस्ती हिउँले ढाकेसँगै आन्तरिक पर्यटकको गन्तव्य बनेको छ । बिहीबार फाट्ट–फुट्ट पर्यटक गुप्सीपाखामा हिउँ खेल्न पुगेका छन् । तर बिहीबार बिहान ३ बजेबाट हिउँ पर्न रोकिएको र चिसो भने बढेको स्थानीय जेसन गुरुङले बताए । ‘चिसो बढेको छ, फेरि गुप्सीपाखाको मौसम कहिले घाम लाग्ने, कहिले ओझेल पर्ने हुन्छ,’ उनले भने,‘हिउँ पर्न रोकिए पनि हिउँ पग्लीसकेको छैन ।’

लाप्राक बस्तीमा रहेको स्थानीय हिउँ रोकिए पनि चिसो बढेपछि घरभित्रै आगो तापेर बसेका छन् । ओसिलो ठाउँ भएकाले लाप्राकको हिउँ पग्लन समय लाग्ने स्थानीयले बताए । गुप्सीपाखा बस्ती हिउँले ढाकेर जनजीवन कष्टकर वने पनि सेताम्मे हिउँको दृश्य भने सुन्दर देखिएको छ । गोरखा बजार, बाह्रकिलो, आबुखैरेनी, मुग्लिनसम्मका स्थानीयलाई हिउँ खेल्नका लागि सबैभन्दा नजिकको गन्तव्य गुप्सीपाखा हो । गत वर्ष लाप्राक गुप्सीपाखामा हिउँ खेल्नेको घुइँचो लागेको थियो । यो वर्ष झनै आन्तरिक पर्यटक बढ्ने स्थानीयको विश्वास छ ।

तस्बिर सौजन्य : जेसन गुरुङ

प्रकाशित : पुस १५, २०७८ १८:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×