कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ वर्षपछि प्रसूति गृहमा ‘आइभीएफ’ सेवा

निजीमा भन्दा आधा सस्तोमा सेवा
बुनु थारु

काठमाडौँ — छ वर्षपछि थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) प्रविधि पुनः सञ्चालनमा आउने भएको छ । यो विधिमा पुरुषको शुक्रकीट र महिलाको डिम्बलाई कृत्रिम तरिकाले निकालेर प्रयोगशालामा भ्रूण विकास गराएपछि गर्भाधारण गराएर पाठेघरमा प्रत्यारोपण गरिन्छ । २०७२ को भूकम्पले भौतिक संरचनामा क्षति पुर्‍याएपछि यो सेवा बन्द गरिएको थियो ।

६ वर्षपछि प्रसूति गृहमा ‘आइभीएफ’ सेवा

अस्पतालका उपनिर्देशक डा श्रीप्रसाद अधिकारीले गत मंसिर २० गतेबाट पहिलो ब्याचको आइभीएफ सेवा सुरु गरेको जानकारी गराए । उनले भने–‘हामीले मंसिरको दोस्रो साताबाट यो सेवा पुनः सुरु गरेका छौँ । फेब्रुअरी तेस्रो हप्तामा अर्को ब्याच सुरु हुनेछ ।’ यसका लागि अस्पतालले भारतबाट आइभीएफसम्बन्धी दुई जना विशेषज्ञ चिकित्सकलाई झिकाइ सेवा सञ्चालनमा ल्याएको हो ।

अस्पतालका अनुसार पहिलो ब्याचमा ६ जना यो सेवा लिन आएका थिए । ४ जना भने विभिन्न कारणले सम्पर्कमा नआएकोमा दुई जनामा भने प्रक्रिया सुरु गरिएको थियो जसमा १ जनामा सफल भइसकेको छ ।

२०७२ को भूकम्पपश्चात् संरचना र दक्ष जनशक्ति अभावले आइभीएफ सेवा पूर्णरुपमा अवरुद्ध भएको थियो । हाल यो सेवा कुपण्डोलस्थित प्रसूति गृहको नयाँ भवनबाट सुरु भएको छ । भवनको तल्लो तल्लामा आइभीएफ सेवा छ भने माथिल्लो तल्लामा कोभिड वार्ड रहेको छ ।

प्रसूति अस्पतालले वि.सं २०३९ सालबाट ‘इनफर्टिलिटी’ क्लीनिक भनेर सेवा सुरु गरेको थियो । त्यसपछि २०६३ सालबाट आइयुआइ (इन्ट्रा युटेरिन इन्सिमिनेसन) सेवा सुरु भयो । यो प्रविधि भनेको वीर्यको मात्रा कमी भएको पुरुषहरुको वीर्यलाई धोएर महिलाको विभिन्न माध्यमबाट पाठेघरमा राखिन्छ । अस्पतालका अनुसार दैनिक २ देखि ७ जनाले यो सेवा लिइरहेका छन् ।

भारतबाट झिकाइएकी आइभीएफ स्पेसलिस्ट डा रीता बक्सीको नेतृत्वमा आइभीएफ सेवा २०६९ सालबाट अस्पतालमा सुरु गरिएको थियो जुन २०७२ सम्म चल्यो । यो अवधिमा १९ वटा ब्याच सम्पन्न भएकोमा १२९ जनाले सेवा लिएका थिए । अस्पतालका अनुसार औसतमा ३० प्रतिशत र अधिकतम ६० प्रतिशत सफल दर थियो ।

अस्पतालको तथ्यांकअनुसार दैनिक ओपीडीमा २५० देखि ३५० जना स्त्री रोगसम्बन्धी समस्या लिएर आउने गरेका छन् । जाँच गराउन आउनेमा १० देखि १५ प्रतिशत बाँझोपनको समस्या लिएर आउने गरेको अस्पतालको तथ्यांक छ जसमा ५ देखि ७ जनालाई आइभीएफ सेवाको आवश्यकता पर्दछ ।

...

नेपालमा १२ वटा जति निजी आइभीएफ सेन्टरहरु सञ्चालनमा छन् । निजीमा साढे २ लाखदेखि ४ लाखसम्म यो सेवाको शुल्क रहेको छ । प्रसूति अस्पतालले यसको आधा सस्तोमा सेवा दिने बताएको छ । अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले औषधि तथा जाँचसहित सम्पूर्ण खर्च गरी २ लाख रुपैयाँमा अहिले यो सेवा दिएको बताए । उनले भने–‘यो निजीभन्दा आधा सस्तो हो । जनशक्ति यही उत्पादन भएमा शुल्क अझै पनि कम गर्न सकिन्छ ।’

उनका अनुसार बाहिरबाट विशेषज्ञ चिकित्सकलाई झिकाउनु परेकाले शुल्क बढी हुन गएको हो । उनले आइभीएफसम्बन्धी तालिम लिएका चिकित्सकहरु नेपालमा थुप्रै भए पनि यो प्रविधिका लागि महत्वपूर्ण भूमिका खेल्ने ‘इम्ब्रायोलोजिस्ट’ एकदम कम रहेको बताए । आइभीएफ स्पेसलिस्टले महिलाको अन्डा झिकी शुक्रकीटसँग मिलाउँछ र त्यो मिलाएपछि बाँकी भ्रूण हुर्काउने काम सबै इम्ब्रायोलोजिस्टले गर्छन् ।

डा श्रेष्ठ भन्छन्–‘ नेपालमा आइभीएफसम्बन्धी तालिमको सुरुवात भइसकेको छैन । यो वर्षदेखि ‘रिप्रोडक्टिभ एन्ड इन्डोक्राइनोलोजिस्ट’ फेलोसिप भनेर बाँझोपनसँग सम्बन्धित एक वर्षको कोर्स चलाउने भनेर न्याम्ससँग प्रस्ताव राखेका छौँ । छलफल सकारात्मक भयो भने आइभीएफसँग सम्बन्धित कोर्स नेपालमै चलाउँछौं ।’

उनका अनुसार भारतबाट बोलाइएका चिकित्सकहरुले बढीमा दुई वर्ष नभए एक वर्षभित्र अस्पतालका चिकित्सकहरुलाई यससम्बन्धी तालिम दिनेछन् र नेपालमै यससम्बन्धी जनशक्ति उत्पादन हुनेछन् ।‘ हाम्रै जनशक्ति तालिमप्राप्त भएपछि त बोलाउन परेन न त पैसा दिनुपर्‍यो । सेवागाह्रीका लागि शुल्क पनि कम हुन्छ ।’

इनफर्टिलिटी तालिम लिएको २ जना स्त्रीरोग विशेषज्ञ, ४ जना नर्सिङ स्टाफ, १ जना इम्ब्रायोलोजिस्ट गरी २ देखि ३ जना सहयोगीहरु गरी १० जना सामान्यतय: आइभीएफ सेन्टर सञ्चालनका लागि जनशक्ति आवश्यकता पर्दछ । प्रसूति अस्पतालमा हाल ८ जना मात्र जनशक्ति रहेको छ ।

डा अधिकारी भन्छन्–‘यसमा एकदम टिमवर्क चाहिन्छ । इम्ब्रायोलोजिस्ट आइभीएफको तालिम लिएका डाक्टरसाथै ल्याब पनि एकदमै उच्च प्रविधिको चाहिन्छ । उपकरणको व्यवस्थापन गर्ने प्राविधिक जनशक्ति पनि चाहिन्छ । यही कुराको व्यवस्थापन गर्न नमिलेकाले यो सेवा सुरुवात हुन सकेको थिएन । २ वर्षदेखि आइभीएफ सेवा सुरु हुनुपर्छ भन्ने थियो । अब निरन्तर सेवा दिनेछौँ ।’

फ्यालोपियन ट्युबमा क्षति वा ब्लक भएमा, जेनेटिक डिसअर्डर, ट्युबमा ट्युमर पलाए आदि अवस्थामा आइभीएफ गराउन सकिन्छ ।

सरकारले हरेक प्रदेशमा आइभीएफ सेन्टर खोल्ने लक्ष्य लिएको छ । केन्द्रीय अस्पतालमा नै जनशक्ति अभावले सेवा सञ्चालन गर्न हम्मे-हम्मे परेको अवस्थामा मोफसलमा थप चुनौती देखिएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को बजेटमा सरकारले विराटनगर, वीरगन्ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निःसन्तान दम्पतीको लागि आइभीएफ सेवा विस्तार गर्ने घोषणा गरेको छ ।

प्रकाशित : पुस १५, २०७८ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?