'प्रमुख पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था होस्'

'पार्टीलाई आघात पर्ने गम्भीर प्रकारका गल्ती, कमी कमजोरी भएमा कमिटीले फिर्ता बोलाउन सक्ने प्रावधानलाई विधानको अंग बनाइनु पर्छ'

पुस १४, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहालको राजनीतिक प्रतिवेदनमा सुझाव दिने क्रममा समूह १५ ले पार्टीका प्रमुख कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । 

सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिले पार्टी पदमा रहने अवधि विधानमा नै तोकिनुपर्ने सुझाव दिएको हो । कांग्रेस र एमाले लगायतका पार्टीमा पार्टीका कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने व्यवस्था रहेकोमा माओवादीमा पनि त्यही व्यवस्था राख्नुपर्ने सुझाव नेतृत्वकहाँ पुगेको हो । माओवादी केन्द्रको अध्यक्षमा दाहाल तीन दशकभन्दा बढी समयदेखि निरन्तर रहँदै आएका छन् । 

'हरेक तहका कमिटिहरूमा प्रमुख कार्यकारी पदमा बढीमा २ कार्यकालभन्दा बढी बस्न नपाइने,' सुझावमा भनिएको छ । त्यस्तै, सरकारमा सहभागी हुने नेताहरूको मूल्यांकन पार्टीले गर्नका लागि संयन्त्र खडा गर्नुपर्ने सुझाव पनि प्रदान गरिएको छ । 'सरकारमा सहभागी भएका कमरेडहरूको कार्यप्रगति मूल्यांकन गर्ने व्यवस्था हुनुपर्दछ । पार्टी अनुशासन अनुसारको आचरण र पार्टीलाई आघात पर्ने गभीर प्रकारका गल्ती, कमी कमजोरी भएमा कमिटीले फिर्ता बोलाउन सक्ने प्रावधानलाई विधानको अंग बनाइनु पर्छ,' सुझावमा भनिएको छ । 

त्यस्तै, प्रदेश १ का प्रतिनिधि रहेको समूहले अध्यक्ष दाहालको प्रतिवेदनमा युद्ध पीडित र प्रभावितलाई सुविधा दिने व्यवस्था अध्यक्ष दाहालको प्रतिवेदनमा उल्लेख गर्नुपर्ने सुझाव दिएको छ । 'जनयुद्धमा सहभागी सबैलाई सम्मान सहित प्रमाणपत्र तथा परिचय पत्र दिने व्यवस्था गर्नुपर्दछ । जनयुद्धका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्गहरूलाई रोजगारी, आर्थिक सुविधा, प्रमाणपत्र र परिचय पत्र उपलब्ध गराइनु पर्दछ । तिनलाई सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ,' प्रतिवेदनमा भनिएको छ । 

प्रदेश १ कमिटीले थप भनेको छ, 'जनमुक्ति सेनाबारे शान्ति प्रक्रिया अघि र पछिका बाहिर्गमित, स्वेच्छिक अवकास लिएका र क्यान्टोनमेन्टमा बसेका गरी पाँच कोटिमा जनमुक्ति सेनालाई राखी तिनीहरूको आवश्यक आर्थिक व्यवस्थापनसहित सांगठनिक जिम्मेवारीमा समेटिने व्यवस्था हुनुपर्दछ । जनयुद्धकालमा लगाइएका सबै खाले मुद्दाहरू तत्काल खारेज गर्न पार्टीले पहल गर्न पर्दछ ।'

अध्यक्ष दाहालले प्रतिवेदनमा राखेका तथ्यांक र तालिकालाई आधिकरीक बनाउनुपर्ने उक्त समूहको सुझाव छ । अहिलेसम्म ५ समूहले आफ्ना सुझाव बन्दसत्रमा राखेका छन् ।

माओवादी महाधिवेशनमाओवादी राष्ट्रिय सम्मेलन

कान्तिपुर

Link copied successfully