कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८
राष्ट्रिय सभा निर्वाचन

चुनाव चिह्नको क्रम समानुपातिक मतका आधारमा

महिला ७, दलित ३, अपांगता वा अल्पसंख्यक २ सहित १९ सदस्य छान्न माघ १२ मा चुनाव

काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको समानुपातिक मतका आधारमा राष्ट्रिय सभा निर्वाचनको मतपत्रमा चिह्नको प्राथमिकता निर्धारण गर्ने भएको छ । १९ जना राष्ट्रिय सभा सदस्य छान्न माघ १२ मा हुने चुनावमा भाग लिन १२ दल दर्ता भएका छन् ।

चुनाव चिह्नको क्रम समानुपातिक मतका आधारमा

मतपत्रको सुरुमा एमालेको सूर्य चिह्न रहनेछ । एमालेले समानुपातिकमा ३१ लाख ७३ हजार मत पाएको थियो । दोस्रोमा कांग्रेसको रूख र तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्रको हँसिया हतौडा चिह्न रहनेछन् । कांग्रेसले ३१ लाख २८ हजार र माओवादीले १३ लाख मत समानुपातिकमा पाएका थिए । चौथो स्थानमा जनता समाजवादी पार्टीको ढल्केको छाता चुनाव चिह्न हुनेछ । एकीकृत समाजवादीको कलम चिह्न पाँचौं स्थानमा र जसपाबाट छुट्टिएको लोकतान्त्रिक समाजवादी पार्टीको चिह्न छैटौं स्थानमा रहने आयोगले जनाएको छ । लोकतान्त्रिक समाजवादीपछि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई राखिएको छ । मतपत्रको आठौं स्थानमा राष्ट्रिय जनमोर्चा र नवौंमा नेपाल मजदुर किसान पार्टी, १० औंमा इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, ११ औंमा नेपाल लोकतान्त्रिक पार्टी र १२ औं स्थानमा नेपाल परिवार दलका चुनाव चिह्न हुनेछन् ।

मजदुर किसान पार्टीले वाग्मती प्रदेशमा मात्रै निर्वाचनमा भाग लिने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा, इतिहासिक प्रजातान्त्रिक जनता पार्टीले प्रदेश २ मात्रै प्रतिस्पर्धा गर्ने भएका छन् । संघीय संसद् सचिवालयका अनुसार फागुन २० मा एमालेका ८, कांग्रेसका ३, एकीकृत समाजवादीका ४, माओवादीका ४ र राष्ट्रपतिबाट मनोनीत १ जनाको कार्यकाल सकिँदै छ । कार्यकाल सकिनु ३५ दिनअघि नै चुनाव गराइसक्नुपर्ने कानुनी व्यवस्था छ । महिला ७, दलित ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक २ र अन्य ७ जनाको निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्यको चुनावमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता हुन्छन् ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा सोभन्दा बढी दल एकीकरण भए वा गाभिए एकीकरण हुनुभन्दा अघि त्यस दलले प्राप्त गरेको कुल मत संख्यालाई हाल कायम भएको दलले प्राप्त गरेको मत मानिने राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनमा व्यवस्था छ । उक्त ऐनमा निर्वाचन आयोगले प्रतिनिधिसभाको चुनावमा समानुपातिक प्रणालीतर्फ प्राप्त गरेको मत संख्याका आधारमा दलको उम्मेवारको चुनाव चिह्न प्रदान गर्ने भनिएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व नगर्ने दलको हकमा निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएको क्रमका आधारमा चिह्न निर्धारण गर्नुपर्ने हुन्छ । स्वतन्त्र उम्मेदवारहरूलाई नामको वर्णानुक्रमका आधारमा चिह्न दिनुपर्ने हुन्छ । राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि मतदानको प्रक्रिया पुस १७ मा सुरु हुँदै छ । पुस २० मा उम्मेदवारी मनोनयन हुने निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको छ ।

प्रकाशित : पुस १४, २०७८ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?