२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७९
माओवादी महाधिवेशन

७ सदस्यीय अध्यक्षमण्डल गठन, बन्दसत्र सुरु

काठमाडौँ — नेकपा(माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्ग बन्दसत्र सुरु भएको छ । बन्दसत्र कमलादीस्थित प्रज्ञा भवनमा सोमबार बिहानदेखि बन्दसत्र सुरु भएको हो । 

७ सदस्यीय अध्यक्षमण्डल गठन, बन्दसत्र सुरु

बन्दसत्रका लागि ७ सदस्यीय अध्यक्षमण्डल गठन भएको छ । अध्यक्षमण्डलमा कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पर्शुराम रम्तेल, पूर्णकुमारी सुवेदी र रूपा श्रेष्ठ महर्जन रहेका छन् ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेस हुने माओवादीले जनाएको छ । अहिले अध्यक्ष दाहालले आफ्नो प्रतिवेदन प्रस्तुत गरिरहेका छन् । दाहालले प्रतिवेदनमा पार्टी शान्ति प्रक्रियामा आएपछि अहिलेसम्म कहाँकहाँ गल्ती भयो भनेर आत्मसमीक्षा गरिएको बताएका छन् ।

विचारको महाविधेशनको रूपमा चित्रण गरेको माओवादीको बन्दसत्रमा कूल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् । सबै क्लस्टर मिलाउँदा त्यो संख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् । बन्दसत्रमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।

माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरेको छ । कमलादीस्थित हलमा नै बन्दसत्र आयोजना गरिने भए पनि हलको क्षमताभन्दा बढी प्रतिनिधि भएपछि व्यवस्थापनमा चुनौती थपिएको छ ।

राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबारमात्रै महाधिवेशनमा रुपान्तरण गरेको थियो । आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले शनिबार स्थायी समितिले गरेको निर्णयलाई अनुमोदन गरेको थियो ।

नेपाली मौलिकतासहितको समाजवाद निर्माण गर्ने जनाएको माओवादीले बन्दसत्रलाई व्यवस्थित बनाउन आवश्यक तयारी गरिएको उल्लेख गरेको छ ।

प्रकाशित : पुस १२, २०७८ १२:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?