कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लालपुर्जा माग्न बाँदरझुलादेखि काठमाडौं

राम मन्दिरका लागि भन्दै राज्यले बजेट छुट्याइरहँदा आफूहरु भने भूमिहीन बस्नुपरेको, निकुञ्ज र वन्यजन्तुको हैरानी खेप्नुपरेको गुनासो
जनकराज सापकोटा

काठमाडौँ — चितवन माडीको बाँदरझुलाबाट ४० जनाको टोली अधिकार माग्न आइतबार बिहानै काठमाडौंको माइतीघर मण्डल आइपुगेको छ । चेपाङ, तामाङ र दलित समुदायका उनीहरूको गाउँ एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राम जन्मेको ठाउँ भन्दै मन्दिर स्थापना गरेको अयोध्यापुरीबाट झन्डै दुई घण्टाको दूरीमा पर्छ ।

लालपुर्जा माग्न बाँदरझुलादेखि काठमाडौं

राम मन्दिरको विकास र विस्तार भन्दै राज्य संयन्त्रले बजेट छुट्याइरहँदा आफूहरू भने दशकौंदेखि भूमिहीन बस्नुपरेको, निरन्तर निकुञ्ज प्रशासन र वन्यजन्तुको हैरानी खेप्नुपरेको उनीहरूको गुनासो छ । त्यही सुनाउन उनीहरू राजधानी आएका हुन् ।

बाँदरझुलाको टोलीले आइतबार माइतीघर मण्डलमा केहीबेर धर्ना दिएपछि र्‍याली लिएर बानेश्वरस्थित संसद् भवनका छेउमा पुगेर कोणसभा गर्‍यो । त्यसपछि फर्केर उनीहरू फेरि माइतीघर नै आइपुगे । साँझ पर्दै गर्दा उनीहरू कहाँ बास बस्ने भन्ने चिन्तामा थिए । काठमाडौं आएको टोलीलाई अगुवाइ गरिरहेका जगराम प्रजाले ६ सय २५ घरधुरी वर्षौंदेखि भूमिहीन भएको सुनाए । ‘राज्यले देउताका नाममा लाखौं खर्चन्छ । हामीले राष्ट्रिय निकुञ्ज र त्यहाँका सैनिकहरूबाट पाएको दुःख बुझ्दैन । त्यसैले आफ्नो समस्या सुनाउन काठमाडौं आएका हौं,’ उनले भने ।

चितवनको दुर्गम पहाडी क्षेत्रका साथै तनहुँ र लमजुङका परिवार गाँसबासको खोजीमा २०४७ कात्तिकदेखि बाँदरझुलामा बसाइँ सरेका हुन् । उनीहरूको आफ्नै नाममा जमिन छैन । राष्ट्रिय निकुञ्जसँग निरन्तर द्वन्द्व झेलिरहेका छन् । केही साताअघि मात्रै स्थानीय रत्नबहादुर स्याङ्तानलाई घर अगाडि दाउरा चिरिरहेका बेला सेनाले पक्राउ गरेर लग्यो । झन्डै दुई साता थुनामा बसेर उनी साढे आठ हजार रुपैयाँ धरौटीमा छुटे । उनीमाथि राष्ट्रिय निकुञ्जको स्रोत उपयोग गरेको आरोप थियो । केही समयअघि शिवराम प्रजा जंगली भालुको आक्रमणका परेर सख्त घाइते भए । उनी कैयन् दिन अस्पतालमा उपचार गरेर बल्लतल्ल निको भए ।

चितवन राष्ट्रिय निकुञ्जले भने बाँदरझुलालाई निकुञ्जको मुख्य अतिक्रमित क्षेत्रका रूपमा लिँदै आएको छ । जगरामका अनुसार राष्ट्रिय निकुञ्ज भएकै कारण उनीहरूको बस्तीसम्म मोटरबाटो पुग्न सकेको छैन । निकुञ्जका कर्मचारीले उनीहरूलाई ट्र्याक्टरबाट खनजोत गर्न प्रतिबन्ध लगाएको छ । केही महिनाअघि भूमि आयोगले जग्गा वितरण गर्ने भन्ने सुनेपछि उनीहरू सबैले फाराम भरेर वडामा बुझाएका थिए । तर उनीहरूको फाराम वडाबाट माडी नगरपालिकाभन्दा अगाडि बढेन । कांग्रेस नेतृत्वको सरकार आएपछि चितवनकै देवी ज्ञवाली अध्यक्ष रहेको भूमि आयोग खारेज गरिदियो । गत भदौमा सरकारले फेरि अर्को आयोग बनाएको छ । ‘हाम्रो समस्या जस्ताको तस्तै छ,’ जगरामले भने ।

उनीहरूले आफ्नो समस्या स्थानीय सरकारले सुने पनि त्यसउपर सम्बोधन गर्न नसक्ने भएपछि काठमाडौं आउनुपरेको सुनाए । माडी नगरपालिका–९ को कार्यपालिका सदस्यसमेत रहेका जगरामले काठमाडौंले आफूहरूलाई न्याय देला कि भन्ने आशा राखेको बताए । उनीहरूको बसोबास क्षेत्र रहेको बाँदरझुलालाई स्थानीय सरकारले हनुमानझुला भनेर नाम बदलेको छ । आन्दोलनकारीहरूले अयोध्यापुरीमा राम मन्दिर बनाएपछि त्यहाँ हनुमान मन्दिर बनाउने दाउ राखेका छन् । जगरामले भने, ‘भगवान्का कुरा सुन्ने तर जनताको दुःख नदेख्ने यो कस्तो तरिका हो ?’

आइतबार आएका आन्दोलनकारीले माइतीघर मण्डलमा न्यायका लागि आन्दोलनरत् नेपालगन्जका महिला कालो फोम ओछ्याएर भुइँमा बसिरहेको देखे । निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका निम्ति महिनौंदेखि आन्दोलनरत उनीहरूलाई देखेर जगरामले संशय व्यक्त गरे, ‘काठमाडौंमा सजिलै न्याय पाइँदैन क्या हो ?’

प्रकाशित : पुस ५, २०७८ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?