कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
प्रोफाइल

कांग्रेस पदाधिकारीमा ६४ वर्षपछि दलित

काठमाडौँ — मुलुकको सबैभन्दा जेठो पार्टी कांग्रेसको पदाधिकारीमा साढे छ दशकपछि दलित समुदायको प्रतिनिधित्व भएको छ । हालै भएको १४ औँ महाधिवेशनबाट कास्कीका जीवन परियार केन्द्रीय सहमहामन्त्री बनेका छन् । पछिल्ला ६४ वर्षमा दलित समुदायबाट पदाधिकारी बन्ने उनी एक्ला नेता हुन् ।

कांग्रेस पदाधिकारीमा ६४ वर्षपछि दलित

कांग्रेसले नयाँ संविधानको मर्मबमोजिम यो महाधिवेशनबाट पदाधिकारीमै सबै समावेशी समूहको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ । त्यही व्यवस्थाबमोजिम ११ वर्षसम्म केन्द्रीय सदस्य भएर काम गरेका ४७ वर्षे नेता परियार पदाधिकारीमा निर्वाचित भएका हुन् ।

त्यसो त, कांग्रेसको संगठन विस्तारमा स्थापनादेखि नै दलित समुदायका नेताहरूको भूमिका थियो, बीपी कोइराला नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना हुँदा १० सदस्यमध्ये देवब्रत परियार एक थिए । २००५ सालमा सुवर्णशमशेर नेतृत्वको नेपाली प्रजातान्त्रिक कांग्रेसका १२ संस्थापकमध्ये आरबी गहतराज पनि थिए ।

पाँचौँ महाधिवेशनबाट कांग्रेसको पदाधिकारी बन्ने दलित समुदायका पहिलो नेता थिए, धनमानसिंह परियार । त्यसबेला उनले महामन्त्री बनेर करिब ५ वर्ष काम गरे । तर, त्यसपछि भने कांग्रेसको 'टाउको'मा दलित अनुहार कहिल्यै देखिएन । क्षमता भए पनि पार्टीको नेतृत्वपंक्तिले दलित समुदायको प्रतिनिधित्व गराउन नचाहेको नेताहरू बताउँछन् । लामो समयसम्म पार्टी र मुलुकको मूलधारमा उपस्थिति जनाउन नसकेको दलित समुदायबाट परियारले अब कांग्रेसमा प्रतिनिधित्व गर्ने भएका छन् ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा दलित समुदायको जनसंख्या छ, १३.८ प्रतिशत । तर, कांग्रेसले मात्रै होइन, सबैजसो राजनीतिक दलमा दलित समुदायको पहुँच र उपस्थिति न्यून छ । दलहरूले दलित समुदायलाई केवल भोट बैंक बनाउने गरेका छन् । यसपटक कांग्रेसले सबै समावेशी समूहबाट १–१ पदाधिकारी चयन गर्दा दलित समुदायबाट पदाधिकारी १ र सदस्यमा ४ महिलासहित ९ नेताहरू निर्वाचित हुँदैछन् ।

‘कांग्रेसको जीवनमा दलित समुदायको महत्वपूर्ण योगदान छ, कांग्रेसले पनि दलित समुदायका लागि धेरै कामहरू गरेको छ,’ सहमहामन्त्री परियार भन्छन्, ‘तर अझै पनि दलित समुदायको उत्थान र सशशक्तिकरण हुन सकेको छैन, हाम्रो संविधान र कानुनबमोजिम दलितको आर्थिक सामाजिक र शैक्षिक उन्नयनका लागि अझै धेरै काम गर्न बाँकी छ ।’ उनले आफू पार्टीको कार्यकारी भूमिकामा पुगेकाले अब त्यसका लागि थप संघर्ष गर्ने बताए ।

सहमहामन्त्री परियारले कांग्रेसको भ्रातृसंस्था नेपाल दलित संघमा मात्रै २५ वर्ष काम गरिसकेका छन् । उनको पारिवारिक पृष्ठभूमि नै राजनीतिक हो, बहुदल स्थापनापछि भएको पहिलो स्थानीय निर्वाचनमा परियारका पिता वडाध्यक्ष थिए । बाबुको राजनीतिक चेतका कारण दलित समुदायको भए पनि परियारलाई सानैदेखि राजनीतिमा लाग्ने प्रेरणा र हौसला बाबुबाटै मिल्यो ।

०४६ सालपछि नेपाल विद्यार्थी संघमा संगठित भएका परियारले पोखराको पृथ्वीनारायण क्याम्पसमा लामो समयसम्म विद्यार्थी राजनीति गरे ।

०५५ सालमा नेपाल दलित संघ कास्कीको संस्थापक सचिव भएर संगठन विस्तारमा खटेका परियार त्यसपछि संघकै केन्द्रीय प्रचारप्रसार सचिव, केन्द्रीय कार्यसमितिको सचिव र दुई कार्यकाल महामन्त्री भएर काम गरे । ‘मैले सबैभन्दा धेरै समय, मेरो उर्वर समय दलित समुदायकै अधिकारकालागि लड्नमा बिताएको छु, अझै संघर्ष गर्नैपर्ने छ, दलित संघमा मात्रै मैले २५ वर्ष काम गरेँ,’ उनले भने, ‘हामी पार्टीमा दोहोरो भूमिकामा हुन्छौँ, पार्टीमा पनि हाम्रो सक्रियता कम छैन । अनि आफ्नो समुदायको अधिकारका लागि पनि लड्नैपर्ने अवस्था छ, लडिरहेकै छौँ ।’

उनी ०६६ सालमा राष्ट्रिय दलित आयोगको सदस्य सचिव भए । ०७० को संविधानसभामा सदस्य भएर संविधान मस्यौदाको काम गरे । ०७४ को आमनिर्वाचनमा उनी कास्की क्षेत्र नं. १ (क) बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फ उम्मेदवार हुन् । कांग्रेसले प्रदेशसभाका ३३० र प्रतिनिधिसभाका १६५ गरी ४९५ निर्वाचन क्षेत्रमध्ये परियारलाई मात्रै प्रत्यक्षतर्फको टिकट दिएको थियो ।

‘मैले संविधानसभामा समानुपातिकको सीट उपयोग गरेँ, अब म प्रत्यक्षतर्फ नै लड्छु भन्दा पार्टीले प्रदेशसभामा टिकट दियो, मैले पार्टीले दिएको मौकाको उपयोग गरेँ,’ उनी भन्छन्, ‘वाम गठबन्धन भएपछि हामीले देशभरि हार्‍यौँ, मैले पनि हारेँ ।’

उनी पार्टीको ११ औँ महाधिवेशनदेखि कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य हुन् । दलित संघको महासचिव रहँदारहँदै ०६७ सालमा भएको १२ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य निर्वाचित भए । त्यसपछि संघको महासचिवबाट राजनीमा दिएर पार्टीमै सक्रिय भए ।

उनी १३ औँ महाधिवेशनबाट पनि दलित खुलातर्फ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । समाजशास्त्र र राजनीतिशास्त्रमा स्नात्तकोत्तर गरेका परियार कांग्रेसमा दोस्रो पुस्ताका बौद्धिक नेतामध्ये पर्छन् । उनलाई राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन र संविधानको पनि राम्रो ज्ञान छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाको विश्वासपात्रका रुपमा लामो समय काम गरेका उनी १४ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट सहमहामन्त्री उम्मेदवार बनेका थिए ।

उनले ३७ मतले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्मालाई पराजित गरेका हुन् । परियारले २ हजार २१२ मत पाए भने विश्वकर्माले २ हजार १७५ मत पाएका थिए ।

‘म ०४६ सालपछिका सबै राजनीतिक आन्दोलनमा सक्रिय सहभागिता जनाएर आएको छु, कतिपय आन्दोलनको आफैँले नेतृत्व गरेको छु, राष्ट्रियता, लोकतान्त्रिक मूल्यमान्यता, अहिलेको व्यवस्था र संविधानको रक्षाका निमित्त मात्रै होइन, म आफैँ पछाडि परेको दलित समुदायको छोरो हुँ, म यहाँ निर्वाचित हुँदै गर्दा देशभरिबाट साथीहरूले गौरवको महसुस गर्नुपर्ने अवस्था छ,’ परियारले भने, ‘अब कांग्रेसलाई दलितमैत्री पार्टी बनाउने, दलित समुदाय र समग्र नेपालीको सामाजिक, आर्थिक र शैक्षिक जीवन सुधार गर्दै राजनीतिकमा पनि दलित समुदायको सहभागितालाई बढाउने कार्यमा मेरो भूमिका हुन्छ ।’

उनले १४ औँ महाधिवेशनले आफ्नो क्षमताअनुसारको जिम्मेवारी दिएको भन्दै आगामी दिनमा पार्टीभित्रै खुला प्रतिस्पर्धा गरेर नेतृत्वमा जान र पार्टीलाई सबै जातजाति, वर्ग, धर्म र समुदायको पार्टी बनाउन आफू अग्रसर रहने बताए ।

‘म अहिले दलित समुदायभित्रैको प्रतिस्पर्धाबाट सहमहामन्त्री भएँ, तर यहाँ माथिका पदमा बसेर नेतृत्व गर्न नसक्ने भन्ने होइन, हुँदैन । म त्यो क्षमता, आधार र पार्टीले विश्वास गर्ने वातावरण बनाउन प्रयास गर्छु,’ परियारले इकान्तिपुरसँग भने, ‘अब दलित समुदाय पनि राजनीतिक विचार बनाउन सक्ने, नेतृत्व गर्न सक्ने र पार्टीको महामन्त्री, सभापति बन्न सक्ने सक्षमता हामीले बनाउँदै जानुपर्छ ।’

प्रकाशित : पुस ३, २०७८ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?