कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
प्रोफाइल

धनराज गुरुङको राजनीतिक फड्को

‘उहाँ कार्यकर्ताको मन जितेर सभापति बन्नुभयो, त्यसै गरेर म पनि उपसभापति भएको हुँ, अब उहाँले पार्टीको अहित हुने काम गर्दा मैले टुलुटुलु हेरिरहन कसरी मिल्छ र ?,’ उनले भने ।

काठमाडौँ — नेतृत्व परिवर्तन र पुस्तान्तरणको एजेन्डा लिएर प्रतिस्पर्धामा उत्रिएका धनराज गुरुङ कांग्रेसको उपसभापतिमा निर्वाचित भएका छन् । शेखर कोइराला समूहका उनले सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार एवं निवर्तमान उपसभापति विजयकुमार गच्छदारलाई २ मतले पराजित गर्दै उपसभापति बनेका हुन् ।

धनराज गुरुङको राजनीतिक फड्को

कांग्रेसले उपसभापति पदमा पहिलो पटक निर्वाचित गरेको हो । पार्टीको शक्तिशाली सभापतिको अभ्यास गरेको कांग्रेसमा यसअघि सभापतिले आफूले चाहेको व्यक्तिलाई उपसभापति बनाउने वैधानिक व्यवस्था थियो । तर, यसपटक भने सामूहिक नेतृत्व प्रणाली आवश्यक भन्दै कांग्रेसले उपसभापतिमा पनि निर्वाचन गरेको हो ।

गुरुङले अन्य पाँच प्रतिस्पर्धीलाई पराजित गर्दै उपसभापति जितेका हुन् । विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका गुरुङ यसअघि न पार्टीको पदाधिकारी थिए, न राज्यको कुनै कार्यकारी भूमिकामै । पुस्तान्तरणको एजेन्डा लिएर उभिएका उनले १४ औं महाधिवेशनबाट लामो राजनीतिक फड्को मारेका छन् । १२ औं र १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित उनी यो महाधिवेशनबाट सीधै पार्टीको उपसभापति बनेका हुन् । उनी यसअघि आदिवासी जनजातितर्फ आरक्षण कोटामा केन्द्रीय सदस्य बनेका थिए ।

५६ वर्षीय गुरुङ पार्टीमा तेस्रो पुस्तामा गनिन्छन् । १४ औं महाधिवेशनको तयारी गर्दै गर्दा सुरुवातमा उनको दाबी महामन्त्रीमा थियो । त्यसबेला धेरैले आकलन गरेका थिए, उनले आदिबासी जनजातितर्फ सहमहामन्त्री बन्न महामन्त्रीको दाबी गरिरहेका छन् ।

उनलाई समूहले पनि सहमहामन्त्रीकै रुपमा अघि सार्ने तयारी समेत नगरेको भने होइन । तर, अन्तिम समयमा उम्मेदवारी तय गर्दा संयोग यस्तो पर्‍यो कि गुरुङ नै उपसभापतिका उम्मेदवार भए । अलमलकै बीचमा कोइरालाले गुरुङलाई उपसभापतिको उम्मेदवार बनाए, निर्वाचन प्रक्रियामा कोइराला आफैं हारे । तर, गुरुङ भने लोकप्रिय मतसहित विजयी भएका छन् ।

स्याङ्जाका गुरुङ ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाए । उनी आफू राजनीतिमा हुनुको श्रेय आफ्ना माइला दाजु यामबहादुरलाई दिन्छन् । ‘त्यो बेला म १४ वर्षको मात्रै थिएँ । मलाई मेरो माइला दाजुले राजनीतिमा ल्याउनुभयो । हामी पञ्चायत विरोधी सडक आन्दोलनमै होमिएका थियौं, मलाई दाइले नै नेविसंघ बनाउनुभएको हो,’ विहीबार उपसभापतिमा निर्वाचित भएपछि गुरुङले इकान्तिपुरसँग भने । उनका दाजु पनि नेविसंघको राजनीतिमा सक्रिय थिए ।

त्यही आधारमा नेपाल विद्यार्थी संघको जिल्ला सचिव हुँदै केन्द्रीय उपसभापति र ०५३ सालमा केन्द्रीय सभापति भएर देशभरि आफ्नो सम्पर्क सञ्जाल विस्तार गर्न सफल भए ।

नेविसंघ पछि उनले तरुण दलमा पनि काम गर्ने मौका पाए, महामन्त्रीका रुपमा । ०५४ मा तरुण दलको महामन्त्री बनेका उनको सक्रियता पार्टीमा पनि बढ्दै गयो, १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भए । पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फ सांसद भएका उनले त्यो बेला सार्वजनिक लेखा समितिको सदस्य भएर काम गरे ।

विद्यार्थी र तरुण संगठनको नेतृत्व गरेका गुरुङ युवा र विद्यार्थीमाझ त्यहीबेला देखि लोकप्रिय हुन् । पार्टीमा होस् वा राष्ट्रिय राजनीतिका मुद्दामा, उनी आफ्ना कुरा प्रष्टसँग राख्छन्, कुनै पनि प्रसंगमा छिटो र तिखो प्रतिक्रिया जनाउने उनको स्वभाव छ । उनी पार्टीकै नेतृत्वको पनि चर्को आलोचना गरिरहन्छन् ।

चर्को आलोचना र प्रतिरोध गर्ने स्वभावले उनलाई दर्जनौं पटक हिरासतमा पुर्‍यायो । उनी सम्झिन्छन्, ‘दलमाथिको प्रतिवन्ध भएकै बेला म पटक–पटक हिरासत परो । त्यो बेला ती कुराहरू सामान्य पनि थिए । मलाई अझै याद छ, ०४२ सालको सत्याग्रहमा धर्ना दिादा मैले मरणासन्न हुने गरी प्रहरीको कुटाई खाएको छु ।’

संविधानसभामा हुादा गुरुङ एकपटक रातो पासपोर्ट किनबेचको विषयमा विवादमा मुछिए । तर, त्यो मुद्दामा उनी पछि निर्दोष प्रमाणित भए ।

०२२ सालमा स्याङ्जाको सामान्य परिवारमा जन्मिएका उनी आफूले मुलुक, जनता र पार्टीको हित विपरीत कुनै कार्य नसक्ने दाबी गर्छन् । ‘म सामान्य परिवारको मान्छे हुँ । मेरा व्यक्तिगत धेरै सपना र महत्वाकांक्षा पनि छैनन् । मेरो यहाँसम्मको राजनीति पनि मेरो दाजुभाइ, दिदी, आमा र माया गर्ने शुभेच्छुकको भरमा हो,’ उनले भने, ‘म त गाउँमा दु:खसुख र संघर्ष गरेर आएको मान्छे हुँ । मेरा हातहरू पनि गोबरले लतपतिएका छन्, घाँस काटेरै आएका हुन् ।’

पार्टीको पहिलो निर्वाचित सभापतिका रुपमा बधाई थाप्दै गर्दा विहीबार उनले आफूलाई सामान्य अवस्थाबाट उठेर आएको नेताकारुपमा परिचित गराउने प्रयास गरिरहेका थिए । उनले आफ्नो राजनीतिक जीवन सञ्चालनको स्रोतबारे पनि खुलाइहाले । ‘मेरा ४ दाजुभाइ छन्, दिदी हुनुहुन्छ । बुवाको पेन्सन, दाजुभाइ र दिदीको मायालु साथबाट मैले आफ्नो राजनीतिक करियरलाई यहाँसम्म पुर्‍याएको हुँ,’ उनले भने, ‘धेरै भड्किलो राजनीति गर्न सक्ने आर्थिक हैसियत मेरो होइन, रहर पनि छैन ।’

उनले पार्टीको यो महाधिवेशनले पुस्तान्तरणको थालनी गरेको बताए । ‘पार्टीको एउटा पुस्ता छ, जो राजनीतिलाई विलासिताको बस्तु ठान्छ । मुलुक र जनताभन्दा माथि नेताहरूले आफ्नो स्वार्थलाई राखेका छन्,’ उनले भने, ‘मलाई त यस्तो विलासिताको भोक छैन । हामी पार्टीमा न कुनै भाग माग्छौं, न कुनै गुटबन्दी गर्छौं।’

उपसभापतिमा निर्वाचित गुरुङले आफू विद्यार्थी राजनीतिबाट आएपनि पार्टीको उपसभापतिको भूमिकामा जिम्मेवार र संवेदनशील भएर प्रस्तुत हुने बताए । ‘म विद्यार्थी राजनीति गरेर आएको हुँ । मसँग त्यो स्वभाव अझै पछि छ, विद्यार्थी राजनीतिमा आफू बढी ऊर्जाशील हुनुपर्छ । म देशकालागि मर्न पनि तयार छु भन्ने भावना आउँछ,’ उनले भने, ‘अब पार्टी राजनीतिमा त्यसरी काँचो सोचेर मात्रै पनि हुदैन, अब थप जिम्मेवार र संवेदनशील भएर काम गर्छु ।’ उनले पार्टीको नेतृत्वमा पनि आफूले विद्यार्थीकै झैं ऊर्जा र जाँगर थपेर काम गर्ने प्रतिवद्धता जनाए ।

उपसभापति गुरुङले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई विधान र पद्धतिको बाटोमा अघि बढाए आफूले सधैं सहयोग गर्ने बताए । तर, पार्टी र कार्यकर्ताको अहित हुने कार्यमा आफू खरो भएर प्रस्तुत हुने उनको भनाइ थियो । ‘हामी पार्टीभित्र लोकतान्त्रिक अभ्यास गर्छौं । यो महाधिवेशनमा हामी नेतृत्व परिवर्तनको पक्षमा थियौं ।

तर, उहा‌ँ नै पार्टीको सभापति बन्नुभयो, त्यो समूह वा गुट भन्ने कुरा चुनाव लडुन्जेल मात्रै हो, अब त उहाँ हाम्रो पनि सभापति हो,’ उनले भने, ‘अब उहााले कसैलाई काखा वा पाखा गर्न मिल्दैन । सबै कार्यकर्तालाई कार्यक्षमताको मुल्यांकन गरेर उपयुक्त ठाउँ दिनुपर्छ ।

उहाँले पार्टीको विधानबमोजिम सबै कार्यकर्ताको भावनालाई समेट्नुभयो भने हामीले असहयोग गर्ने कुरै छैन ।’ तर, देउवाले पार्टीको अहित हुने काम गरेमा त्यसका विरुद्ध संघर्ष गर्ने उनको उद्घोष छ । ‘उहाँ कार्यकर्ताको मन जितेर सभापति बन्नुभयो, त्यसै गरेर म पनि उपसभापति भएको हुँ, अब उहाँले पार्टीको अहित हुने काम गर्दा मैले टुलुटुलु हेरिरहन कसरी मिल्छ र ?,’ उनले भने ।

प्रकाशित : पुस १, २०७८ ०६:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?