कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

रासस

काठमाडौँ — राज्यले आफ्ना नागरिकको सुविधाका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता वितरणमा नै अनियमितता हुने गरेको पाइएको छ । ज्येष्ठ नागरिक, असहाय विधवा, अशक्त, अपाङ्गता भएका नागरिक र दलित ज्येष्ठ नागरिकलाई वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता वितरण गरेको भन्दै फर्जी कागजात बनाएर भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

यसरी दुरुपयोग हुँदोरहेछ सामाजिक सुरक्षा भत्ता

महोत्तरीको साविक नमूना गाउँ विकास समितिको कार्यालय गौशालाका तत्कालीन सचिव नागेश्वर रायले आफैँले हस्ताक्षर गरी राज्यले उपलब्ध गराएको रकम बुझ्ने गरेको अनुसन्धानमा खुलेको छ । आर्थिक वर्ष २०६७/०६८ मा जिल्ला विकास समितिको कार्यालय जलेश्वरले उपलब्ध गराएको रकम दुरुपयोग गरेको आयोगको ठहर छ ।

भर्पाइको बुझी लिनेको सहीछाप महलमा आफैँले र अरु व्यक्तिलाई समेत औँठाछाप गर्न लगाई १२ लाख ८६ हजार ८०० रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । आयोगले तत्कालीन सचिव नागेश्वरविरुद्ध बिगोबमोजिमको कारबाहीको माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

यस्तै, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय लहानमा कार्यरत लेखा प्रमुख विष्णुप्रसाद गुप्ताविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मिटररिडर पदबाट अनिवार्य अवकाश पाएका धनपति ठाकुर र हेल्पर सत्यनारायण साहले पाउने रकममा बदमासी गरेको पाइएको छ ।

गुप्ताले ठाकुरको नामको आठ लाख सात हजार ३६० रुपैयाँको चेक आफ्नै खातामा जम्मा गर्न लगाएको र सत्यनारायण साहको एक लाख २४ हजार २०० रुपैयाँ बराबरको चेक कार्यालय सहायकलाई सटही गर्न लगाई आफैँले लिएको तथा बीमाबापतको रकम पाउँदैनौं भन्दै पदीय दुरुपयोग गरेको आयोगको अध्यनबाट पुष्टि भएको छ ।

बीमाबापतको रकम नदिने मनसायका साथ लेखा प्रमुखले भ्रष्टाचारजन्य गतिविधि गरेको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी गलत विवरण पेश गरी शिक्षक सेवा आयोगको प्राथमिक तह तृतीय श्रेणीको खुल्ला परीक्षामा सहभागी भई नियुक्त समेत भएको र सरकारी स्रोतको दुरुपयोग गरेको अभियोगमा मनकला चौलागाईं आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आचार्यले तलब भत्ताबाट लिएको छ लाख ७४ हजार ५११ रुपैयाँ बराबरको बिगो कायम गरी मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

प्रकाशित : मंसिर २८, २०७८ २२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?