कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

अब सिंह, निधि र गुरुङ निर्णायक

दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू

काठमाडौँ — कांग्रेस सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ निर्णायक बनेका छन् । सोमबार भएको निर्वाचनमा सभापति शेरबहादुर देउवाले पहिलो र अर्का प्रत्यासी शेखर कोइरालाले दोस्रो भोट पाएपनि बहुमत पुर्‍याउन सकेनन् ।

अब सिंह, निधि र गुरुङ निर्णायक

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ । यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

त्यसआधारमा अब देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुनेछ । यस्तोमा पहिलो चरणको निर्वाचनमा तेस्रो, चौथो र पाँचौ भएका सिंह, निधि र गुरुङ निर्णायक बन्ने देखिएका छन् ।

पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत प्राप्त गरेका छन् भने कोइरालाले १७०२ मत पाएका छन् । देउवा र कोइरालाका बीच ५५६ को मतान्तर छ ।

जबकि सिंहले ३७१, निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन् । सिंह, निधि र गुरुङको मत जोड्दा ६४३ मत हुन्छ । जबकि जितका लागि देउवालाई ८२ मत र कोइरालालाई करिब छ सय मत आवश्यक पर्छ ।

महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।

देउवाले पहिलो चरणमै ५० प्रतिशत कटाएर जित निकाल्ने रणनीति अपनाएका थिए । त्यसैका लागि उनले पहिलो चरणमै नेता कृष्णप्रसाद सिटौलासँग समीकरण गरेर प्यानल बनाएका थिए । तर, झिनो मतले उनले बहुमत पुर्‍याउन सकेनन् ।

कोइराला भने चुनावलाई दोस्रो चरणमा लैजाने र परिणाम आफ्नो पक्षमा पार्ने दाउमा छन् । सिंह र निधिले पनि चुनाव दोस्रो चरणमा पुगेको अवस्थामा आफूहरूको भूमिका अर्थपूर्ण देखेका थिए ।

निधिले यसअघि नै आफूहरूले कोइरालालाई सहयोग गर्ने घोषणा गरिसकेका छन् । ‘चुनाव दोस्रो चरणमा जान्छ, प्रकाशमानजी, म र शेखरजी मिल्छौँ, दोस्रोचरणबाट नेतृत्व परिवर्तन हुन्छ,’ उनले भनेका थिए ।

त्यस्तै, प्रकाशमान सिंहले पनि सोमबार मतदान गरेर बाहिरिदै गर्दा आफू नेतृत्व परिवर्तनको पक्षमा रहेको बताएका थिए ।

दोस्रो चरणमा निर्वाचन हुने भएपछि नेताहरूबीच दौडधुप सुरू भएको छ ।

देउवा जित आफ्नो पक्षमा पार्न सिंह वा निधिलाई आफ्नो पक्षमा पार्न सके पुग्नेछ । तर, कोइरालाका लागि देउवाबाहेक सबैका बीचमा एकता गर्नुपर्ने आवश्यक देखिएको छ ।

पछिल्ला महाधिवेशनमा कांग्रेसमा निरन्तर जसो दुई भन्दा धेरै उम्मेदवार छन् । त्यस्तोमा १३ औँ महाधिवेशनमा रामचन्द्र पौडेल नेतृत्वको तत्कालीन संस्थापन समूहमा फुट आउँदा त्यसको फाइदा देउवालाई पुगेको थियो ।

१३ औँ महाधिवेशनमा सभापतिका प्रत्यासी शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए । दुई चरणको निर्वाचनबाट मात्रै परिणाम देउवाको पक्षमा आएको थियो ।

त्यसबेला ३१४८ मत खसेको थियो, पहिलो चरणमा देउवाले ११ भोटले बहुमत पुर्‍याउन सकेका थिएनन् । त्यसबेला देउवाले १५६४, पौडेलले ११६० र सिटौलाले ३२४ भोट पाएका थिए । जबकि सभापति जित्नका लागि १५७५ मत ल्याउनुपर्ने थियो ।

देउवाले दोस्रो चरणमा सिटौलालाई आफ्नो पक्षमा पार्न सफल हुँदा १० औँ महाधिवेशनदेखि निरन्तर सभापतिमा प्रतिस्पर्धा गर्दै आएका उनी कांग्रेसको सभापतिमा चुनिएका थिए ।

दोस्रो चरणमा ३१६१ भोट खसेको थियो, देउवाले १८२२ र पौडेलले १२९६ मत पाएका थिए, मतान्तर ५२६ थियो ।

अर्थात् १३ औँ महाधिवेशनमा देउवा र सिटौला समीकरण बन्दा देउवाले करिब ५८ प्रतिशत मत पाएका थिए । दोस्रो चरणमा जाँदा पहिलो चरणमा भन्दा देउवालाई २५८ मत थपिएको थियो, पौडेललाई १३६ मत थपिएको थियो ।

प्रकाशित : मंसिर २८, २०७८ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?