असावधानीले जलनको सिकार
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — बर्दियाका ललिचन्द थारू दम्पतीका तीनवर्षे छोरा खेल्दाखेल्दै तातोपानीको भाँडोमा डुबे । एकैछिनमा दुवै खुट्टामा पानीका फोका उठे । फोका फुटेर घाउ पाक्न थालेकाले तीन दिनपछि उनलाई नेपालगन्जको भेरी अस्पताल पुर्याइयो । जलनको उपचार गर्न नसक्ने भन्दै त्यहाँबाट कीर्तिपुर अस्पताल रेफर गरियो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![असावधानीले जलनको सिकार](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2021/miscellaneous/kirtipur-balbalika-14122021021824-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
अस्पतालका अनुसार बालकको दुवै खुट्टाको आठ प्रतिशत भाग जलेको छ । सामान्य खेतीपाती, मजदुरी गरेर जीविका चलाइरहेको थारू परिवार सानो असावधानीले गर्दा धेरै खर्च गर्नुपरेकोमा पछुताइरहेको छ । ‘ऊ चकचके नै हो, तातोपानी छोपेर नराखेपछि लापरबाही हाम्रै हो,’ बुबा ललिचन्दले भने, ‘एक लाख खर्च भइसक्यो ।’
***
स्वयम्भूको ढल्कु बस्ने सुरक्षा दाहाल ६ वर्षकी छोरीलाई बेलुन खेलाउन दिएर फुल्याउँदै थिइन् । भान्सा कोठाको ग्यास लिकेज भएर पड्केपछि छोरीको अनुहार र हात जल्यो । सुरुमा उनीहरूले क्षेत्रपाटीको अस्पताल लगे, त्यहाँबाट वीर अस्पताल पुर्याए । वीरले महाराजगन्जको त्रिवि शिक्षण अस्पतालमा रेफर गर्यो । शिक्षणले कीर्तिपुर पठाइदियो । उनको अनुहार र दुवै हात गरेर ३.५ प्रतिशत भाग जलेको छ । घाउ बिस्तारै सुधार हुँदै छ । निधार र हातमा गहिरो चोट लागेकाले चिकित्सकहरूले थप केही समय अस्पताल बस्नुपर्ने भनेका छन् । खाना पकाइसकेपछि ग्यास चुलो बन्द गरे पनि रेगुलेटर बन्द गर्दैनथे । ‘दुई दिनअघि ल्याएको ग्यास अचानक पड्कियो, लिकेज भएको थाहै भएन,’ सुरक्षाले भनिन्, ‘रेगुलेटर मात्रै नियमित बन्द गरे यति ठूलो क्षति र खर्च नहुने रहेछ भन्ने अब थाहा भयो ।’
अभिभावकको असावधानीले बालबालिका जलनको सिकार भइरहेका यी प्रतिनिधिमूलक घटना हुन् । ‘बढीजसो बालबालिका तातोपानी, खोलेको भाँडो, अँगेनोमा परेका छन्, तातो चीज छ भनेपछि अभिभावकले बिर्को लगाइदिने, केटाकेटीले नभेट्ने ठाउँमा राख्ने गरे बालबालिकाले अनाहकमा जलन खप्नुपर्दैन थियो,’ कीर्तिपुर अस्पतालका प्लास्टिक सर्जन शंकर राई भन्छन्, ‘ग्यास रेगुलेटर बेलाबेला चेक गरिरहनुपर्यो, इलेक्ट्रिक सर्ट हुन नदिन सावधानी अपनाउनुपर्यो ।’ गत साउनमा ओखलढुंगाको मानेभन्ज्याङस्थित एक गोठमा ४ वर्षकी बालिकाले लाइटर खेलाउँदा आगलागी हुँदा जलेर उनको मृत्यु भएको थियो ।
साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालकी सर्जन रोजिना शिल्पकारका अनुसार आगोको ज्वाला, तातो झोल, तातो वस्तुको सम्पर्कबाट हुने पोलाइ, विद्युतीय झट्का र रासायनिक पदार्थ छोइएर हुने चोटलाई ‘जलन’ भनेर बुझिन्छ । नेपालमा जलनको समस्या जाडो मौसममा बढी हुन्छ । अस्पतालमा मासिक १५ देखि २० जना जलनका बालबालिका आइपुग्छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्ष (२०७७ मंसिर १५ देखि २०७८ मंसिर १४ सम्म) आगलागीबाट देशभर ४ सय ८९ मानवीय क्षति (घाइते र मृत्यु) भए । जसमध्ये ग्यास लिक भएर तथा पड्केर ८९, इलेक्ट्रिक सर्ट भएर २२ गरी १ सय ११ जना जलनबाट घाइते र मृत्यु भए । प्राधिकरणको तथ्यांकले एक वर्षमा १५ भन्दा बढी बालबालिका अभिभावकको असावधानीका कारण जलनको सिकार भएको देखाएको छ ।
३० प्रतिशतभन्दा बढी जलेका बालबालिकालाई निको बनाउन गाह्रो हुने चिकित्सक बताउँछन् । अभिभावकले सावधानी अपनाउने हो भने ८० प्रतिशतभन्दा बढी जलन रोक्न सकिने उनीहरूको भनाइ छ । जलनको उपचार खर्च अरू रोगको तुलनामा महँगो हुन्छ । हालै प्रकाशित ‘द कस्ट अफ इन्पेसेन्ट बर्न म्यानेजमेन्ट इन नेपाल’ जर्नलमा भनिएको छ, ‘जलेको उपचारका लागि प्रतिबिरामी लागत औसत २ लाख ६० हजार २ सय ७० पर्छ, यो नेपालीको औसत प्रतिव्यक्ति आयभन्दा दोब्बरले बढी हो ।’
प्रकाशित : मंसिर २८, २०७८ १२:४२