कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

मतपत्र नआउँदा मतदानमा ढिलाइ

काठमाडौँ — कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा बिहान ८ बजे हुने भनिएको मतदान दुई घन्टा बितिसक्दा पनि सुरु हुन सकेको छैन । बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि मतपत्र आउन ढिलाइ भएकाले मतदानको कार्यक्रम केहीबेर पछि सरेको निर्वाचन समिति सदस्य तेज रावलले बताए ।

मतपत्र नआउँदा मतदानमा ढिलाइ

'मतपत्र भर्खरै आएकाले हस्ताक्षर गरेर मतदान सुरु हुनेछ । मतपत्र भर्खरै आयाे', रावलले भने । उनका अनुसार अबकाे आधा घण्टामा मतदान सुरु हुनेछ ।

प्रतिनिधिहरु बिहान ८ बजेअघि नै मतदानस्थलमा लामबद्ध थिए । यतिबेला मतदानस्थलमा सभापतिका उम्मेदवारहरू राष्ट्रिय सभागृहमा आउने क्रम सुरु भएको छ ।

कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले सोमबार मतदान गर्दै छन् । उनीहरूको मतबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्रीसहित १३ पदाधिकारी र १ सय २१ सदस्य निर्वाचित हुनेछन् । यही टिमले आगामी तीन तहका निर्वाचनमा कांग्रेसको नेतृत्व गर्नेछ भने पाँच वर्षसम्म नेपाली राजनीतिलाई प्रभावित गर्नेछ ।

शीर्षस्थ नेतृत्वका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । तर प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेमा शीर्ष दुईबीच प्रतिस्पर्धा हुनेछ । त्यसैले सिंह र निधि पहिलो चरणलाई अनिर्णीत बनाउन सके दोस्रो चरणमा आफूहरूको भूमिका सार्थक हुनेमा आशावादी छन् ।

प्रकाशित : मंसिर २७, २०७८ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?