कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारत भासिँदै चितवनका गैंडा

बिहारको वाल्मीकि टाइगर रिजर्भमा गैंडाको संख्या २३ पुगेको दाबी
रमेशकुमार पौडेल

चितवन — भारतीय अनलाइन ‘ लाइभ हिन्दुस्तान’ ले मंसिर १३ मा बिहारको वाल्मीकि टाइगर रिजर्भ(भीटीआर) मा पर्यटकले बाघसँगै गैंडा पनि देख्न पाउने भन्दै समाचार प्रकाशन गर्‍यो । भीटीआरसँग नेपालको अन्तर्राष्ट्रिय सिमाना मात्रै नभएर चितवन राष्ट्रिय निकुञ्ज पनि जोडिएको छ ।

भारत भासिँदै चितवनका गैंडा

नवलपुरको त्रिवेणीधाम पारि छ भीटीआर । पहिला त्यहाँ गैंडा थिएनन् । अहिले २३ वटा पुगेको समाचारमा उल्लेख छ । भीटीआरमा सन् १९९५ अघि गैंडा रहेको अभिलेख छैन । त्यसपछि नेपालकै गैंडा जाने–आउने गर्न थाले ।

अहिले भीटीआरले बासस्थल सुधार गरेर गैंडाका लागि अनुकूल बनाएपछि नेपालबाट गएका गैंडा नफर्कने समाचारमा दाबी छ । नेपालका संरक्षण अधिकारीहरू समाचारमा भनिएजति नभए पनि यताका गैंडा जाने गरेको स्विकार्छन् । ‘गैंडाको संख्या यता नेपालमा बढेको छ । उता भारततिर गैंडा त खासै छैनन् तर बासस्थल राम्रो बनाउने गरेका छन् रे भन्ने छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले भने ।

चितवन निकुञ्जको पश्चिम क्षेत्रका गैंडा बाढी आउँदा बगेर भारतसम्म पुग्ने गरेका छन् । २०७४ साउन २३ मा बाढीले बगाएर थुप्रै गैंडा भारत पुगे । त्यो वर्ष बगेर गएका सात वटालाई तत्कालै उद्धार गरेर चितवन निकुञ्जको पूर्वी क्षेत्रमा ल्याएर छाडिएको थियो ।

त्यो बेला भारत पुगेका गैंडा उद्धार गर्न सजिलै सकिन्थ्यो । पछिल्लो समय त्यस्तो छैन । गैंडा भारत गएका रहेछन् भने पनि पर्खेर नेपालतर्फ आएका बेला मात्रै निकुञ्ज क्षेत्र पठाउनुपर्छ । गत वर्ष पनि केही गैंडा बगेर भारत र नेपालको सुस्ता वरपरसम्म पुगे । तर उद्धार यो वर्ष मात्रै भयो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार पछिल्लो पटक गत सोमबार अन्दाजी ६ वर्षको एउटा भाले गैंडाको उद्धार गरिएको छ । भारतसँग सिमाना जोडिएको विनयी त्रिवेणी गाउँपालिका–६ बाट फर्काएको गैंडा सौराहा ल्याएर छाडिएको छ । केही महिना पहिले उद्धार गर्न टोली पुगे पनि भारततर्फ भागेका कारण कहिले फर्कला भनेर कुर्नुपरेको थियो ।

गैंडा विषयमा विद्यावारिधि गरेका राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का कार्यक्रम व्यवस्थापक नरेश सुवेदी निकुञ्जको पश्चिम क्षेत्रका गैंडा बाढी आएर बगेर त्रिवेणी र भारतीय क्षेत्रमा पुग्ने जोखिम रहेको बताउँछन् । निकुञ्जको पश्चिमी सिमाना त्रिवेणी क्षेत्रमा गैंडाका लागि उपयुक्त बासस्थल र चरनको अभाव छ । त्यसैले बगेर गएका गैंडा भीटीआरतर्फ लोभिन सक्छन् ।

चितवन निकुञ्जको पश्चिम क्षेत्र सुखीभार, चिसापानी र भिम्ले फाँटमा अत्यधिक गैंडा छन् । गत वर्ष चैत्र २८ मा सार्वजनिक गणना नतिजाअनुसार नेपालभर ७ सय ५२ गैंडा थिए । चितवन निकुञ्ज र आसपासको वन क्षेत्रमा मात्रै ६ सय ९४ वटा गैंडा भेटिएका थिए । ९ सय ५२ वर्गकिलोमिटर क्षेत्रफलको चितवन निकुञ्जमा गैंडाको संख्या सबै क्षेत्रमा समान नभएर कुनै खास क्षेत्रमा मात्रै धेरै छ । निकुञ्जको सुदूर पूर्व र पश्चिममा निकै थोरै गैंडा छन् ।

निकुञ्जको पूर्वी सिमाना रमौली प्रतापपुर र हर्दा क्षेत्रमा जम्मा एउटा गैंडा भेटिएको थियो । पश्चिम सिमाना भेलौंजी, त्रिवेणीमा तीनवटा भेटिए । पूर्वी क्षेत्रको बीचमा पर्ने अर्मिते, कुमरोज र भीमपुर, डुमरिया क्षेत्रमा पनि गैंडा छन् । तर कसरादेखि पश्चिम लागेपछि ४ सय १० वटा गैंडा भेटिएको निकुञ्ज कार्यालयले त्यो बेला उपलब्ध गराएको विवरणमा उल्लेख छ । पश्चिम क्षेत्रमा रिउ, राप्ती जस्ता ठूला खोला र नारायणी नदी नै रहेकाले वर्षामा बाढी आउदा गैंडाहरू बगेर त्रिवेणी पुग्ने गर्छन् । त्यसरी बगेर भारतसम्म पुगेका र त्रिवेणी क्षेत्रबाट २०७४ भदौदेखि हालसम्म १४ वटा गैंडाको उद्धार भएको छ । बाढीले बगाएर नेपालको सीमाबाट ४२ किलोमिटर पर भारतको बगाहासम्म पुगेका गैंडाको विगतमा उद्धार भएको थियो ।

पछिल्ला वर्षहरूमा कसरा पश्चिममा संख्याको चाप छ । निकुञ्जको सबै क्षेत्रमा बासस्थल राम्रो बनाउनुका साथै पश्चिममा रहेका धेरै गैंडा निकुञ्जकै पूर्वी क्षेत्रमा सार्न (स्थानान्तरण गर्न) उपयुक्त हुने गैंडा अध्ययनकर्ता नरेश सुवेदीले बताए । ‘बाढीमा बग्ने खतरा छँदै छ । जुध्ने र अन्य तरिकाले पनि हानि हुने जोखिम रहन्छ । पूर्वी क्षेत्रमा पश्चिमका गैंडा ल्याएर राख्दा उपयुक्त हुने देखिन्छ,’ सुवेदीले भने । चितवनबाट गएका गैंडा भारत पुगेमा त्यहाँ राम्रो बासस्थलमा बस्न थाले उद्धार गर्ने या फर्काउने भन्ने हुँदैन । गैंडालाई अन्तर्राष्ट्रिय सिमानाको बारबेर छैन ।

प्रकाशित : मंसिर २७, २०७८ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?