कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोट माग्न पुरानै शैली, मतदाता हैरान

‘जसले फोन गरे पनि जितेपछि हामी सहयोग गर्छौं न्न छाडेका छैनन् । सहयोगचाहिँ के गर्ने हुन् उनैलाई थाहा छैन ।’
मकर श्रेष्ठ

काठमाडौँ — जुम्लाकी गीता शाही आइतबार दिनभर मोबाइलमै व्यस्त भइन् । कहिले ‘उम्मेदवारको सचिवालयबाट’ भन्दै फोन आउँथ्यो, कहिले उम्मेदवार आफैंले फोन गर्थे । मोबाइलमा ‘टेक्स्ट र भ्वाइस म्यासेज’ पनि बारम्बार आइरह्यो । सबैको आग्रह एउटै हुन्थ्यो– ‘प्रतिनिधि हुनुभएकामा बधाई । मलाई भोट दिनुस् है ।’ उनले सबै उम्मेदवारको एजेन्डा भने सोधिन् ।

भोट माग्न पुरानै शैली, मतदाता हैरान

कांग्रेसको १४ औं महाधिवेशनमा जुम्लाबाट महाधिवेशन प्रतिनिधि चुनिएकी उनलाई उम्मेदवारहरूले कर्णालीको विकासमा पनि योग्दान दिने भन्दै लोभ्याउन भ्याए । तर जुनसुकै उम्मेदवारले जिते पनि कर्णालीको दुःखमा साथ पाउनेमा भने उनलाई रत्तिभर विश्वास छैन ।

‘जसले जिते पनि हुनेचाहिँ केही होइन । प्रतिनिधि भएर आएपछि भोट त हाल्नै पर्‍यो,’ उनले निराशा प्रकट गरिन्, ‘जसले फोन गरे पनि जितेपछि हामी सहयोग गर्छौं भन्न छाडेका छैनन् । सहयोगचाहिँ के गर्ने हुन् उनैलाई थाहा छैन । अहिले नै नेताहरू कुर्सीका लागि हानथाप गरिरहेका छन् ।’

उम्मेदवारको लगातारको फोनले हैरान भएपछि दार्चुलाका वासुदेव सिंह ऐतवालले फोन उठाउनै छाडेको सुनाए । ‘जसको फोन आए पनि भोट माग्न गरेजस्तो लाग्छ, मैले त फोन उठाउनै छाडिदिएको छु । उठाइहाले पनि महाधिवेशनस्थलमै आउनुस्, भेटेरै कुरा गरौंला भन्ने गरेको छु,’ उनले भने ।

दोलखाबाट महाधिवेशन प्रतिनिधि बनेर आएकी छिरिङ डोल्मा शेर्पालाई महाधिवेशन स्थलमा प्रचारमा देखिएको तडकभडकबाट दिक्क लागेको छ । ‘जता हेर्‍यो कागजैकागज मात्रै देखिन्छ । प्रविधिको जमानामा किन नयाँ उपाय नअपनाएको होला ? म्युजिकबाट, नाचगान गरेर पनि भोट माग्न सकिन्थ्यो होला । पुरानै शैली अपनाएका छन्,’ उनले असन्तुष्टि पोखिन् । महाधिवेशन स्थल प्रदर्शनीमार्ग मात्रै नभई पुतलीसडक, बागबजार, घण्टाघर, सहिदगेट, सुन्धारा, त्रिपुरेश्वर क्षेत्रमा पनि उम्मेदवारको ब्यानर, पोस्टर टाँसिएको छ । आकाशे पुलहरूमा टाँसिएको पार्टीको स्वागत ब्यानरमाथि उम्मेदवारको फ्लेक्स छ ।


उम्मेदवारहरूले भोट माग्दा अपनाइरहेको शैलीमा भने केही फरक अनुभव गरेको शेर्पाले बताइन् । ‘युवा उम्मेदवारले पार्टी रूपान्तरणका लागि एकताबद्ध हुन, यसअघि बूढापाकाले पार्टी बिगारे अब हामीले बनाउनुपर्छ भन्दै भोट दिनुस् भनिरहेका छन् । बूढापाकाले यसपालि अन्तिम पटक हो, भोट दिनुस् है भन्छन्,’ उनले सुनाइन् । भोट माग्न कतिपय उम्मेदवारले गीत नै बनाएका छन् भने कतिपयले सचिवालय नै खडा गरी फोन र सामाजिक सञ्जालको भरपूर प्रयोग गरिरहेका छन् ।

डोटीका पुष्पकुमार शाहीलाई उम्मेदवारहरूले पार्टीलाई संगठित, गतिशील र सशक्त बनाउँछु भन्दै भोट मागिरहेका छन् । ‘राम्रा काम गर्नेलाई पुरस्कृत गर्ने, नराम्रो गर्नेलाई दण्डित गर्ने, कसैलाई काखा र पाखा गर्दैनौं भन्दै भोट दिनुस् भन्छन्,’ उनले भने । धेरैजसो नेताले सचिवालयबाट सहयोगीलाई फोन गर्न लगाउने गरेको उनले सुनाए । उसो त उनले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए तर आइतबार फिर्ता लिए । उक्त निर्णयमा पुग्नुअघिसम्म उनले १० हजार कार्ड छपाइ गरिसकेका थिए । जसमा ४० हजार रुपैयाँ खर्च भएको उनले सुनाए । ‘घाँटीमा झुन्ड्याउने कार्ड बनाउन ४ हजार, प्रतिनिधिलाई म्यासेज गर्न ३० हजार रुपैयाँ खर्च गरिसकेको थिएँ । काठमाडौंमा सहयोग गर्न आउनेलाई जहाज भाडा, खाने, बस्ने खर्च पनि भइहाल्यो,’ उनले भने, ‘जम्मा कति खर्च भयो भन्ने यकिन हिसाब निकालिसकेको छैन ।’

पार्टीको चुनाव पनि खर्चिलो बन्दै गएको भन्दै उनले चिन्ता जनाए । ‘सामान्य व्यक्तिले अब पार्टीमा पनि चुनाव लड्न गाह्रो हुने देखियो,’ उनले भने, ‘एउटा उम्मेदवारको कम्तीमा ५ लाख र सरदरमा १० लाख रुपैयाँ खर्च भएको देखिन्छ,’ उनले भने । उनकै भनाइलाई आधार मान्दा प्रतिउम्मेदवारको खर्च ५ लाख मात्रै राख्दा कुल ५ सय १ उम्मेदवारको चुनावी खर्च २५ करोड रुपैयाँभन्दा बढी हुने देखिन्छ । प्रचारप्रसारको खर्च उम्मेदवारअनुसार फरक पर्ने उनको अनुभव छ । ‘नाम चलेको उम्मेदवारलाई सहयोग आउन सक्छ । व्यक्तिगत खर्च कम हुन सक्छ,’ उनले भने, ‘सहयोगीकै खर्चमा चुनाव जित्न पनि सक्छन् ।’

रूपन्देहीका राधेश्याम चौधरीले महाधिवेशन स्थलमा उम्मेदवार र उनका सहयोगीले गरेको प्रचारप्रसार आमनिर्वाचनको भन्दा कम नभएको औंल्याए । उनी ठमेलस्थित एक होटलमा बसेका छन् । दिनमा मात्रै नभई रातभरि पनि म्यासेज र फोनले दिक्क लगाएको उनले सुनाए । ‘जसले फोन गर्छन्, सबैलाई भोट दिन्छु भनेको छु । किनभने सबै कांग्रेसकै साथी हुन् । कसै न कसैलाई भोट दिनैपर्छ, दिएरै घर जाने हो,’ उनले भने ।

सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयबाट पनि मत माग्दै ताप्लेजुङकी प्रतिनिधि माला पालुङ्वालाई फोन आयो । ‘उम्मेदवारी दिएको छु, जितेपछि सबै क्षेत्रलाई समेट्छु, मलाई अमूल्य मत दिनुस् भनेर फोन र म्यासेज गर्ने अनेक छन्,’ उनले भनिन् । मालालगायत ताप्लेजुङका प्रतिनिधिलाई गौशालामा राखिएको छ । उनका अनुसार पार्टी जिल्ला कमिटीले आइतबार भने सबैलाई होटलमै बस्न आग्रह गरेको छ । सोमबार हुने निर्वाचनमा कसलाई मत दिने भनेर होटलमै छलफल हुने उनले बताइन् ।

प्रकाशित : मंसिर २७, २०७८ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?