बारले ओलीलाई भन्यो - प्रधानन्यायाधीश र न्यायाधीशहरूबारे संसदीय समितिमा छलफल गरियोस्- समाचार - कान्तिपुर समाचार

बारले ओलीलाई भन्यो - प्रधानन्यायाधीश र न्यायाधीशहरूबारे संसदीय समितिमा छलफल गरियोस्

कान्तिपुर संवाददाता

काठमाडौँ — वरिष्ठ अधिवक्ता शम्भु थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कुनै हालतमा नमान्ने बताएका छन् । मंगलबार बालकोटस्थित ओली निवास पुगेको बारको टोलीको तर्फबाट धारणा राखेका थापाले उक्त कुरा राखेका हुन् । 

'अदालतमा अति भएको छ । प्रधानन्यायाधीशलाई देउता, इश्वर मान भनेर सबै दलले भने पनि हामी मान्ने अवस्थामा छैनौं,' थापाले भने । उनले प्रधानन्यायाधीश र न्यायाधीशबारे संसदीय समितिहरूमा छलफल चलाउनका लागि पनि प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् । 'यो विषयमा प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई ल्याएर संसदीय समितिमा छलफल चलाइयोस्,' उनले भने ।

राजनीतिक दलहरूले जनताबाट प्राप्त सार्वभौम अधिकारको प्रयोग गर्न पनि थापाले आग्रह गरेका छन् । संवैधानिक ब्याख्यामा राजनीतिक दल र कानुन व्यवसायीहरूबीच फरक मत रहन सक्ने तर भ्रष्टाचारको मामिलामा सबै एकमत रहेको उनले बताए ।

'सर्वोच्च अदालतका न्यायाधीशको मूल्यांकन गर्नुपर्‍यो भनेर हरिकृष्ण कार्कीको प्रतिवेदनमा छ,' उनले भने, 'भ्रष्टाचारको सन्दर्भमा हामीले यसपाली शिर्षस्थको किलकिले समातेका छौं । उहाँ जाँदाखेरि धेरै जना जानेवाला छन् । एकचोटी आफ्नो दलमा हुन्छ कि विभिन्न समिति हुन्छ छलफल चलाइदिनुस् ।'

सर्वोच्च अदालतका सबै न्यायाधीशलाई संसदीय समितिमा बोलाएर कुरा सुनिदिने वातावरण बनाउन पनि थापाले आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश जबराले नभई न्यायाधीशहरूले पेसी गोला प्रणालीबाट चलाउने व्यवस्था गरेको पनि थापाको भनाइ थियो ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराविरुद्ध महाभियोग लगाउनका लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

प्रकाशित : मंसिर २१, २०७८ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाका निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।


पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुष २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचको कार्यक्रम भने पुस १७ गतेबाटै सुरु हुनेछ । सो दिन मतदाताहरूको नामावली प्रकाशित हुने छ । नामावलीमा कुनै त्रुटी भए सच्याउने र उजुरी दिनका लागि पुस १८ र १९ गते तोकिएको छ ।

'प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नको लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा प्रकाशित नामावलीमा उल्लेख भएका मतदाताको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ' आयोगले भने ।

माघ १२ मा राष्ट्रियसभाका एकतिहाइ सांसद निर्वाचित गर्न मतदान हुँदैछ । १९ जना नयाँ सांसद निर्वाचित गर्नका लागि मतदान हुन लागेको हो । प्रदेससभा सदस्य र स्थानीत तहका प्रमुख तथा उप प्रमुखले मतदान गर्ने छन् ।


प्रकाशित : मंसिर २१, २०७८ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×