कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

कांग्रेसमा बल्ल संघीयताको अभ्यास

संघीयता कार्यान्वयन सुरू भएको ६ वर्षपछि र आफ्नो विधानमा प्रदेश संरचना राखेको करिब ३ वर्षपछि कांग्रेसले पहिलोपटक प्रदेश नेतृत्व छान्दै 
कलेन्द्र सेजुवाल

काठमाडौँ — संघीयता लागू भएपछि पहिलोपटक कांग्रेसले प्रदेश तहमा नेतृत्व चयन प्रक्रिया थालेको छ । महाधिवेशन सुरु हुनुभन्दा करिब एक साताअघि बिहीबार प्रदेश अधिवेशन सुरु गरिएको हो । सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट एकसाथ प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन उद्घाटन गरे । प्रदेश १ मा आन्तरिक विवादका कारण अधिवेशन उद्घाटन हुन सकेन । 

कांग्रेसमा बल्ल संघीयताको अभ्यास

प्रदेश २ बाहेकका सबै निर्वाचन समितिले बिहीबारै मतदाता नामावली प्रकाशन गरी नेतृत्व चयन प्रक्रिया सुरु गरिसकेका छन् । सातवटै प्रदेशमा गरेर करिब १० हजार ५ सय मतदाता नेतृत्व चयनमा सहभागी हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार प्रदेश १ मा १ हजार ७ सय ७०, वाग्मतीमा २ हजार १ सय ३७, गण्डकीमा १ हजार १ सय ५३, लुम्बिनीमा १ हजार ६ सय ४२, कर्णालीमा ७ सय ४९ र सुदूरपश्चिम प्रदेशमा ९ सय ८७ मतदाता छन् ।

प्रदेश २ का सर्लाही र सप्तरीमा क्षेत्रीय अधिवेशन चलिरहेकाले बिहीबार मतदाता नामावली प्रकाशन हुन नसकेको घिमिरेले बताए । उनका अनुसार उक्त प्रदेशबाट करिब २ हजार ७५ मतदाता हुनेछन् । ‘प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता नामावलीमा भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका दुई–चारजना प्रतिनिधि थपिन सक्छन्,’ उनले भने, ‘करिब सबै प्रतिनिधि छनोट भइसकेकाले निर्धारित मितिमै प्रदेश अधिवेशनहरू सम्पन्न हुन्छन् ।’ कांग्रेस विधानअनुसार प्रदेश अधिवेशनमा महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिले भाग लिन पाउँछन् ।

कांग्रेसले देश संघीयतामा गएपछि २०७५ फागुन १२ गते नवौंपटक विधान संशोधन गर्दै प्रदेश संरचना राखेको थियो । त्यसअघि २०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा प्रत्येक प्रदेशबाट दुई–दुई जना केन्द्रीय सदस्य निर्वाचित भए पनि प्रदेश कार्य समिति गठन भएको थिएन । प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई संयोजकको जिम्मेवारी दिएर प्रदेश कार्य समिति गठन गर्ने प्रयास भए पनि सम्भव भएको थिएन । प्रदेश उद्घाटन गर्दै सभापति देउवाले पार्टीभित्रको चुनावमा हुने हारजितलाई स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताए । ‘प्रदेश अधिवेशनबाट कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्ने रणनीति बनाउनुपर्छ,’ उनले भने, ‘महाधिवेशनलगत्तै केही महिनाभित्र हुने स्थानीय तहको र एक वर्षभित्र हुने संसद्को निर्वाचनमा केन्द्रित हुनुपर्नेछ ।’

निर्वाचन प्रक्रिया सुरु भएसँगै पार्टीभित्रका समूहले नेतृत्व हत्याउन कसरत थालेका छन् । प्रदेश तहको परिणामले महाधिवेशनको शक्ति सन्तुलन प्रभाव पार्ने भएकाले सबै शीर्ष नेता आ–आफ्नो प्रदेशमा केन्द्रित भएका छन् । उनीहरू टिम र चुनावी रणनीति निर्माणमा व्यस्त छन् । प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा शुक्रबार बिहान ८ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

सभापति देउवाले नेतृत्व गरेको संस्थापन समूह र संस्थापबाहेकका अन्य समूहले टिम निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएका छन् । प्रदेश १ मा देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले झापाका पूर्वसभापति उद्धव थापाको नेतृत्वमा निर्वाचनमा जाने तयारी गरेको छ । थापा सिटौला समूहका हुन् । संस्थापनबाहेक समूहले भने केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई अघि सारेको छ । दुवै समूहले पदाधिकारीसहित टिम निर्माण गरिरहेका छन् । देउवापक्षीय नेता रामहरि खतिवडाले शुक्रबार बिहान मनोनयन दर्ता भएपछि फिर्ता लिने समयसम्म समूह फाइनल हुने बताए ।

वाग्मतीमा संस्थापनबाहेक समूहबाट नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसीको नेतृत्वमा चुनावमा जाने सहमति जुटेको छ । उक्त समूहले पदाधिकारीको भने टुंगो लगाएको छैन । देउवा र सिटौला समूहबीच वाग्मतीमा इन्द्र बानियाँको नेतृत्वमा जाने सहमति भए पनि सिटौला समूहका भीमसेनदास प्रधानले अडान नछाड्दा उम्मेदवारी टुंगो लागेको छैन । गण्डकीमा संस्थापन समूहले अर्जुनप्रसाद जोशीको नेतृत्वमा पदाधिकारीको टिम घोषणा गरेको छ । उपसभापतिमा मेखलाल श्रेष्ठ र नेत्र महत, महामन्त्रीमा कुमार खड्का र ईश्वर पाण्डे तथा सहमहामन्त्रीमा झुलबहादुर राना, ओमकला गौतम र राजनराज पन्तका नाममा सहमति भएको छ । संस्थापनइतर समूहमा भने नेतृत्वका आकांक्षी धेरै हुँदा टिम बन्न सकेको छैन । उक्त समूहले शुक्रराज शर्मालाई सभापतिको उम्मेदवार बनाएको छ ।

लुम्बिनीमा संस्थापन समूहले सभापतिमा भरतकुमार शाहलाई अघि सार्ने निर्णय गरे पनि अन्य पदाधिकारीमा नाम टुंग्याएको छैन । संस्थापनबाहेक समूहले भने अमरसिंह पुनको नेतृत्वमा टिम बनेको छ । उपसभापतिमा अष्टभूजा पाठक र भुवनकुमार श्रेष्ठ, महामन्त्रीमा विक्रम खनाल र सुरेन्द्रराज आचार्य तथा सहमहामन्त्रीमा विष्णु मुस्कान, खगराज पाण्डे र निमा गिरीलाई उम्मेदवार बनाउने निर्णय भएको उक्त समूहका एक नेताले जानकारी दिए । बिहीबार साँझ पुनको टिम घोषणा गर्ने तयारी भए पनि संस्थापन समूहका नेता बालकृष्ण खाँणले सहमतिबाट नेतृत्व चयन गर्ने प्रस्ताव राखेकाले घोषणा कार्यक्रम स्थगन गरिएको ती नेताले बताए ।

कर्णालीमा संस्थापन समूह ललितजंग शाहीको नेतृत्वमा चुनावमा जाने निष्कर्षमा पुगे पनि नेतृत्व र अन्य पदका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा टिम घोषणा हुन सकेको छैन । संस्थापनबाहेक समूहले भने भूपेन्द्रजंग शाहीको नेतृत्वमा चुनावमा जाने निर्णय गरेको छैन । टिमका अन्य पदाधिकारी र सदस्यको नाम भने टुंगिएको छैन ।

सुदूरपश्चिममा देउवा समूहभित्रै आकांक्षी धेरै हुँदा टिम घोषणा हुन सकेको छैन । उक्त समूहबाट नरनारायण शाह, गोविन्द शाह, अर्जुनजंग सिंह, गोविन्द बोहरा, पुष्पकुमार शाही आकांक्षी छन् । एकले अर्कोलाई नछाड्दा केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई सर्वसम्मत सभापति बनाउने प्रयास भइरहेको देउवा समूहका एक नेताले बताए ।

प्रकाशित : मंसिर १७, २०७८ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?