माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, पार्टी सदस्य ७ लाख नाघे- समाचार - कान्तिपुर समाचार

माओवादीको राष्ट्रिय सम्मेलन प्रज्ञा भवनमा, पार्टी सदस्य ७ लाख नाघे

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा प्रतिष्ठानको भवनमा गर्ने निर्णय गरेको छ । माओवादीको स्थायी कमिटीको बिहीबारको बैठकले पुस ११ देखि १३ गतेसम्म आयोजना हुने राष्ट्रिय सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

'स्थायी कमिटीको बैठकले पार्टीको राष्ट्रिय सम्मेलन निर्धारित मिति पुस ११ देखि १३ गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा गर्ने पनि निर्णय गरेको छ,' महराले भने ।

प्रवक्ता महराले हालसम्म पार्टी सदस्य संख्या ७ लाख ६ हजार ५०० पुगेको पनि जानकारी दिए । उनले पार्टी सदस्य संख्या ८ लाख पुग्ने अनुमान गरिएको बताए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वडा अधिवेशन सफलताका साथ सम्पन्न भएको निष्कर्ष निकालेको महराले जानकारी दिए । कतिपय पालिकाहरूमा भने अधिवेशन स्थगित भएपनि शुक्रबारसम्म सक्ने तयारी भएको जानकारी प्राप्त भएको उनले बताए ।

त्यस्तै, मंसिर २५ गते सातवटै प्रदेश कमिटीको प्रदेश सम्मेलन गर्ने र अध्यक्ष पुष्पकमल दाहालले २५ गते दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि प्रवक्ता महराले बताए।

माओवादी स्थायी कमिटी बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने भएको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेसमा युवालाई नेतृत्वको अवसर छ : निधि

सन्तोष सिंह

धनुषा — नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४ औं महाधिवेशनले युवाहरुलाई नेतृत्वका लागि अवसर दिने नीति अवलम्बन गरेको बताएका छन् । निधिले भने,‘कांग्रेसमा धेरै युवा प्रतिनिधि चुनिएका छन् । युवालाई सहभागीमात्रै गराएर हुँदैन । नेतृत्वको अवसर दिनुपर्छ । युवाका लागि सहजताको प्रतिबद्धता कांग्रेसमा अवलम्बन गर्नु पर्छ ।’ 

कांग्रेसमा ४० प्रतिशतभन्दा बढी युवापुस्ता आएको उनले बताए । जनकपुरमा बिहीबार कांग्रेसको प्रथम प्रदेश अधिवेशन प्रदेश २ को उद्घाटन सभालाई सम्बोधन गर्दे उपसभापति निधिले कांग्रेसको १४ औं महाधिवेशन निर्वाचनसँग जोडिएको बताए । संविधान र शासन प्रणाली कार्यान्वयनका लागि आगामी निर्वाचनमा बहुमतसहित नेपाली कांग्रेसको एक्कल सरकार आवश्यक रहेको निधिले बताए ।

'देशमा बहुमतका लागि प्रदेश २ मा कांग्रेसलाई बहुमत चाहिएको छ,' निधिले भने,‘कांग्रेसले मात्रै संविधानको कार्यान्वयन गराउन सक्छ । मधेस र पहिचानको अधिकार कांग्रेसले मात्रै पूरा गर्न सक्छ ।’'मंसिर महिनाभित्रै कांग्रेसको १४ महाधिवेशन सम्पन्न गरी आगामी ३ वटै तहको निर्वाचनमा कांग्रेसलाई बहुमत ल्याउनु कांग्रेस र कांग्रेसीको महत्वपूर्ण जिम्मेवारी रहेको छ', उनले भने ।

कार्यक्रममा कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य चित्रलेखा यादव, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रामकृष्ण यादवलगायतकाले सम्बोधन गरेका थिए । कांग्रेसको वडा तहको अधिवेशन नसकिँदै प्रदेश अधिवेशन उद्घाटन गरिएको छ ।

प्रदेश २ को ८ जिल्लामा जिल्ला अधिवेशन हुन सकेको छैन । वडा, पालिका, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियासमेत टुंगो लाग्न सकेको छैन ।

प्रदेश २ मा कांग्रेसको महाधिवेशन तालिका फेरबदल गरिएको निर्वाचन संयोजक रमेश रिजालले बताए । मंसिर १८ गते उम्मेदवारी दर्ता र १९ गते मतदानको समय तोकिएको रिजालले बताए ।

प्रकाशित : मंसिर १६, २०७८ १८:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×