उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना

रासस

काठमाडौँ — पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशभर बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भागमा हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणाली (पश्चिमी ट्रफ) र अरब सागरमा  बनेको न्यूनचीय क्षेत्र (कम दबाब प्रणाली)को चापका कारण  बदलीसँगै ती स्थानमा हिमपातको सम्भावना देखिएको हो । यो क्रम आगामी शनिबारसम्म कायम रहने भएको छ । 

हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली भएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै ती प्रदेशका उच्च पहाडी र हिमाली भागका धेरै स्थानमा माध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही कर्णाली, लुम्बिनी तथा वाग्मती प्रदेशका पहाडी भागमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी र हिमाली भागको केही स्थानमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको औँल्याइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव शून्य डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम ३० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

प्रकाशित : मंसिर १६, २०७८ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

देशमा माओवादीको विकल्प छैन : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार विभिन्न पार्टीमा रहेका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउँदै अध्यक्ष दाहालले परिवर्तनसहितको समाजवादको यात्रा सुरु गर्न देशमा माओवादीको विकल्प नरहेको बताएका हुन् । उनले माओवादी कमजोर हुँदा संविधान च्यात्ने, गणतन्त्र नै उल्ट्याउने प्रयासमा लागिएको भन्दै माओवादी बलियो भए मात्र देशमा भएका परिवर्तन बच्ने बताए ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले राजा महेन्द्रको प्रशंसा गरेकोप्रति लक्षित गर्दै नाम कम्युनिष्ट भए पनि काम सामन्तीको भएको बताए । उनले नेपालमा परिवर्तनको रक्षाको लागि मात्रै नभइ, राष्ट्र, राष्ट्रिय एकता, उत्पीडित वर्ग र समुदायको हक, अधिकारलाई पूर्णता दिनको लागि माओवादीलाई बलियो बनाउनुको विकल्प नरहेको दाबी गरे ।

अध्यक्ष दाहालले भने, ‘परिवर्तनको रक्षा गर्न र परिवर्तनलाई अझ पूर्णता दिनको लागि पनि, जनताको हक अधिकारलाई एउटा पूर्णतामा पुर्‍याउने, समाजवादको यात्रा सुरु गर्नको निम्ति पनि माओवादी केन्द्र बलियो बनाउनुको विकल्प छैन ।’

उनले माओवादी केन्द्रलाई जनताले आफ्नो लागि काम गर्ने पार्टीका रुपमा हेरेको र पार्टीप्रति जनताको आत्मविश्वास बढ्दै गएको बताए । अध्यक्ष दाहालले अहिले राष्ट्रका एजेण्डा भनेको माओवादीकै एजेण्डा भएको बताउँदै केही समय काठमाडौं केन्द्रीत भएर नेताहरुको काम गर्दा घाइते, अपांग र शहीदहरुप्रतिका एजेण्डा बिर्सिएर गल्ती गरेको भन्दै अब गल्ती नदोहिरिने प्रतिबद्धता गरे ।

प्रकाशित : मंसिर १६, २०७८ १५:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×