बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । 

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् ।

‘प्रधानन्यायाधीश बिरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठबन्धनले निष्कर्ष निकालेको छ’, सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायतका नेताहरु सहभागी छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोरोना संक्रमित भएपछि सोमबारदेखि अस्पताल भर्ना भएका छन् । बुधबार सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रक्रियाद्वारा तोकिएका इजलासहरू पूर्ण रूपमा सञ्चालन हुन सकेनन् । कोभिड संक्रमित भएर अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले कायममुकायम तोक्नुपर्ने भन्दै कानुन व्यवसायीले विरोध गरेपछि इजलासहरू प्रभावित भएका थिए।

सर्वोच्च अदालत स्थापना भएयता नै प्रधानन्यायाधीशले निरन्तर उपभोग गर्दै आएको ‘पेसी तोक्ने अधिकार’ लाई बदलेर पहिलो पटक बुधबार गोला प्रक्रियाद्वारा इजलास गठन गरिएको थियो । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनले तोकेको इजलास बहिष्कार गर्दै आएका न्यायाधीशहरू ३८ औं दिनपछि बुधबार गोला तानेर इजलास तोकी नियमित सुनुवाइमा फर्किएका थिए । अस्पतालमा उपचाररत प्रधानन्यायाधीश जबराले न्याय प्रशासन सञ्चालन गर्न नमिल्ने र सर्वोच्चका वरिष्ठ न्यायाधीशलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पनि नदिएको भन्दै कानुन व्यवसायीले विरोध गरेपछि न्यायाधीशहरू मुद्दा सुन्दासुन्दै इजलासबाट उठेर छलफलमा बसेका थिए ।

संविधानको धारा १२९ (६) मा ‘प्रधानन्यायाधीशको पद रिक्त रहेमा वा प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेमा वा नेपाल बाहिर गएका कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भई काम गर्ने’ व्यवस्था छ ।

प्रकाशित : मंसिर १६, २०७८ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : प्रवक्ता शर्मा

बिहीबार दिउँसो देउवाले महाधिवेशनको लोगो सार्वजनिक गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने बताएका छन् । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताएका हुन् ।

ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले भने, 'हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध गर्न पाइन्छ। आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ । हामी लोकतन्त्रको राम्रो अभ्यास गर्छौं।'

त्यस्तै उनले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्रको व्यवस्था गरिने बताए । मतदानका लागि २९ वटा मत्रपत्र हुने र एक जनाका लागि भोट हाल्न करिब १ घण्टा लाग्ने प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दिउँसो २ बजे प्रदेश अधिवेशन एकैसाथ उद्घाटन गरेपछि देउवाले लोगो सार्वजनिक गर्नेछन् ।

प्रकाशित : मंसिर १६, २०७८ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×