कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सर्वोच्च अदालतको विवाद गम्भीर : दाहाल 

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशलाई लिएर सर्वोच्च अदालतमा जारी विवादले गम्भीर स्थितिको रूप लिएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बुधबार नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरूसहित कानुन व्यवसायीहरूको ज्ञापनपत्र बुझ्दै दाहालले सर्वोच्च अदालतमा जारी विवादले गम्भीर रुप लिएको बताएका हुन् ।

प्रधानन्यायाधीशलाई लिएर जारी विवाद राज्य प्रणालीसँग जोडिएको दाहालको भनाइ थियो । 'स्थिती गम्भीर भएको छ । यो न्यायपालिकाको मात्रै कुरा होइन, यो समग्र हाम्रो राज्यप्रणालीसँग सम्बिन्धत कुरा हो,' उनले भने, 'यो पटक यसलाई हामीले सम्बोधन गर्न सकियो भने न्यायपालिकामा त एउटा गुणात्मक सुधारको प्रक्रिया यही बिन्दुबाट सुरु हुनसक्छ । यो एउटा यस्तो बिन्दु हुनसक्छ जहाँबाट न्याय क्षेत्रमा देखिएका तमाम विकृति, विसंगतिहरूको अन्त्य हुने र न्याय सम्पादनको काम जनविश्वास आर्जन गर्ने ढंगले जाने बिन्दु यो हुनसक्छ ।'

न्यायाधीश र बारबाट नै उठेको विषय भएकाले न्यायालयको सुद्धिकरणमा वर्तमान विवादको समाधान हुनसक्ने दाहालको भनाइ थियो । उनले न्यायालयको विवाद अन्तर्राष्ट्रियकरण भइसकेको पनि धारणा रखेका थिए । 'यो हाम्रो देशभित्रको मात्रै पनि कुरा छैन, अब त अन्तर्राष्ट्रिय पनि भइसक्यो । अब नेपालले के गर्छ भन्ने कुरा पुरै दुनियाँले हेरिरहेको छ, न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी लान्छन् त नेपालीले भन्ने कुरा सबैले हेरिराखेकै कुरा छ,' उनले भने, 'म यूएन मिसनसँग कुरा गर्दैछु त्यहाँ पनि यसको कुरा उठेका छन् ।'

अदालतमा जारी विवादले धैर्यताको सीमा नाघेको दाहालको भनाइ थियो । उनले सम्बन्धि पक्षलाई गम्भीर रहेको बताएका थिए । 'हाम्रो एउटा बिन्दुसम्म धैर्यता होला, तर हामीले गम्भीर छौँ भनिसकेका छौँ। यो समस्या समाधानको मात्रै होइन, ठूलो विसंगति अन्त्य हुनेतिर नेपाल जाने बिन्दु हुनसक्छ यो आन्दोलन,’ उनले भने ।

विगतमा न्यायपालिका र कार्यपालिकाबीचको सम्बन्धले समस्या उत्पन्न हुँदा न्यायका लागि पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र कानुन व्यवसायीहरूसँग गुहार माग्दै हिँड्नुपरेको अवस्था आएको पूर्वप्रधानमन्त्री दाहालको भनाइ थियो । 'कार्यपालिकामा हिजो समस्या भयो र हामीले न्याय क्षेत्रमा काम गर्ने बारदेखि लिएर पूर्वन्यायाधीशहरू, कानुन व्यवसायीहरू, पूर्वप्रधानन्यायधीशहरूसँग हामीले झन्डै-झन्डै गुहार माग्दै हिँडेको जस्तो स्थिती थियो,' उनले भने । त्यतिबेला न्याय क्षेत्रबाट आफूहरूलाई सहयोग पनि प्राप्त भएको दाहालको भनाइ थियो । त्यो सहयोग नबिर्सिएको उनको भनाइ थियो ।

सर्वोच्च अदालतमा जारी विवादलाई लिएर राजनीतिक दलहरू र कार्यपालिकाले मौनता साँधेको हो कि भन्ने नसोच्न पनि उनले आग्रह गरे । 'डेढ महिना हुन लागिसक्यो भन्ने तपाईहरूको भनाइ छ, तपाईहरूको मर्म पनि बुझिने खालको नै छ । हामी यो विषय तपाईहरूले जति बेलादेखि उठाएर आन्दोलित हुनुभयो त्यति बेलादेखि नै गठबन्धन भित्र यो छलफल भएको छ । यो अहिले मात्रै रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकमा मात्रै छलफल भएको त्यो भन्दा पहिला नभएको पनि होइन,' दाहालले भने ।

न्याय क्षेत्र र समग्र राजनीतिक प्रणालीलाई कसरी अघि बढ्छ भन्ने कुरा सारा विश्वले हेरिरहेको भन्दै धैर्यताको बिन्दुभन्दा टाढा जान नसक्ने दाहालले प्रष्ट पारेका थिए ।

दाहालले अहिले सभामुख अग्निप्रसाद सापकोटा मुलुक बाहिर गएको र उनी फर्किए लगत्तै बैठक बसेर न्यायपालिकामा देखिएको समस्या समाधान गर्ने बताए ।

प्रकाशित : मंसिर १५, २०७८ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्

प्रेस सेन्टरको कर्णाली अध्यक्षमा शर्मा

रासस

काठमाडौँ — प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् । कर्णाली प्रदेश समितिको मंगलबार सम्पन्न दोस्रो अधिवेशनले अध्यक्ष शर्माको नेतृत्वमा ४१ सदस्यीय सेन्टरको कर्णाली प्रदेश समिति चयन भएको हो । 

समितिको वरिष्ठ उपाध्यक्षमा गणेश सिर्पाली (रुकुमपश्चिम) खुला उपाध्यक्षमा पूर्णप्रसाद चौलागाई (जुम्ला), प्रमुख सचिव धर्मराज जिसी (सुर्खेत), तिलकराज वली (सल्यान) विवशकुमार सेजुवाल (सुर्खेत), युद्धजित शर्मा (जाजरकोट), अर्जुनप्रसाद भट्टराई (कालीकोट), उपेन्द्र न्यौपाने (जुम्ला) चयन हुनुभएको अध्यक्ष मण्डलका अध्यक्ष ओपेन्द्र शर्माले जानकारी दिए ।

त्यस्तै, महिला सचिवमा जाजरकोटका देवका लामिछाने र दलित सचिवमा हुम्लाका तिलसरा विक चयन भएको अध्यक्ष शर्माले बताए । त्यस्तै, अशोककुमार सिंहको संयोजकत्वमा तीन सदस्यीय अनुशासन, रमेश रावलको संयोजकत्वमा सल्लाहकार समिति र लेखा समिति गठन गरिएको छ ।

अधिवेशनको उद्घाटन नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज शक्तिबहादुर बस्नेतले गर्दै मिसन र व्यावसायिकताको संयोजनबाट पत्रकारिता अघि बढेको बताए । इञ्चार्ज बस्नेतले आजको राज्य संरचना र व्यवस्थाको आधार माओवादी नै भएको जिकिर गर्दै यसबाट प्राप्त भएका अधिकार र उपलब्धिको रक्षार्थ कलम चलाउन पत्रकार सञ्चारकर्मीलाई आग्रह गरे ।

उद्घाटनको क्रममा केन्द्रका प्रदेश अध्यक्ष राजकुमार शर्माले कम्युनिष्ट आन्दोलनको फोहोर सफा गर्ने, मौलिक अधिकारको रक्षा र समाजवादी क्रान्ति यात्रमा प्रेस सेन्टरको कलमले अगुवाइको भूमिका खेलोस् भन्ने शुभकामना व्यक्त गरे । प्रदेश सचिव रामदीप आचार्यले २१ शताब्दीको सूचना र प्रविधिको युगमा आफूलाई प्रेस सेन्टर नेपालले समयसापेक्ष बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रदेश समितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यलाई अध्यक्ष शर्माले पद तथा गोपनीयनताको शपथग्रहण गराएका थिए । अधिवेशनमा प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य गोविन्द रोका (सचिन), लक्ष्मी पुन, कर्णाली प्रदेश इञ्चार्ज ध्रुवविक्रम बुढाथोकीलगायत केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यको सहभागिता थियो ।


प्रकाशित : मंसिर १५, २०७८ १८:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×