कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कांग्रेस प्रदेश अधिवेशन : उम्मेदवारी टुंग्याउन समूहभित्रै सकस

वाग्मती र गण्डकीमा पौडेल र सुदूरपश्चिममा देउवा समूहका आकांक्षी धेरै
प्रदेश १ मा देउवा र सिटौलाबीच समीकरणको प्रयास
कलेन्द्र सेजुवाल

काठमाडौँ — कांग्रेसमा प्रदेश नेतृत्वका लागि उम्मेदवार तय गर्न संस्थापन र संस्थापनइतर समूहभित्रै रस्साकसी चलेको छ । आकांक्षी धेरै हुँदा समूहको तर्फबाट टिम बनाउन केन्द्रबाट खटिएका नेताहरू सकसमा परेका छन् । प्रदेश १ मा संस्थापनइतर समूहमा केन्द्रीय सदस्य गुरुराज घिमिरे र प्रदेशसभा संसदीय दलका नेता राजीव कोइराला दाबेदार छन् ।

कांग्रेस प्रदेश अधिवेशन : उम्मेदवारी टुंग्याउन समूहभित्रै सकस

केन्द्रीय सदस्य शेखर कोइरालाले टिम निर्माणको संयोजन गरिरहेका छन् । संस्थापन समूहमा मोरङका पूर्वसभापति अमृत अर्याल र कृष्णप्रसाद सिटौला समूहमा झापाका पूर्वसभापति उद्धव थापा आकांक्षी छन् । कोइराला समूहको वर्चस्व रहेको प्रदेश १ मा शेरबहादुर देउवा–सिटौला समूहबीच गठबन्धन हुने सम्भावना रहेको एक नेताले बताए । सिटौलाले थापालाई अघि सार्न खोजिरहेका छन् ।

उपसभापति विमलेन्द्र निधिले आफ्नो गृहक्षेत्र रहेको प्रदेश २ मा सर्वसम्मत र आफ्नो पक्षमा बहुमत हुने गरी परिणाम ल्याउने प्रयास गरिरहेका छन् । उनले प्रदेशसभा संसदीय दलका नेतासमेत रहेका रामसरोज यादवलाई सर्वसम्मत सभापति बनाउन चाहेका छन् । देउवा समूहबाट बाराका पूर्वसभापति कृष्णा यादव र पर्साका पूर्वसभापति अजय द्विवेदीले सभापतिमा दाबी गरेका छन् । संस्थापनइतर समूहबाट सप्तरीका पूर्वसभापति रामकुमार यादव आकांक्षी छन् ।

सभापतिका आकांक्षीहरूको चर्चा सुरु भए पनि प्रदेश र केन्द्रीय प्रतिनिधि चुनिने क्रममा ढिलाइ भएको छ । बाँकी रहेका जिल्लामा प्रदेशसभा र प्रतिनिधिसभा महाधिवेशन एकै दिन गरेर भए पनि १६ गते अधिवेशन सुरु गर्ने केन्द्रीय निर्वाचन आयोगको तयारी छ । ‘प्रदेश २ का केही जिल्लामा ढिलाइ भइरहेको छ, तर हामीले ‘एल’ आकारको सूत्र (एउटै लाइनमा लागेर दुइटा निर्वाचनमा मतदान गर्ने प्रक्रिया) बाट निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेका छौं,’ निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरले भने ।

वाग्मतीमा संस्थापन समूहबाट मकवानपुरका जिल्ला सभापति इन्द्रबहादुर बानियाँले उम्मेदवारी घोषणा गरेका छन् । अर्कोतर्फ सिटौला समूहका भीमसेनदास प्रधान पनि आकांक्षी छन् । उनीनिकट एक नेताका अनुसार पालिका र जिल्ला तहको निर्वाचनका बेला देउवा–सिटौला समूहबीच प्रधानलाई सभापतिको उम्मेदवार बनाउने भद्र सहमति भएको थियो । ‘अहिले इन्द्र बानियाँजीले पनि घोषणा गरेको सुनिन्छ,’ ती नेताले भने, ‘अर्कोतिर प्रदेश १ मा पनि सहमतिको कुरा चलिरहेकाले यसै भन्न सकिने अवस्था छैन ।’ वाग्मतीमा संस्थापनइतर समूहबाट आधा दर्जन आकांक्षी छन् । काभ्रेका पूर्वसभापति मधु आचार्य, नुवाकोटका पूर्वसभापति जगदीशनरसिंह केसी र काठमाडौंका पूर्वसचिव राजुराज जोशी प्रमुख दाबेदार हुन् ।

यीमध्ये वरिष्ठ नेता पौडेलले आचार्यलाई, प्रकाशमान सिंहले जोशीलाई र अर्जुननरसिंह केसीले आफ्नो भाइ जगदीशनरसिंहलाई उम्मेदवार बनाउन चाहेका छन् । तीन नेताबीच सामूहिक रूपमा बसेर साझा उम्मेदवार तय गर्ने वातावरण बनेको छैन । मंगलबार दिउँसो सिंहले आफ्नो निवासमा आकांक्षीहरूलाई बोलाएर छलफल गरेका थिए । छलफलमा आचार्य, जोशी र केसीका साथै धादिङका पूर्वसभापति रमेश धमला, रामेछापका पूर्वसभापति रामचन्द्र खड्का र सिन्धुलीका पूर्वसांसद मोहन बराल सहभागी थिए । समूहको तर्फबाट टिम निर्माणको संयोजन सिंहले गरिरहेका एक आकांक्षीले बताए । ‘वाग्मती प्रदेशको निर्वाचनमा निर्णायक मत रहेको काठमाडौंमा बलियो प्रभाव प्रकाश दाइको भएकाले उहाँले टिम निर्माणको अगुवाइ गरिरहनुभएको छ,’ उनले भने, ‘रामचन्द्र दाइसँग छलफल गरेर एक/दुई दिनसम्म उम्मेदवार तय हुन्छ होला ।’

वरिष्ठ नेता पौडेलको गृह प्रदेश गण्डकीमा उनको समूहबाट ४ जनाले उम्मेदवारी घोषणा गरेका छन् । कास्कीका पुराना नेता शुक्रराज शर्मा, क्याम्पसको जागिर छाडेर भर्खरै सक्रिय राजनीतिमा प्रवेश गरेका देवराज चालिसे, पूर्वमन्त्री यज्ञबहादुर थापा र तनहुँका पूर्वसभापति रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरेर समूहका तर्फबाट उम्मेदवार बन्ने कसरतमा छन् । संस्थापन समूहले भने केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको नेतृत्वमा टिम नै तयार पारिसकेको छ ।

गण्डकीमा संस्थापनइतर समूहको राम्रो प्रभाव भए पनि आकांक्षीको व्यवस्थापनमा चुनौती देखिन्छ । पौडेलको गृहजिल्ला तनहुँ र कास्कीमा उनको समूहको स्पष्ट बहुमत हुँदाहुँदै संस्थापन पक्षले परिणाम आफ्नो पक्षमा खोसेको थियो । कास्कीमा पौडेल समूहबाटै चार जना उम्मेदवार बन्दा दोस्रो चरणमा देउवा समूहका किशोरदत्त बराल सभापति चुनिए भने तनहुँमा पौडेलनिकट भए पनि देउवापक्षीय नेता शंकर भण्डारीको समर्थनमा जितप्रकाश आले सभापति बने । ‘संस्थापन समूहको चुनावी रणनीति र योजना चुस्त र प्रभावकारी देखिन्छ, हाम्रोतिर भने अस्तव्यस्त छ,’ पौडेल समूहका एक नेताले भने, ‘यस्तै हो भने प्रदेशमा पनि कास्की र तनहुँको जस्तो अवस्था नहोला भन्न सकिन्न ।’

लुम्बिनीमा संस्थापन समूहबाट पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल र रूपन्देही–५ का सांसद भरत शाहबीच रस्साकसी छ । देउवाले गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई टिम निर्माणको जिम्मा दिएका छन् । पछिल्लो समय रूपन्देही जिल्लाको निर्वाचनमा शाहको सहयोगमा उनका भाइ रामकृष्ण खाँण सर्वसम्मत सभापति निर्वाचित भएका थिए ।

जिल्ला निर्वाचनकै बेला शाहलाई प्रदेश सभापतिको उम्मेदवार बनाउने सहमति भएको खाँणनिकट एक नेताले बताए । संस्थापनइतर समूहले भने रोल्पाका पूर्वसभापति अमरसिंह पुनलाई सभापति बनाउने तयारी गरेको छ । बढी मतभार भएका तीन जिल्ला बाँके, बर्दिया र रूपन्देहीमा राम्रो परिणाम पाएकाले संस्थापन समूह उत्साही देखिन्छ । कर्णालीमा संस्थापन समूहबाट राजीवविक्रम शाह र ललितजंग शाही दाबेदार छन् ।

महामन्त्री पूर्णबहादुर खड्का टिम बनाउन लागिरहेका छन् । मंसिर पहिलो सातादेखि उनी सुर्खेतमा छन् । जुम्लाका पूर्वसभासद शाहीले महाधिवेशन प्रक्रिया सुरु हुनुअघि समूह परिवर्तन गरेका हुन् । जाजरकोटका पूर्वसभासद शाहलाई सभापति शेरबहादुर देउवाले समेत सभापति बनाउन चाहेको स्रोतको भनाइ छ । संस्थापनइतर समूहबाट युवा नेता भूपेन्द्रजंग शाही र पूर्वसांसद दीपकजंग शाह आकांक्षी छन् । केन्द्रीय सदस्य हृदयराम थानीको संयोजकत्वमा टिम निर्माण गर्ने कार्यदल बनेको छ । बुधबारसम्म सभापति उम्मेदवारको टुंगो लगाउने गरी काम भइरहेको समूहका एक नेताले बताए ।

सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिममा उनको समूहमा कैलालीका पूर्वसभापति नरनारायण शाह (मनु), पूर्वराज्यमन्त्री अछामका गोविन्द शाह, पूर्वराज्यमन्त्री बझाङका अर्जुनजंग सिंह, डडेलधुराका प्रदेशसभा सदस्य गोविन्द बोहरा र नेविसंघका पूर्वकेन्द्रीय उपाध्यक्ष पुष्पविक्रम शाहीले उम्मेदवारी घोषणा गरेका छन् । संस्थापनइतर समूहबाट खुलेरै उम्मेदवार घोषणा गर्ने देखिएका छैनन् ।

यद्यपि भरत खड्का वा कमल शाहमध्ये एक जना उम्मेदवार बन्न सक्ने उक्त समूहका एक नेताले बताए । देउवाले समूहको तर्फबाट टिम निर्माणको संयोजन गर्ने जिम्मा केन्द्रीय सदस्य एनपी साउदलाई दिएका छन् । केन्द्रीय सदस्यद्वय रमेश लेखक र वीरबहादुर बलायर पनि टिम निर्माणमा जुटेका छन् । सुदूरपश्चिममा एउटै समूहका साउद र लेखकबीच प्रतिस्पर्धा रहेकाले सहमति निर्माणमा सभापति देउवा आफंै सक्रिय हुने बताइएको छ ।

प्रदेश सभापतिका दाबेदार

प्रदेश १

संस्थापन : अमृत अर्याल

संस्थापनइतरबाट : गुरुराज घिमिरे र राजीव कोइराला

सिटौला : उद्धव थापा

प्रदेश २

संस्थापन : कृष्णा यादव र अजय द्विवेदी

निधि : रामसरोज यादव

संस्थापनइतर : रामकुमार यादव

वाग्मती

संस्थापन : इन्द्र बानियाँ

संस्थापनइतर : मधु आचार्य, राजुराज जोशी र जगदीशनरसिंह केसी

सिटौला : भीमसेनदास प्रधान

गण्डकी

संस्थापन : अर्जुनप्रसाद जोशी

संस्थापनइतर : शुक्रराज शर्मा, देवराज चालिसे, यज्ञबहादुर थापा र रघुनाथ पौडेल

लुम्बिनी

संस्थापन : भरत शाह र देवेन्द्रराज कँडेल

संस्थापनइतर : अमरसिंह पुन

कर्णाली

संस्थापन : राजीवविक्रम शाह र ललितजंग शाही

संस्थापनइतर : भूपेन्द्रजंग शाही र दीपकजंग शाह

सुदूरपश्चिम

संस्थापन : नरनारायण शाह, गोविन्द शाह, अर्जुनजंग सिंह, गोविन्द बोहरा

संस्थापनइतर : कमल शाह र भरत खड्का

प्रकाशित : मंसिर १५, २०७८ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?