नेपालबाट चोरिएका सम्पदा निजी ग्यालरीमा

दुई दर्जनभन्दा बढी भेटिए, तीनवटाको मात्रै पहिचान
देवेन्द्र भट्टराई

काठमाडौँ — काठमाडौं उपत्यकाबाट सन् ८० को दशकमा हराएका पुरातात्त्विक महत्त्वका सम्पदाहरू निजी संग्रहालय बरकत ग्यालरीमा भेटिएका छन् । अमेरिकाको लस एन्जल्स, बेलायतको लन्डन, दक्षिण कोरियाको सियोल, जोर्डनको अम्मान र हङकङमा (दुई) शाखा रहेको ग्यालरीको बिक्री सूचीमा दुई दर्जनभन्दा बढी नेपाली पुरातात्त्विक सम्पदा छन् । तीमध्ये ३ वटाको मात्रै पहिचान हुन सकेको छ ।

हराएका वा चोरिएका सम्पदाको स्थान, पहिचान तथा सूचना दिने अभियान ‘लस्ट आर्ट्स अफ नेपाल’ ले दिएको जानकारीअनुसार ओमबहालस्थित बौद्ध विहारमा रहेको सत्रौं शताब्दीको ढुंगाको मूर्ति बरकतको बेलायत शाखामा फेला परेको छ ।

यस्ता बौद्ध–विहार वा मठमन्दिर निर्माणमा सहयोग गर्ने दाताले आफ्नो कृतिको स्मरणका लागि आफ्नै प्रतीकात्मक मूर्ति बनाउन लगाउने गरेका थिए । अर्को मूर्ति भने बरकत ग्यालरीको अमेरिका शाखामा भेटिएको छ । ओटुबहालको विहारबाट चोरिएको दाताको घुँडा टेकिएको आकृतिको अर्को ढुंगा मूर्ति भने लसएन्जल्सस्थित बरकत ग्यालरीमा फेला परेको हो । यी दुवै ढुंगा मूर्तिको तस्बिर सन् १९७६ मा स्विस अन्वेषक उलरिच भोन स्क्रोडरले खिचेका थिए । ‘नेप्लिज स्टोन स्कलप्चर्स’ नाममा प्रकाशित तस्बिर पुस्तकमा दाताका यी मूर्ति संगृहीत छन् ।

विष्णु–लक्ष्मी मूर्ति / हङकङ

सन् १९६५ देखि सन् २०१९ सम्मका शिलामूर्तिका तस्बिर संकलन गर्ने स्क्रोडरले यस पुस्तकको पहिलो भागमा हिन्दु देवदेवी तथा मठमन्दिरमा रहेका मूर्ति र दोस्रो भागमा बौद्ध गुम्बा–विहारमा रहेका मूर्ति समेटेका छन् ।

यस्तै, बेलायतको बरकत ग्यालरीमै वसन्तपुरको कुमारी–छें (कुमारी घर) बाट चोरिएको दुर्गादेवीको आकृति कुँदिएको काठको तोरण फेला परेको छ । सन् ८० को दशकमा हराएको यो सम्पदा चोरिएपछि ५ वर्षअघि मात्रै नयाँ तोरण प्रतिस्थापन गरिएको थियो । अहिले पहिचान भएकामध्ये सबैभन्दा बढी महत्व र धार्मिक सरोकारमा जोडिएको सम्पदा यही कलात्मक तोरण हो ।

कालभैरव मूर्ति / बेलायत

सत्रौं शताब्दीको निर्माण मानिने कालभैरवको मूर्तिसमेत बिक्रीमा राखिएको छ । एक छेउमा टुक्रिएको देखिने ढुंगा मूर्ति बेलायतको ग्यालरीमा रहेको जनाइएको छ । भगवान् शिवको रौद्र अवतार मानिने कालभैरव विशेषतः इन्द्रजात्रा पर्वका बेला बाहिरी प्रदर्शनीमा राखिने गर्छ ।

सांस्कृतिक अन्वेषक गोविन्द टण्डनका अनुसार कालभैरवका यस्तै भंगिमा र शिल्पका पुरातात्त्विक मूर्तिहरू पशुपति क्षेत्र वा काठमाडौं, पाटनका पुरातात्त्विक स्थलमा पनि रहँदै आएको हो । यसबारेको सूचीकरण कहींकतै नभएकाले अहिले बरकत ग्यालरीमा पाइएको मूर्तिको स्थान पहिचान यकिन हुन सजिलो छैन । पहिचान हुने अभिलेख भेट्न निकै गाह्रो हुने उनले बताए ।

भैरव मास्क / बेलायत

बिक्रीमा राखिएको अर्को प्राचीन सम्पदा मल्लकालीन काष्ठकला झल्कने भैरवको मास्कसमेत हो । पन्ध्रौं शताब्दीमा निर्माण भएको मानिने यो काठमा कुँदिएको मास्क बरकतको लन्डन ग्यालरीमा छ । अर्को, पन्ध्रौं शताब्दीकै सिर्जना मानिने भैरव मास्क पनि बरकतमै छ ।

अझ ११ औं शताब्दीको सिर्जना मानिएको ढुंगामा कुँदिएको विष्णु–लक्ष्मी मूर्ति पनि हङकङ ग्यालरीमा बिक्रीमा राखिएको छ । यी सम्पूर्ण सम्पदाबारे पनि बाहिर सूचना आउनासाथै यीबारेको ‘उत्पत्तिको यथास्थिति’ र पहिचान पहिल्याउन सकिने टण्डनको राय छ ।

भैरव मास्क / बेलायत

जेरुसेलममा १२५ वर्षअघि स्थापना गरिएको भनेर चिनाइएको बरकत ग्यालरी अहिले संस्थापकको पाँचौं पुस्ताले सञ्चालन गरिरहेको जनाइएको छ । प्राचीन र पुरातात्त्विक सम्पदाको संग्रह रहेको बरकतमा चिनियाँ, एसियाली, अफ्रिकी ४० हजारभन्दा बढी पुरातात्त्विक महत्त्वका कला संग्रहित छन् । यस ग्यालरीको हालका सञ्चालक फेइज बरकत छन् ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस धनकुटा सभापतिमा राई

रमेशचन्द्र अधिकारी

धनकुटा — कांग्रेस धनकुटाको जिल्ला सभापतिमा संस्थापन पक्षका दिनेश राई निर्वाचित भएका छन् । बुधबार बिहान सम्पन्न मतगणनामा ४२ वर्षीय राईले सभापतिका अर्का उम्मेद्‍वार कमोटकुमार फागोलाई ३४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

मंगलबार सम्पन्न निर्वाचनमा खसेको कुल १०१३ मतमा राईले ५०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै, फागोले ४७० मत प्राप्त गरेका छन् । यसअघिको नेतृत्वमा कांग्रेस जिल्ला कोषाध्यक्ष रहेका विजेता राई देउवा पक्षका हुन् भने फागो पौडेल पक्षका हुन् ।

यसैगरी, उपभापतिमा सुनिल डंगोल र निर्मल ओझा निर्वाचित भएका छन् । सचिवमा विजयसन्तोषी राई र जयन्द्र घिसिङ, सहसचिवमा रोशन श्रेष्ठ र गिरिजा दाहालले जित हात पारेको जनाइएको छ ।

निर्वाचनमा देउवा र पौडेल पक्षले प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए । महाधिवेशन प्रतिनिधिको मतगणना कार्य भने जारी छ ।

प्रकाशित : मंसिर १५, २०७८ ०८:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×