उम्मेदवारीपछि भूसालको प्रश्‍न - 'पार्टी र सरकार किन टिकाउन सकेनौं ?'- समाचार - कान्तिपुर समाचार

उम्मेदवारीपछि भूसालको प्रश्‍न - 'पार्टी र सरकार किन टिकाउन सकेनौं ?'

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपा एमालेका नेता घनश्याम भूसालले पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिन उपाध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन् । सौराहामा जारी महाधिवेशनका क्रममा सोमबार बिहान उनले उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरूसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीलाई दलाल पूँजीवादले कब्जा गरिदिने भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेका गरेका थिए । 'पार्टीभित्र विचार, सिद्धान्त र मार्क्सवाद ज्यूँदो छ भन्ने सन्देश दिनका लागि मैले उम्मेदवारी दिएको हुँ,' उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने ।

यस्तै एमाले निर्माणका लागि क्रियाशील पुराना कार्यकर्ताहरूको प्रतिनिधिहरूको प्रतिनिधिको रुपमा पनि आफूले उम्मेदवारी दिएको उनले बताए । तर आफ्नो पक्षमा कुनै प्यानल नभएको नेता भूसालको भनाइ छ । उनले भनेका छन्, '१० बुँदेको गुट सधैँका लागि नबुझ्न आग्रह गर्दछु । एउटा खास समयमा हामी एक ठाउँमा उभिएका हौं । सधैँका लागि हैन । मैले ९औं महाधिवेशनमा पनि प्यानल नबनाउन अन्तिमसम्म अडान लिएको थिएँ । त्यसैले अहिले पनि म प्यानलको पक्षमा छैन ।'

नेता भूसालले प्रतिनिधिसभा विघटन र सरकारबाट बाहिरिनु परेको मुद्दालाई लिएर समीक्षा गर्नुपर्ने संकेत गरेका थिए । 'एकीकृत पार्टी किन फुट्यो भन्नेबारेमा हामी बेखबर भएर हिँडिरहेका छौँ । पार्टीमा गल्तीका प्रशस्त सम्भावना छन् । अहिले पनि गल्ती भइरहेका छन् । संसारमा एउटा मोडेल देखाउन सक्ने अवस्थाबाट हामी किन चुक्यौँ ? आफ्नै पार्टी किन टिकाउन सकेनौं ? आफ्नै सरकार किन टिकाउन सकेनौं ?,' उनले भने, 'भन्दा त तिमीहरूले किन भत्कायौ भन्न सकिन्छ । तर त्यो स्थिति नै किन आयो भन्नेबारे हामी बेखबर भएर हिँडिरहेका छौं । त्यसबारे अहिले हामी आँखा बन्द गरेर हिँड्न खोज्दैछौं । यसले हामीलाई हाम्रो लोकतन्त्रलाई समाजवादलाई कम्युनिस्ट आन्दोलनलाई धेरै डरलाग्दा खतरातर्फ लैजानेवाला छ । त्यसैले पनि मैले उम्मेदवारी दिएको हुँ ।'

एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ । जहाँ नेता भूसालको नाम भने अटाएको छैन । जaकि उनले यसअघि नै उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका थिए ।

उक्त प्रस्ताव आएसँगै भूसालसहित अध्यक्ष पदमा भीम रावल, सचिव पदमा भीम आचार्य साथै अरु असन्तुष्ट नेताहरूले केन्द्रीय सदस्यको पदमा उम्मेदवारी दिएका छन् ।

प्रकाशित : मंसिर १३, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्

हजुरबासँगै विजयी नातिनी भन्छिन् : राजनीतिसँगै समाजसेवा गर्छु 

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तु क्षेत्र नं. ३ मा नातिनी कांग्रेस महाधिवेशन प्रतिनिधिमा र हजुरबुबा क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । निर्वाचित हुनेमा १९ वर्षीया सूचना मिश्रा र उनका हजुरबुबा ६५ वर्षीय बह्मानन्द उपाध्याय छन् ।

बह्मानन्द क्षेत्र नं. ३ को क्षेत्रीय सभापतिमा पनि विजयी भए । राजनीतिमा युवाको उपस्थितिले पार्टीसंगै सिंगो देशको रूपान्तरणका लागि सहयोग पुर्‍याउँछ । त्यसैले काठमाडौं तिनकुनेस्थित ट्रिनिटी इन्टरनेसनल कलेजमा ब्याचलर अफ सोसल वर्क पहिलो वर्षमा अध्ययनरत मिश्र गाउँ आएर प्रचार थालिन् । उम्मेदवारी दिइन् । ३१० मत पाएर विजयी भइन् । ‘मेरो रुचि नै सोसल वर्क हो,’ उनले भनिन्, ‘त्यसैले मलाई राजनीति बुझ्न सजिलो भयो ।’

‘मतदाताको भावना बुझेर अघि बढेँ । पहिलो पटकमै जिम्मेवारी पाए । अब कांग्रेस महाधिवेशनमा युवा नीति पारित गराएर युवाको एजेन्डा स्थापित गराउँन लाग्छु,’ उनले भनिन् । ‘अब राजनीतिसँगै समाजसेवा पनि थाल्छु । जनतालाई पार्टीमा परिवर्तन आएको आभाष दिन लाग्छु,’ उनले थपिन् ।

विवेक र क्षमता प्रयोग विकृति हटाई मुलुक परिवर्तन गर्ने लक्ष्य लिएर आफू राजनीतिमा आएको बताइन् । अग्रजले देखाएको मार्गलाई आत्मसात गर्दै लोकतान्त्रिक विधि पद्धतिअनुसार मुलुक परिवर्तन गर्न लाग्ने उनले थपिन् ।

प्रकाशित : मंसिर १३, २०७८ १०:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×