२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६१

साझा उम्मेदवार उभ्याउनै पर्ने दबाबमा पौडेल समूह

सभापति देउवा एकातिर आफ्नो टिममा बलिया छन्, त्यसमाथि पार्टी र मुलुकको सत्ता र शक्ति उनको हातमा छ । यस्तो बेला देउवालाई पार्टीको नेतृत्वबाट हटाउन सजिलो छैन भन्ने पौडेल समूहका सबै आकांक्षीले बुझेका छन् । तैपनि आफ्नो राजनीति सुरक्षित गर्नका लागि उम्मेदवारीबाट पछि नहट्ने नेताहरूको ढिपी खुकुलिएको छैन ।
प्रकाश धौलाकोटी

काठमाडौँ — पार्टीको नेतृत्व परिवर्तन गर्ने पक्षमा रहेको भने पनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरूले त्यसका लागि साझा उम्मेदवार तय गर्न सकेका छैनन् । महाधिवेशनको मिति नजिकिँदै गर्दा साझा उम्मेदवारी चयनको विषय झन्–झन् पेचिलो बन्दै गएको छ । सभापतिका लागि वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाको दाबी छ ।

साझा उम्मेदवार उभ्याउनै पर्ने दबाबमा पौडेल समूह

चारै जना आकांक्षीहरू आफूैँलाई केन्द्रमा साझा उम्मेदवारीको लविङ गरिरहेका छन् । साझा उम्मेदवारी चयनको प्रयासले अहिलेसम्म सफलता पाउन सकेको छैन । तर, जिल्ला र क्षेत्रीय अधिवेशनको परिणामले नेताहरूलाई साझा उम्मेदवार तय गर्न दबाब बढेको छ ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आफ्नो समूहबाट लगभग सर्वसम्मत उम्मेदवार छन् । उपसभापति विमलेन्द्र निधिले विद्रोह गरेपनि त्यसको क्षति अन्यत्रबाट पूर्ति गर्न सक्ने देउवाको आंकलन छ । देउवालाई आफ्नो टिममा सभापतिको उम्मेदवार बन्न कुनै बाधा छैन ।

उनी आफ्नो टिम घोषणाको अन्तिम तयारीमा छन् । एकातिर देउवा आफ्नो टिममै बलिया छन्, अर्कोतिर पार्टी र मुलुककै सत्ता र शक्ति उनको हातमा छ । यस्तो बेला देउवालाई पार्टीको नेतृत्वबाट हटाउन सजिलो छैन भन्ने पौडेल समूहका सबै आकांक्षीले बुझेका छन् । तैपनि आफ्नो राजनीति सुरक्षित गर्नका लागि उम्मेदवारीबाट पछि नहट्ने नेताहरूको ढिपी खुकुलिएको छैन ।

‘सबैलाई थाहा छ, अहिले सभापति जित्न सजिलो छैन । यो विषयमा चारै जना नेताहरू बसेर पनि छलफल चलेको छ । तैपनि एकले अर्कालाई सघाउने बातावरण बनिसकेको छैन,’ साझा उम्मेदवारीका लागि प्रयासरत एक पूर्वपदाधिकारी भन्छन्, ‘अन्तिम समयसम्म भएपनि साझा उम्मेदवार त बनाउनैपर्छ । अहिले क्षेत्र र जिल्लाको परिणाम र त्यहाँ निर्वाचित साथीहरूको सन्देश पनि त्यही छ ।’

पौडेल समूहका आकांक्षी नेताहरूले १७ भदौमा सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीभित्रको लोकतन्त्र बचाउनकै लागि भएपनि आफूहरूले साझा उम्मेदवार दिने प्रतिबद्धता जनाएका थिए । त्यसयता नेताहरूबीच पटक–पटक समझदारीको प्रयास भएको छ भने त्यही विषयमा घोचपेच र भनाभन पनि परेको छ । तर, त्यति हुँदा पनि नेताहरू अझैसम्म साझा उम्मेदवार चयन गर्नुपर्छ भन्ने रटानबाट पछि हटेका छैनन् ।

‘साझा उम्मेदवार छानौँ, नत्र देउवालाई जित्न सकिन्नँ भन्ने उहाँहरू सबैको भनाइ छ, तर कोही पनि एकले अर्कालाई छोड्न तयार हुनुहुन्नँ,’ पौडेल समूहका एक युवा नेता भन्छन्, ‘उहाँहरू मिलेको राम्रो हो, नत्र हामीले पनि उहाँहरूमध्ये एउटा छान्नुपर्ने हुन्छ । त्यसैले हामीले छिटोभन्दा छिटो एकल उम्मेदवारीको टुंगो लगाउन दबाब दिइरहेका छौँ ।’

ती नेताले क्षेत्रीय अधिवेशनको परिणामपछि महाधिवेशन प्रतिनिधिहरूको परिणाम आउने, र त्यसैको विश्लेषण गरेर आकांक्षी चारमध्ये सबैभन्दा शक्तिशाली उम्मेदवारलाई साझा उम्मेदवार बनाउनुपर्ने आन्तरिक समझदारी रहेको बताए ।

केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म हुँदैछ । तर, निर्वाचन समितिले २१ मंसिरमै उम्मेदवारको मनोनयन दर्ता गर्ने समय तोकेको छ । त्यसहिसावले अब महाधिवेशनका लागि एक सातामात्रै बाँकी छ, तर, सभापतिका लागि कस–कसका बीच प्रतिस्पर्धा हुन्छ भन्ने नै टुंगो छैन । नेताहरूको असमझदारीका कारण कार्यकर्ता पनि अन्योलग्रस्त छन् ।

वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशनमा यसपटक नीति, कार्यक्रम र योजनामाथि कुनै छलफल नहुन लागेको भन्दै आइतबार पार्टीको रुपान्तरणका विषयमा धारणा सार्वजनिक गरे । सो कार्यक्रममा महामन्त्री शशांक कोइराला, नेताहरू अर्जुननरसिंह केसी, रामशरण महत, जीवन परियार र कमला पन्त लगायतमात्रै सहभागी भए ।

पौडेलले बोलाएपनि पूर्वमहामन्त्री प्रकाशमान सिंह र शेखर कोइराला कार्यक्रममा आएनन्, अरु धेरै केन्द्रीय सदस्यहरू त्यहाँ उपस्थित भएनन् । तर, पत्रकारहरूमाझ भने नेता पौडेलले अब छिट्टै समझदारीमै सभापतिको साझा उम्मेदवार तय हुने दाबी गरे । ‘हामीहरु छलफलमै छौँ, एक–दुई दिनमै सहमतिमै उम्मेदवार टुंग्याउँछौँ,’ पौडेलले भनेका थिए ।

तर, पौडेलले भनेको जस्तो कुनै निर्णायक छलफल भने भएको छैन । यसबीचमा गत साता पौडेलले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहसँग छलफल गरेका थिए । अर्का आकांक्षी कोइराला सातादेखि क्षेत्र र जिल्लाको अधिवेशनका लागि भन्दै विराटनगर बसेर आइतबारमात्रै काठमाडौं फर्किएका छन् ।

‘अहिले क्षेत्र र जिल्लाको अधिवेशन चलिरहेको छ, सबै आ–आफ्नै क्षेत्र र जिल्लामा व्यस्त हुनुभयो, व्यक्तिगत कुराकानी त भइरहेका छन् । तर, त्यसरी निर्णायक छलफल भएको छैन,’ पौडेल निकट एक नेताले भने ।

त्यसो त साझा उम्मेदवार बन्नकै लागि पौडेलले शनिबार र आइतबार पनि नेताहरूसँग छलफल भने गरिरहेका छन् । पौडेलले शनिबार आफ्नै निवासमा नेता प्रकाशमान सिंह र बलबहादुर केसीसहितसँग र आइतबार विहान महामन्त्री कोइरालासँग छलफल गरेका थिए ।

स्रोतका अनुसार छलफलमा सहभागी नेताहरूबीच देशभर क्षेत्रीय अधिवेशन र जिल्लाको परिणामका विषयमा चर्चा भएको थियो । त्यसको समीक्षा गरेर अघि बढ्नुपर्ने नेताहरूको निष्कर्ष थियो ।

छलफलमा सहभागी नेता बलबहादुर केसीले सबै जिल्लाको नतिजा आएपछि पुनः त्यसको विश्लेषण गर्ने र सहमतिको विन्दु तय गर्ने समझदारी बनेको बताए । ‘एक जनामात्रै उम्मेदवार बनाउनुपर्छ भन्ने विषयमा सबै साथीहरू सहमत हुनुहुन्छ । त्यो पूरानै कुरा हो । अहिले जिल्लाको परिणामले पनि नेताहरू एकतावद्ध हुनुपर्ने सन्देश छ,’ केसीले इकान्तिपुरसँग भने, ‘सबै जिल्लाको नतिजा आएपछि पुनः त्यसको विश्लेषण गरेर टुंगोमा पुग्नुपर्छ भन्ने समझदारी बनेपछि हामी उठेका हौँ, फेरि छलफल हुन्छ ।’

केसी कांग्रेसमा देउवा र पौडेलसँगै राजनीति गरेका नेता हुन् । सोलुखुम्बुका नेता केसी जिल्ला अधिवेशन नै नसकी पौडेल–सिंह संवादमा मध्यमार्गी भूमिका निभाउन काठमाडौं आएर आइतबारै जिल्ला फर्किएका छन् । ‘चार नेताको अडानलेमात्रै हुदैन, देशभरिका साथीहरूको कुरा के हुन्छ ? त्यही आधारमा परिस्थिति बुझेर निर्णयमा पुग्नुपर्छ, मलाई लाग्छ, त्यसमा विमति हुदैन, हामी एउटै उम्मेदवार छान्छौँ,’ केसीले भने ।

पौडेलले साझा उम्मेदवारीका लागि विभिन्न विकल्पहरूसमेत अघि सारेका छन् । उनले आफू एकपटक मात्रै सभापति बन्ने, तीन तहको निर्वाचन जिताएर कार्यवाहकको जिम्मेवारी दिने जस्ता प्रस्ताव उनले गरिसकेका छन् ।

सिंह र कोइरालाहरूले पनि शक्ति बाँडफाँड गरेर साझा उम्मेदवार तय गर्न सकिने बताउदै आएका छन् । १३ औँ महाधिवेशनमै सभापतिका प्रत्यासी नेता पौडेल समूहका सबैभन्दा सिनियर हुन् । ‘म सभापतिको उम्मेदवार बन्दा कसैलाई अफ्ठ्यारो छैन । सबैलाई अटाउने ठाउँ छ, म अघिल्लो पटकको घाइते हुँ, अहिले मलाई स्वभाविक हक लाग्छ,’ पौडेलले भन्दै आएका छन् ।

पौडेलनिकट स्रोतका अनुसार पछिल्लो भेटमा पौडेलले सिंहसँग आफूलाई सघाउन भनेका थिए । जवाफमा सिंहले कोइरालाहरूले छाडेको अवस्थामा आफू बाधक नबन्ने बताएका थिए । कोइरालासँगको भेटमा पनि पौडेलले आफूलाई छाडिदिन आग्रह गरेका थिए । तर, कोइरालाले पनि उस्तै जवाफ फर्काएका थिए ।

महामन्त्री कोइरालाले आफूनिकटहरूलाई टिमबाट सर्वसम्मत उम्मेदवार नभएको अवस्थामा सभापतिमा नलड्ने भनेका छन् । ‘सर्वसम्मत उम्मेदवार भएको अवस्थामा मैले जित्न सक्छु, म लड्छु । तर, मलाई नै चाहिन्छ भन्ने छैन, नभए एक्लै लड्ने पनि होइन,’ कोइरालालाई उदृत गर्दै उनीनिकट संखुवासभा सभापति दीपक खड्काले भने ।

कोइरालाले अहिले कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा कुनै निर्णय नलिएको खड्काको दाबी छ । ‘शेरबहादुर दाईको टिम क्लियर भइसकेको छ, समस्या हाम्रो हो । हाम्रो अझै समस्यै छ,’ उनले भने, ‘मैले एकल उम्मेदवार चुन्न मुस्किल पर्ने देखिरहेको छु ।’

कांग्रेस महाधिवेशनमा क्षेत्रीय अधिवेशनबाट चुनिएका प्रतिनिधि मतदाता हुन्छन् । अहिले देशभरि क्षेत्र र जिल्ला अधिवेशनको परिणाम आउनेक्रम छ । आइतबारसम्म अधिवेशन सकिएका ४४ जिल्लामध्ये २० जिल्लामा मात्रै पौडेल समूहका नेताले सभापति जितेका छन् । जिल्ला र क्षेत्रको नतिजामा देउवा पक्ष हाबी भएका कारण सभापतिका प्रत्यासीहरू हच्किएको अर्का एक केन्द्रीय सदस्यले बताए ।

‘जिल्ला र क्षेत्रमा जस्तो अपेक्षा थियो, त्यो सोचेजस्तो भइरहेको छैन, सत्ता र शक्तिको व्यापक दुरुपयोग भएको छ,’ ती नेताले भने, ‘यस्तो बेला पनि नेताहरूले सहमतिबाट साझा उम्मेदवारी दिने र पार्टीलाई बचाउन नसक्ने हो भने दुर्घटना हुन्छ ।’ ती नेताले जिल्लाबाट चुनिएका नेता कार्यकर्ताले नेताहरूलाई एकतावद्ध भएर अघि बढ्न दबाब दिएका बताए ।

पौडेल समूहले साझा उम्मेदवारी दिएर देउवाको विकल्प खोज्ने प्रयास गरिरहेका बेला उता संस्थापन पक्ष भने पहिलो चरणमा बहुमत ल्याउने तयारीमा छ । देउवाले सातै प्रदेशमा तल्लोस्तरमा सम्पर्क गर्न र कार्यकर्ताको चाहना बुझेर अघि बढ्न निर्देशन गरेका छन् । देउवापक्षीय नेताहरूको सक्रियता चुलिएको छ । ‘सबै केन्द्रीय सदस्यहरू जिल्लामा हुनुहुन्छ । मन्त्रीहरू स्वयम् महाधिवेशन प्रतिनिधिलाई सम्पर्क गरेर तल्लो तहदेखिको सांगठनिक अपडेट लिएर महाधिवेशनको तयारीमा लाग्नुभएको छ,’ देउवानिकट एक नेताले भने, ‘पहिलो चरणमै बहुमत पुर्‍याउनुपर्छ, र पुग्छ भन्ने हाम्रो दाबी हो ।’

सभापतिका अर्का आकांक्षी उपसभापति निधिले पनि सभापतिको दाबी गर्दै घोषणा–पत्र नै जारी गरेर टिम बनाउने तयारीमा छन् । कांग्रेस महाधिवेशनमा देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट चुनिएका करिब ४५ सय महाधिवेशन प्रतिनिधि मतदाता हुन्छन् । विधानले कांग्रेसको सभापति बन्न कुल खसेको मतको ५१ प्रतिशत मत ल्याउनैपर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : मंसिर १२, २०७८ २१:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?