कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस रूपान्तरणका १० सूत्र

'नेताको तानाशाहीबाट मुक्त लोकतन्त्र मेरो परिकल्पना हो' [पूर्णपाठ]

हाम्रो पार्टीमा लोकतान्त्रिक पद्धतिको क्षयीकरण भइराखेको महशुस हुन्छ । पार्टीको विधानअनुरुप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ ।

काठमाडौँ — कुनै पनि समाजको बानी व्यहोरा र संस्कारलाई त्यो देशको नेतृत्व वर्गको संस्कारले असर गर्दछ भन्ने कुरामा म विश्वास गर्दछु । जर्ज वासिङटन, चर्चिल, महात्मा गान्धी, मण्डेला यसका उदाहरण हुन् । हामीले त्यो लोकतन्त्रको संस्कृति, सामूहिकताको संस्कृति, बराबरीको संस्कृतिलाई आज देशमा स्थापित गर्नु आवश्यक छ । मेरो लडाइँ यसकै लागि हो ।

'नेताको तानाशाहीबाट मुक्त लोकतन्त्र मेरो परिकल्पना हो' [पूर्णपाठ]

सुख र सुविधाको जीवन छोडेर १४–१५ वर्ष कालकोठरीमा बिताउनुको तात्पर्य मेरो व्यक्तिगत खुसी र उन्नयनको खोजी होइन । यो समाजको परिवर्तन र रुपान्तरणका लागि हो । म एउटाको शक्तिको लालसा वा कीर्तिको भोक भइदिएको भए त्यो पूरा गर्ने अवसर मलाई पटकपटक प्राप्त भएका हुन् ।

तर, आफ्नो आर्दशबाट निदिृष्ट जीवन दृष्टिकोणलाई मैले त्यसका लागि त्याग गरेको छैन । न कहिल्यै त्याग गर्नेछु । बराबरीको नारा धेरैले घन्काए तर व्यवहारमा उतार्न उनीहरू असफल भएका छन् । मैले त्यसलाई व्यवहारमा उतार्न कोशिस गरेको छु । अबलम्बन गरिएका आदर्शलाई व्यवहारमा उतार्दा पार्टीमा विभाजनका रेखाहरू मेटिन्छन् ।

अहिलेको नेतृत्वले आफ्नो पक्षले हार्छ भनेर नेपाल दलित संघ, जनजाति संघ, किसान संघ, नेपाल विद्यार्थी संघ लगायतका भातृसंस्थाको अधिवेशन नै गराउन चाहेन । पार्टीको महाधिवेशन नै यत्रो महामारीतिर धकेलियो । मेरो एउटै मात्र उद्देश्य गुटविहीन पार्टी हो । म पार्टीका सबै निकाय, अङ्ग, अवयवहरुका चुनाव समयमा गराउन प्रतिबद्ध छु । तिनीहरुलाई चलायमान गराउने कुरामा प्रतिबद्ध छु । पार्टीमा नयाँ जीवन, नयाँ शक्ति, नयाा उर्जा भर्ने काम गर्नु आवश्यक छ । मलाई मेरो गुट हार्ला किभन्ने डर छैन । म गुटको आधारमा हैन विचारको आधारमा राजनीतिमा वाँच्न चाहान्छु ।

सत्तरी बर्षको संर्घषबाट निर्माण भएको अहिलेको बहुलवादमा आधारित बहुदलीय लोकतान्त्रिक संसदीय प्रणालीका पनि कतिपय कमजोरी होलान् । समसामयिक सुधार का साथ यसैलाई चिरस्थायी बनाएर अघि लानुको विकल्प नेपालसँग छैन । बारम्बारको अस्थिरता र नयाँ नयाँ प्रयोग अब नेपालले धान्न सक्तैन । यसै अन्तर्गत अकुण्ठित मौलिक हक, विधिको शासन र सुसभ्य समाज निर्माण हाम्रो लक्ष्य हो । सत्ता कुनै दल विशेषको मात्र हैन समस्त जनताको हो भन्ने कुरा साकार गराउनु आवश्यक छ ।

दलीय राजनीतिलाई आफ्ना नीति, सिद्धान्त र कार्यक्रममा सहयोगी बनाउनमा उपयोग गर्नुपर्छ । दलहरू नागरिक अधिकारका रक्षक हुन् तर अति दलबन्दी भयो भने जनताको अधिकार र स्वतन्त्रता कुण्ठित हुन्छ । त्यसै भएर म कांग्रेसको लोकतान्त्रिकरण भन्छु । दलको तानाशाही, दलका नाममा नेताको तानाशाहीबाट मुक्त लोकतन्त्र मेरो परिकल्पना हो । त्यसको अर्थ निर्दलीयता पनि हैन । दल लोकतान्त्रिक संस्कार र आचारणबाट परिचालित हुनु पर्दछ । त्यसका लागि सबै भन्दा पहिलो कुरा नेतामा राजावादी प्रवृति र संस्कार रहनु हुदैन । कमजोर पार्टीको बलियो नेता लोकतन्त्रमा अवाञ्छनीय हो ।

लोकतन्त्रका दलहरू रेजिमेन्ट चरित्रका भए जनताको अधिकार कुण्ठित हुन्छ । निमुखाले न्याय पाउदैनन् । दलको आडमा सर्वत्र पहुँच पुर्‍याउने प्रथा प्रवल भयो भने दल वाहिरका कमजोर वर्ग उपेक्षित र उत्पीडित रहि रहनु पर्ने हुन्छ । लोकतान्त्रिक समाजको निमित्त यो ग्राह्य छैन ।

........

लोकतन्त्रका निमित्त थकानरहित लडाई प्रथम राष्ट्रपति निर्वाचन प्रसङ्गमा मेरो नाम अघि सारिदा मैले गिरिजाबाबुसँग भनें, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन । लोकतन्त्रको लडाईं बाँकी नै देख्छु । त्यसैले म त्यो लडाई मैदानमै रहेर लड्न चाहन्छु ।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो । लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ । त्यो लडाई मैले तनहुँको बुल्दीपूल उद्घाटन काण्डदेखि लडिरहेको छु ।

अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाईं कानुनी मैदानमा पुगेर सकिएको छ । तर, यस्ता लडाई फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिदैन । अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरु लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले देखाए ।

सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ । आफ्नै पार्टीको बहुमत भएको संसद दुई दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाासम्म लड्नुपर्‍यो । संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन । महत्वाकांक्षीहरुबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ । जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, सामदाम–दण्डभेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन् । छ राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधै सत्तामा हावी भैरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो ।

तेश्रो विश्वका मुलुकहरू यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन् । मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो । मेरो लडाई यही प्रवृत्तिविरुद्ध छ । संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन् । फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन । उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन । आफ्नै करङ्ग भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ । महाधिवेशनको जिम्मेवारी विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नु पर्छ । यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ । माथिका विषयहरु निश्चय पनि महाधिवेशन अन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन् । त्यतिमात्र होइन, गुटहरूमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन् । कोरोना महामारी नसकिादै हामी १४ औं महाधिवेशन गर्न बाध्य छौं । यो नेतृत्वले थोपरेको बाध्यता हो ।

मैले गत ०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेण्डर बनाऔं र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौं भनेको थिएँ । त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पुर्‍याइएको छ । कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ । हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं । सरकार मात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ । हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरुप हुनु पर्दछ । तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भैराखेको महशुस हुन्छ । पार्टीको विधान अनुरुप पार्टी नचल्ने, राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ ।

लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहाना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो । यसमा कुनै हेलचक्राई हुनु हुादैन । ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो । कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आर्कषित गर्ने पार्टी बन्नु पर्छ । कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ ।

आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पङ्ति आवश्यक पर्छ । भाग्यमा भरपर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो । मेहनतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ । लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ । कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ । जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ । पार्टी सुदृढीकरणको निमित्त निम्न कार्य गरिनु पर्दछ ।

प्रकाशित : मंसिर १२, २०७८ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?