कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्यामा नेपाली युवती तस्करी गर्ने व्यापारीलाई ३० वर्षको जेल सजाय

होम कार्की

काठमाडौँ — अफ्रिकी मुलुक केन्यामा नेपाली युवतीको तस्करी गर्ने क्यानेडियन व्यापारी असिफ अमिरेल अलीबई जेथलाई केन्याको मोम्वासा अदालतले ३० वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् २०१९ मा १२ नेपाली युवतीलाई गैरकानुनी रुपमा आफ्नो डान्स क्लबमा नृत्य गर्न लगाइएको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

केन्यामा नेपाली युवती तस्करी गर्ने व्यापारीलाई ३० वर्षको जेल सजाय

अदालतले विदेशी नागरिकलाई मानव तस्करी गरी श्रम इजाजत नलिई काममा लगाएको ठहर गर्दै जेल सजाय र १० लाख केन्याली मुद्रासम्म जरिवाना तोकेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अदालतले उनलाई १२ नेपाली युवतीलाई बन्धक बनाएर शोषण समेत गरेको ठहर गरेको छ ।

उनले मोम्वासास्थित अम्के प्लाजामा ‘रंगिला ग्रिल एण्ड बार’ सञ्चालन गर्दै आएका थिए । त्यहाँ मुजुरा नाच गर्न ल्याइएको १२ नेपाली युवतीमध्ये दुई जनाको उमेर १६ र १७ थियो भने आठजनाको २२ देखि २६ वर्ष उमेरसमूहका थिए । दुई जना भने ३० वर्षमाथिका थिए ।

त्यसअघि पनि स्थानीय प्रहरीले वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट २१ नेपाली युवतीलाई उद्धार गरेको थियो । पछिल्लो समय केन्याको मानव बेचबिखन प्रतिरोध तथा बाल रक्षा एकाइ र अपराध एकाइको संयुक्त टोलीले रात्रिकालीन क्लबमा मानव तस्करी गरी ल्याएका नेपालीसहित विदेशी युवतीलाई उद्धार गर्ने अभियान नै चलाइरहेको छ । केन्यास्थित अवैतानिक नेपाली दूत जिम्मी अस्कारले मानव तस्करहरुले नेपाली युवती ल्याउने कार्य भने अझै नरोकिएको बताए ।

केन्याका डान्सबारमा नर्तकी र यौनकर्मीका रूपमा काम गर्ने युवतीको खोजी गर्दै केन्याली नागरिक नै काठमाडौं आउने गरेका छन् । नेपाल प्रहरीले पनि केन्यामा युवती पठाउन सक्रिय रहेको भन्दै एजेन्ट ललितसिंह सुवाललाई पक्राउ गरेको थियो । उनको भनाइ अनुसार आफूले भनेजस्तो उचाइ, वर्ण र ढाँचा नमिलेको भन्दै केन्याबाट नै बार मालिकहरु आफैं आउने गरेका छन् ।

एउटा युवती पठाएबापत एजेन्टलाई ५० हजार रुपैयाँ दिने गरिएको छ । नेपाली युवतीलाई नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट यूएई हुँदै केन्या पुर्‍याउने गरिन्छ । मासिक डेढ लाख रुपैयाँसम्म कमाइ हुने लोभ देखाएर लगिने युवतीलाई डान्सबारका मालिकले बन्दीको हैसियतमा राख्ने गर्छन् ।

प्रकाशित : मंसिर १२, २०७८ १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?