कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
एमाले महाधिवेशन

भाषण नसुनेरै फर्किए कार्यकर्ता

एमाले अध्यक्ष ओलीलाई नजिकबाट हेर्न, भाषण हेर्न आएका कार्यकर्ता भीड छिचोलेर मञ्चसम्म पुग्नै सकेनन्, घर फर्कन पनि सास्ती बेहोरे
रमेशकुमार पौडेल

चितवन — रूपन्देही तिलोत्तमा नगरपालिका–११ का रणसिंह थापा १२ कक्षा पढ्ने छोरी अनिशालाई लिएर एमाले महाधिवेशन उद्घाटन समारोहमा केपी शर्मा ओलीको भाषण सुन्न शुक्रबार चितवन आएका थिए । दिउँसो ३ बजेतिर एमाले अध्यक्ष ओलीको मन्तव्य सुरु हुँदा रणसिंह मञ्चभन्दा धेरै पर पुल्चोकमा हतास मनस्थितिमा भेटिए ।

भाषण नसुनेरै फर्किए कार्यकर्ता

‘मञ्च भएको ठाउँमा पुग्न सक्ने छाँट देखिएन । घर फर्कने भनेको पुलमा आम्मा कत्रो जाम हो ? भीडले गर्दा छोरी झन्डै बेहोस भई,’ उनले भने, ‘यो अवस्था देखेपछि त छोरी भाषण सुन्न कहीं कतै नजाने हुन्छे कि क्या हो †’ उनीहरू चढेर आएको गाडी पुलपारि थियो । उनले आफ्नो वडाबाट मात्रै आठ वटा बस र २ वटा बलेरो जिपमा मानिस आएको सुनाए ।

पुलको भीड छिचोलेर गैंडाकोटबाट नारायणगढ छिर्न नवलपुर कावासोतीकी वृन्दा गैरेलाई झन्डै डेढ घण्टा लाग्यो । गैरेले पुलको जाम पार गरे पनि नदी किनारको भीड नाघेर मञ्च वरपर पुग्न सकिनन् । त्यसैले उनी पुलनजिक नै बसेर माइकमा सुन्ने प्रयास गरिन् । तर माइकले राम्रोसँग काम नगर्दा को बोलेको हो, के भनेको हो भन्ने मेसो पाइनन् । ‘पार्टीको महाधिवेशन हो । नेताको भाषण सुन्न पाएको भए राम्रै हुन्थ्यो । तर पाइएन । भीड धेरै हुनाले सजिलै ठाउँमा पुग्न सकिएन । पार्टीलाई विश्वास गरेर नै मान्छे आएका रहेछन्, त्यसैले यस्तो भीड भयो,’ गैरेले भनिन् । नवलपुर हुप्सीकोटका मनिका आले, हिरा कानु, गंगीसरा राना सूर्य चिह्न अंकित सेतो झन्डा समाएर बसेका थिए । उद्घाटन कार्यक्रममा आए पनि फर्कन ढिलो हुने भन्दै उनीहरू नेताको भाषण सुन्न बसेनन् । ‘पार्टी फुट्यो भन्थे, फुटेको पार्टीमा पनि यो विधि मान्छे भेटिए । यो राम्रो कुरा हो,’ हुप्सीकोटकै मीनबहादुर सिर्पालीले भने ।

मध्याह्न १२ बजे सुरु गर्ने भनिएको उद्घाटन कार्यक्रममा अध्यक्ष ओली सवा १ बजे बल्ल मञ्चमा उक्लेका थिए । त्यसको तीन घण्टापछि सवा ४ बजे कार्यक्रम समापन भएको थियो । तर त्योभन्दा पहिल्यै रूपन्देही सियारी–४ छपियाका रामकुमार यादव घर फर्कन लागेका थिए । श्रीमती रेखा यादव पनि सँगै थिइन् । ‘हाम्रो बुबा राजनीति गर्नुहुन्छ । म त्यस्तो राजनीति गर्दिनँ तर पार्टीको कार्यक्रममा जाने गर्छु । यसअघि बुटवलमा भएको आठौं महाधिवेशनमा पनि गएको थिएँ । त्योभन्दा यहाँको भीड धेरै ठूलो लाग्यो,’ ४० वर्षीय यादवले भने । उनीसँग कुरा हुँदै गर्दा पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्दै थिए । तर नदी किनारको पुछारमा बसेका रामकुमारले कसले बोलेको हो, मेसो पाउन सकेनन् । मञ्चभन्दा परपर राखिएका माइकहरूले राम्रोसँग काम नगर्दा बजारतिर भाषण सुन्न सकिएको थिएन । घर फर्कन समय घर्कंदै गएको थियो, त्यसमाथि पुलमा ठूलो जाम थियो । पश्चिम नेपाल लाग्नेहरू चिन्तामा थिए । प्राय:जसो रातारात गाडी चढेर गैंडाकोटसम्म आएका थिए । त्यसपछि पैदलै पुल तरेर उद्घाटन स्थल पुगेका थिए । बिहान खाली देखिएको पुल पछि भरिभराउ भएर मान्छे मात्रै हिँड्न पनि सकस भएको थियो ।

पुल पार हुन लागेजस्तै अप्ठ्यारो नारायणी किनारको पुछारबाट मञ्च भएको सिरानसम्म पुग्न थियो । स्नातक पढ्दै गरेका पुष्पा पाण्डे, प्रिती सापकोटा र चन्दा गौतम शुद्धोधन गाउँपालिका–५ मानपकडीबाट महाधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन आएका थिए । उनीहरू एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध पनि छन् । ‘हामी अध्यक्ष केपी ओलीलाई प्रत्यक्ष देख्न पाइन्छ भनेर आएको हो । बल्लबल्ल मञ्च नजिक पुगेर उहाँलाई हेर्‍यौं । भाषण सुन्न त मन थियो तर फर्कन बेर हुने भएका हिँड्न लागेको,’ पुष्पाले भनिन् ।

चितवन प्रहरी प्रमुख एसपी ओम अधिकारी मध्याह्नपछि सडकमा ठूलो भीड बढेको बताउँछन् । कार्यक्रम सकिएर फिर्ता हुन थाल्दा राजमार्गमा जताततै लामो जाम भएको उनले बताए । दिउँसो ३ बजे छिचोल्नै गाह्रो हुने गरेर नारायणीको पुलको मुखमा ठूलो जाम थियो । पुलभरि भीड थियो । नारायणगढतर्फ तीन वटा र पुलको मध्यभागमा तीन एम्बुलेन्स पार हुन नसकेर साइरन बजाउँदै बसेका थिए । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार दिउँसो पत्रकार सम्मेलनमा उद्घाटनको दिन नारायणी किनारलाई ‘मानव समुद्र’ बनाउने बताएका थिए । कार्यक्रममा पाँच लाख जना जुटाउने एमालेको दाबी थियो । सरकारी अधिकारीहरूले कति संख्यामा मान्छे आए आकलन गर्न भ्याएका छैनन् । नारायणी किनार र बजारभर देखिएको भीडले जमघट ठूलै भएको देखाउँथ्यो ।

नारायणी किनारमा बिहीबार मध्यरातै जमघट सुरु भएको थियो । टाढाबाट आएका मानिस गैंडाकोटतर्फ बगरमा बसभित्रै सुतेका थिए । उनीहरूको थकान कार्यक्रम स्थलमा पनि देखिन्थ्यो । कपिलवस्तु मायादेवी गाउँपालिका–४ गुन्डीबाट महिला र पुरुष गरेर चार सय जना आएको लाला लोधले बताए । कार्यक्रम सुरु नहुँदै उनीहरू सबै चौरमा घाम तापेर बसेका थिए । झाँकीका बाजाको झ्याइँझ्याइँ र माइकमा घन्कने चर्को आवाजको प्रवाह नगरी केही चौरमै निदाएका थिए । रातारात गाडी चढेर नारायणगढ आएका धेरै थिए । उनीहरूका लागि बासको व्यवस्था थिएन । त्यसैले कार्यक्रम सकिँदा फर्कन ढिला हुने भएका कारण धेरैले भाषण कुरेनन् । सुदूरपश्चिम बैतडीकी सरस्वती नेपाली, मीना भट्ट, कल्पना राना महाधिवेशनका लागि मंसिर ६ गते जिल्लाबाट हिँडेका थिए । उनीहरूलाई फर्कने हतार थिएन । ‘भर्खर पार्टी फुटे पनि एमालेलाई कार्यकर्ताले विश्वास गरेकै छन् । यति ठूलो जमघटले जनता पनि साथ रहेछन् भन्ने देखियो,’ सरस्वतीले भनिन् । यो महाधिवेशनपछि आउने नेतृत्वले पार्टीलाई सबै क्षेत्रमा स्थापित गराउन सक्ने आशा आफूले लिएको उनले बताइन् ।

प्रकाशित : मंसिर १०, २०७८ २२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?