कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण आवश्यक छ : पोखरेल 

‘हामी ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने चाहदैनौँ’

काठमाडौँ — नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्टीहरूको एकता र ध्रुवीकरण आवश्यक रहेको बताएका छन् । उनले सबैको साझा प्रयास भएमात्र मुलुकले नयाँ कोल्टे फेर्न सक्ने बताए ।

कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरण आवश्यक छ : पोखरेल 

‘कसैको एक्लो यात्राले मात्रै नेपालको राष्ट्रिय स्वाधीनता र जनताको आकांक्षाअनुसारको विकास र समृद्धि हासिल गर्न कठिन छ, समाजवादको परिकल्पना त दूरको कुरा हो । तर, एउटा सत्य के हो भने हामी ‘माऊ खाने माकुरा’ बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न बने चाहदैनौँ,’ नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै नेता पोखरेलले भने, ‘एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास सबैको रहने हो मुलुकले नयाँ कोल्टे फेर्न सक्छ । समाजवादी क्रान्तिले नयाँ दिशा पक्रन सक्दछ ।’

उनले समाजवादी समाजकै लागि कम्युनिस्ट पार्टीहरूको ध्रुवीकरण आवश्यक रहेको बताए । ‘हामीबीच जति सुकै मतभेद र तिक्तता भएपनि नेपालको विकास संमृद्धि र समाजवादी समाज निर्माणका लागि कम्युनिस्ट पार्टीहरूको एकता र ध्रुवीकरण आवश्यक छ । आवश्यकताले हामीलाई त्यो ठाउँमा अनिवार्य पुर्‍याउनेछ,’ उनले भने ।

नेता पोखरेलले महाधिवेशनले त्यो दिशातर्फ लैजान सक्ने नेतृत्व चयनमा भूमिका खेल्न शुभकामना दिए । ‘हामी आज नयाँ चुनौतीको सामना गरिरहेका छौँ । र नयाँ सम्भावनाको प्रतिक्षा गरिरहेका छौँ । यो महाधिवेशनले कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिनका लागि भूमिका खेल्नुहुनेछ, शुभकामना,’ उनले भने ।

नेता पोखरेलले नेपाली कम्युनिस्ट आन्दोलनको ७२ वर्षे इतिहासमा कम्युनिस्ट पार्टीहरू फुट्ने, जुट्ने हुदै आएको बताए । ‘सामाजिक शक्तिहरुका बीचमा एकता, द्वन्द्व, फेरि एकता र फेरि द्धन्द्ध र रुपान्तरण हुने गर्दछ । द्वन्द्वबिना विकास सम्भव छैन । यदि द्वन्द्व छैन भने सामाजिक विकासको गतिको मृत्यु हुन्छ । हाम्रो बीचमा पनि यही नियमहरु लागू भएका थिए,’ उनले भने, ‘केहीकाल हामी पार्टी एकता गरेर एकै ठाउँमा भयौँ, हाम्रा केही मान्यताहरूको भिन्नताका कारण र केही परिवेशका कारण अलग हुन पुगेका छौँ । कम्युनिस्ट आन्दोलनको ७२ वर्षको इतिहासमा कम्युनिस्ट पार्टीहरू बन्ने, विभाजित हुने, फेरि एकता हुने, फेरि विभाजित हुने र ध्रुवीकृत हुने शृंखला चलिरहृयो । त्यसैले द्वन्द्व निरपेक्ष, एकता सापेक्ष भनिएको होला ।’

प्रकाशित : मंसिर १०, २०७८ १४:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?