कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एमाले महाधिवेशन : के भन्छन् अरू दलका नेता ?

काठमाडौँ — देशको सबैभन्दा ठूलो दल नेकपा एमालेको दसौं राष्ट्रिय महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको संसद् विघटनको कदम, पाँचदलीय गठबन्धन सरकार र आगामी चुनावलाई लिएर देशमा राजनीतिक ध्रुवीकरण भइरहेका बेला प्रमुख विपक्षी दल एमाले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ ।

एमाले महाधिवेशन : के भन्छन् अरू दलका नेता ?

विभाजन भोगेको केही महिनापछि पाँच वर्षका लागि भावी नेतृत्वको खोजी गरिरहेको एमालेको महाधिवेशनबाट अन्य राजनीतिक दलका अपेक्षा र विश्वास के छन् त ?

'आफ्ना कमजोरीलाई गम्भीर आत्मसात् गरोस्'

विश्वप्रकाश शर्मा, प्रवक्ता - नेपाली कांग्रेस

राजनीतिक दलको अधिवेशनमा एउटा दलले अर्को दलप्रति शुभेच्छा प्रकट गर्ने नै हो । सामान्यतया हामी राजनीतिक दल आफूले गरेका राम्रा कुरा मजाले देख्छौं । आफ्ना कमजोरीलाई गम्भीर आत्मसात् गर्ने, आत्मचिन्तन गर्ने र त्यसलाई परिमार्जन कम गर्छौं भन्ने आम बुझाइ छ । यो बेलामा कांग्रेस र एमालेतिर लक्षित प्रश्न एउटै छ । त्यो प्रश्नमा एमालेले ध्यान दियोस् । दलहरू देशको राजनीतिक रूपान्तरण गर्न सक्षम हुन्छन् तर आफैंलाई किन रूपान्तरण गर्न सकिरहेका छैनन् भनेर नागरिक पंक्तिमा उठेको प्रश्नलाई सकारात्मक रूपमा लिनुपर्छ ।

बितेको तीन वर्षमा स्थिरता र समृद्धिका लागि दिइएको वाचा जुन नेतृत्वको दम्भ र आन्तरिक द्वन्द्वका कारण भंग भयो, त्यसको गम्भीर आत्मचिन्तन, आत्मसमीक्षा गर्न सक्यो भने यो अधिवेशन सफल भएको मान्नुपर्छ । अन्यथा नेतृत्वमा हिजो उहाँ छँदै हुनुहुन्थ्यो अब पनि उहाँ आउँदै हुनुहुन्छ, यसले तात्विक रूपमा केही फरक पार्दैन ।

'नेपाली कम्युनिस्ट आन्दोलनमाथि विभाजनको कदमप्रति आत्मालोचना गर्छ कि गर्दैन ?'

नारायणकाजी श्रेष्ठ, नेता, माओवादी केन्द्र

केपी ओलीको नेतृत्वको सरकारलाई इतिहासमा प्राप्त अभूतपूर्व अवसर थियो । तर, यसबीच गरेको प्रतिगामी कदम, नेपाली कम्युनिस्ट आन्दोलनमाथि विभाजनको कदमप्रति आत्मालोचना गर्छ कि गर्दैन ?

प्रतिगमनको सन्दर्भमा पनि आत्मालोचना नगर्ने, कम्युनिस्ट आन्दोलनलाई विभाजित गरेको कदमको पनि आत्मालोचना नगर्ने, कम्युनिस्ट सरकारले पाएको ऐतिहासिक अवसर गुमाउन भूमिका खेलेको विषयमा पनि आत्मालोचना नगर्ने हो भने यो कम्युनिस्ट पार्टीका रूपमा अगाडि बढ्दैन भन्ने स्पष्ट छ ।

वैचारिक, राजनीतिक प्रश्न, नीति र कार्यक्रमहरूमा छलफल गरेर सही दिशातर्फ जान्छ कि जाँदैन भनेर हेर्नुपर्ने हुन्छ । अहिलेसम्म हेर्दा विचार, सिद्धान्त, राजनीतिक लक्ष्यका बारेमा कुनै छलफल भएको देखिँदैन । त्यस कोणबाट पनि यसको सकारात्मक भूमिका देखिराखेका छैनौं । तैपनि समग्रमा महाधिवेशन सम्पन्न भएपछि नै त्यसबारे केही भन्न सकिन्छ ।

'शोषित पीडित जनताका लागि काम गर्न सकोस्'

उपेन्द्र यादव, अध्यक्ष, जसपा

संघीय गणतन्त्र संस्थागत गर्न र राष्ट्रिय समस्या सुल्झाउन महाधिवेशनले बल पुगोस् । नेपालका शोषित पीडित जनताका लागि काम गर्न सकोस् । उहाँहरूलाई महाधिवेशन सफलताका लागि शुभकामना छ ।

'एमालेसँग हाम्रो कुनै अपेक्षा छैन'

जगन्नाथ खतिवडा, प्रचार विभाग प्रमुख, नेकपा एस

हामीलाई निम्ता त गर्नुभएको छैन, त्यसलाई सजिलो गरी स्वीकार गर्छौं । तर, एमालेसँग हाम्रो कुनै अपेक्षा छैन । उसले कम्युनिस्ट पार्टीका नाममा आफूलाई चिनाइरहेको छ, त्योचाहिँ होइन । कम्युनिस्टका नाममा रहेको चरम दक्षिणपन्थी विसर्जनवादी शक्ति हो भन्ने हाम्रो विश्लेषण छ । मूलभूत रूपमा सक्कली कम्युनिस्ट चिन्तनधाराको उसले प्रतिनिधित्व गर्दैन ।

उसले आफूभित्र कुनै पुनर्जागरणको कुरा ल्यायो भने मात्रै ऊ कम्युनिस्ट पार्टी बन्छ । एमालेका कार्यकर्ता पंक्ति जुधेर ओली प्रवृत्तिको अन्त्य गर्ने दिशामा लागे भने त्यसले थोरै केही प्रगति गर्ला । तर अहिलेको अवस्थामा त्यो सम्भावना देखिँदैन । एमाले सर्वसत्तावाद र राष्ट्रिय अहंकारको गम्भीर सिकार बनेको छ, त्यसबाट मुक्त होस् ।

प्रकाशित : मंसिर १०, २०७८ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?