१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२
एमाले महाधिवेशन

१० दिन लगाएर गैंडाको मस्कट

चितवन — एमालेले १० औं राष्ट्रिय महाधिवेशनका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च गरेर गैंडाको मस्कट तयार गरेको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको समूहले १० दिन लगाएर नारायणी नदीको किनारमा गैंडाको मस्कट तयार गरेको हो । 

१० दिन लगाएर गैंडाको मस्कट

चितवन लोपोन्मुख जनावर गैंडा संरक्षणको हिसाबले विश्वमै ख्याति प्राप्त भएकाले महाधिवेशनमा मस्कटका रूपमा प्रयोग गरिएको मञ्च व्यवस्थापन समितिका सदस्य विनोद श्रेष्ठले बताए । महाधिवेशनको लोगोमा समेत गैंडा प्रयोग गरिएको छ ।

‘एकसिंगे गैंडा संरक्षण गर्न सन्देश दिने हाम्रो पार्टीको निर्णयअनुसार यस्तो गरिएको हो,’ श्रेष्ठले भने । गैंडाको मस्कट फाइबरबाट बनाइएको उनले जानकारी दिए । कम मूल्यमा छिटोछरितो मूर्ति बनाउन सकिने भएकाले फाइबर प्रयोग गरिएको हो । ‘फाइबर र रेजिन केमिकल प्रयोग गरिएको छ । मस्कट बनाउन कम्तीमा दुई महिना लाग्थ्यो ।

आकस्मिक रूपमा बनाउनुपरेकाले तीनवटा टोली बनाएर १० दिनमै तयार गर्‍यौं,’ मूर्तिकार सूर्यले भने । उनका अनुसार मस्कटमा करिब १ लाख ८० हजार रुपैयाँको कच्चापदार्थ प्रयोग भएको छ ।

मस्कटमा महाधिवेशन अवधिभर पार्टीको झन्डा राखिने भएको छ । ‘यो स्थायी संरचना हो । महाधिवेशनपश्चात् हामी राष्ट्रिय झन्डा राखेर सेल्फिस्पटका रूपमा यसलाई प्रयोग गर्नेछौं,’ श्रेष्ठले भने । उनका अनुसार महाधिवेशन स्थलमा दुईवटा स्थायी संरचनासहितको सेल्फिस्पट बनाइनेछ ।

महाधिवेशन स्थलमा १५ वटा सेल्फिस्पट निर्माण गरिएको छ । गैंडालाई मस्कटका रूपमा प्रयोग गरिएकामा संरक्षणकर्मीले खुसी व्यक्त गरेका छन् ।

गैंडा संरक्षण क्षेत्रमा दुई दशकदेखि काम गरिरहेका माधव खड्काले देशकै ठूलो पार्टीले लोगो र मस्कटका रूपमा गैंडालाई प्रयोग गर्दा देशैभर एकैपटक सकारात्मक सन्देश प्रवाह भएको बताए । ‘हामी संरक्षणकर्मीलाई पनि थप हौसला मिलेको छ,’ उनले भने । नेपालमा हाल ७ सय ५२ वटा एकसिंगे गैंडा रहेको र चितवनमा मात्र ६ सय ४५ वटा रहेको विश्व वन्यजन्तु संरक्षण कोष (डब्लूडब्लूएफ) ले जनाएको छ ।

प्रकाशित : मंसिर १०, २०७८ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?