कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
कांग्रेस महाधिवेशन

कांग्रेसमा गुटको प्रभाव : जिल्लामै पराजित भए केन्द्रका आकांक्षी

प्रकाश धौलाकोटी

काठमाडौँ — १४ औँ महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको परिणामलाई लिएर कांग्रेस नेताहरू तरंगित छन् । कहाँ कसले जित्यो ? कसले हार्‍यो ? भन्ने सम्बन्धित क्षेत्र र जिल्लामा मात्रै होइन, केन्द्रीय नेताहरूकै चासो र चिन्ताको विषय बनेको छ । सभापतिका आकांक्षीहरू जिल्ला र क्षेत्रको परिणाम आएपछि आफ्नो सम्भावनालाई हेरेर मात्रै उम्मेदवारी दिने वा नदिने भन्ने रणनीति बनाउने तयारीमा छन् । 

कांग्रेसमा गुटको प्रभाव : जिल्लामै पराजित भए केन्द्रका आकांक्षी

नेताहरूलाई कुनै ठाउँको परिणामले उत्साहित बनाएको छ, त कुनै ठाउँको परिणामले निराश । विधानतः कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य रहेका नेताहरूले क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आउन पर्दैन । तर, केन्द्रीय महाधिवेशनमा सहभागी हुन भने प्रतिनिधि बन्नैपर्छ । वर्तमान केन्द्रीय समितिमा नरहेका, तर आगामी महाधिवेशनबाट केन्द्रमा उम्मेदवारी दिने तयारीमा रहेका चर्चित नेताहरू नै आफ्नो क्षेत्रबाट धमाधम पराजित हुन थालेपछि कांग्रेसको क्षेत्रीय अधिवेशन झन् रोचक बनेको छ ।

केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिने आकांक्षा राखेका नेताहरू नै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित बनेका छन् । अझ कतिपय जिल्लामा त जिल्ला कार्यसमितिका पदाधिकारीहरू नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । यो क्रम अझै निरन्तर नै छ । पार्टीभित्रका गुट–उपगुटका कारण महाधिवेशनमा नेतृत्वमै रहेका व्यक्तिहरूले समेत हार बेहोरेको एक केन्द्रीय सदस्यले बताए । ‘आम मान्छेले देख्ने केही गुट छन् । त्यो बाहेक पनि अरु उपगुटहरू सक्रिय छन्, एउटाले अर्कोलाई रोक्ने, छेक्ने हुन्छ, त्यहीकारण चर्चित नेताहरू पनि पराजित भइरहेका छन्,’ ती नेताले भने ।

कांग्रेसको संगठन ८ तहमा छ । तर, यो महाधिवेशनबाट वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी ७ तहको नेतृत्व चयन हुन्छ । केन्द्रीय नेतृत्व चयन गर्दा गुटीय प्रतिस्पर्धा स्वभाविक हुन्थ्यो । तर, केन्द्रको नेतृत्व हत्याउन त्यस्तो गुटीय प्रतिस्पर्धा अहिले वडा तहसम्मै पुगेको छ । सबै तहमा नेतृत्वका आकांक्षीहरू गुटका आधारमा प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ‘गुटको प्रतिस्पर्धाले राम्रो मान्छे, निष्ठावान् मान्छे पार्टीको नेतृत्वमा चयन हुने संभावना घटाउँछ, राम्रो नेता चुन्ने भन्दा पनि गुटको नेता चुन्ने तिर कार्यकर्ताको ध्यान जान्छ,’ ती नेता भन्छन्, ‘गुटका आधारमा पार्टी नै कब्जा गर्ने किसिमको अभ्यास भइरहेको छ ।’

पार्टीको उपसभापतिमै उम्मेदवारी दिने घोषणा गरिसकेका केन्द्रीय सदस्य महेश आचार्य कांग्रेसमा गुटगत प्रतिस्पर्धा मौलाउँदा अधिवेशनहरू सक्षम नेतृत्व चयन गर्ने भन्दा पनि गुटगत शक्ति प्रदर्शन गर्ने माध्यममात्रै बनेको बताउँछन् ।

‘गुटगत प्रतिस्पर्धाले सक्षम मानिसहरू स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व विकासमा आउने निर्वाचन प्रणालीको आधारभुत र मौलिक उद्देश्य जुन हो, त्यसको क्षयीकरण हुँदै गएको देखिन्छ । यो महाधिवेशनको निर्वाचन त विचार र नीतिको आधारमा नेतृत्व चयन गर्ने भन्दा पनि केवल गुटगत शक्ति प्रदर्शन मात्रै बन्न लागेको छ,’ आचार्यले इकान्तिपुरसँग भनेका थिए, ‘यो त लोकतन्त्रको क्षयीकरण गर्ने अभ्यास हो । यस्ता अभ्यासहरूलाई हामीले रोक्नुपर्छ ।’ सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वका दुई शक्तिशाली गुटहरू देशभरि वडा–वडासम्म फैलिएका छन् ।

गुटगत प्रतिस्पर्धा हुँदा पार्टीको संगठन र नेतृत्वमा आवश्यक र सम्मानित नेताहरू नै पराजित हुनुलाई नेताहरू भने स्वाभाविक ठान्छन् । अहिले देशभर विभिन्न ठाउँमा क्षेत्रीय अधिवेशनको परिणामले त्यस्तै देखाएको छ ।

महाधिवेशन प्रतिनिधिमा कहाँ को पराजित भए ?

केन्द्रीय सदस्य र जिल्ला सभापति नै पराजित

आमन्त्रित केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल पनि पराजित भएका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट खुलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बनेका पौडेल पराजित भएका हुन् । विधानअनुसार अहिले आमन्त्रित केन्द्रीय सदस्यहरू पनि महाधिवेशन प्रतिनिधि जितेर नआए केन्द्रीय महाधिवेशनमा भाग लिन पाउदैनन् । शर्मालाई सभापति शेरबहादुर देउवाले आमन्त्रित सदस्य बनाएका हुन् । महाधिवेशन प्रतिनिधि उठेका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा पनि पराजित भएका छन् ।

राजनीतिक विश्लेषक आचार्य पराजित

कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । हाल उनी सभापतिका आकांक्षी शेखर कोइरालाको राजनीतिक सहयोगीका रुपमा समेत कार्यरत छन् । आचार्य मोरङ क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए । ‘महाधिवेशन प्रतिनिधि जितेपछि केन्द्रीय सदस्य लड्छु भन्नुभएको थियो, तर उहाँ क्षेत्रमै पराजित हुनुभयो,’ उनीनिकट एक नेताले दुःख मान्दै सुनाए ।

सुर्खेतमा दुई मन्त्री र जिल्ला सभापति पराजित

सुर्खेतमा गुटगत प्रतिस्पर्धाले दुई मन्त्री र जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । महामन्त्री पूर्णबहादुर खड्काका उम्मेदवारहरूको प्यानलै निर्वाचित भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट उम्मेदवार बनेका नेताहरू आफ्नै क्षेत्रमा पराजित भएका हुन् ।

क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका जिल्ला सभापति कमलराज रेग्मी, पूर्वमन्त्रीद्वय खड्कबहादुर बस्याल र शिवराज जोशी महाधिवेशन प्रतिनिधि बन्न नसकेका हुन् । दलित कोटाबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका बस्याल पूर्वस्वास्थ्य राज्यमन्त्री हुन् । जोशी भने खुला तर्फ नै प्रतिस्पर्धामा थिए ।

कञ्चनपुरमा जिल्ला सभापति, उपसभापति र सचिव नै पराजित

कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा पनि पराजित भएका छन् । क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् । क्षेत्रीय अधिवेशनमै रोकिएपछि उनी अब जिल्ला सभापतिमा दोहोरिनसमेत पाउने छैनन् । जिल्ला उपसभापति बन्धु राना र सचिव इश्वरी जोशी पनि पराजित भएका हुन् । ५ वर्षसम्म जिल्लामा पार्टी चलाएका बोहरा, राना र जोशी पराजयको कारण उनीहरूको कार्यक्षमता वा कांग्रेसप्रतिको निष्ठा होइन, गुट हो । कञ्चनपुरमा संस्थापन पक्षकै दुई गुट छन् । केन्द्रमा सभापति शेरबहादुर देउवाका विश्वासपात्र भएपनि जिल्लामा रमेश लेखक र एनपी सावदले छुट्टा–छुट्टै गुट चलाउँछन् । बोहरा र राना पूर्वमन्त्री लेखकका विश्वासपात्र हुन् भने जोशी त स्वकीय सचिव नै हुन् । यसपटक सावद गुटका उम्मेदवार विजयी भएका छन् ।

नेविसंघ महामन्त्री कुँवर पराजित

नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर पनि पराजित भएकी छिन् । कुँवर पाल्पा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएकी हुन् । काठमाडौंको पद्मकन्या क्याम्पसकी स्ववियु उपसभापति कुँवर नेविसंघमा नैनसिंह महरको कार्यकालमा सहमहामन्त्री थिइन् । त्यो कार्यसमितिले महाधिवेशन गराउन नसकेपछि गठन भएको तदर्थ समितिमा उनी महामन्त्री मनोनित भइन् । उनलाई सभापति शेरबहादुर देउवाले आफ्नो कोटाबाट महामन्त्री बनाएका हुन् ।

प्रकाशित : मंसिर ९, २०७८ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?