कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सभामुख सापकोटा स्पेन प्रस्थान

काठमाडौँ — प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा अन्तर व्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुन स्पेन प्रस्थान गरेका छन् । बुधबार बेलुका ८:५० बजे चार जना सांसद् र संघीय संसद्का कर्मचारी सम्मिलित प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सभामुख सापकोटा अन्तर व्यवस्थापिका र स्पेनको संसद्ले आयोजना गरेको सम्मेलनमा भाग लिन मड्रिडतर्फ प्रस्थान गरेका हुन् ।

सभामुख सापकोटा स्पेन प्रस्थान

यही मंसिर १० देखि १४ सम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघको १४३ औं सम्मेलन हुँदैछ। सभामुख नेतृत्वको प्रतिनिधि मण्डलमा प्रतिनिधिसभा सदस्य देवप्रसाद गुरुङ, लक्ष्मीकुमारी चौधरी तथा राष्ट्रिय सभा सदस्य प्रमिला कुमारी र अगमप्रसाद वान्तवा राईसमेत छन्। सभामुख सापकोटाले उक्त सम्मेलनमा 'कन्टेम्पररी च्यालेन्ज टु डेमोक्रेसी: ओभरकमिङ डिभिजन एण्ड बिल्डिङ कम्युनिटी' शीर्षकमा सम्बोधन गर्ने संघीय संसद्का प्रवक्ता रोजनाथ पाण्डेले जनाएका छन्।

यसअघि जवाफदेहिता निगरानी समितिलगायत मानवअधिकारवादी २५वटा संस्थाहरूले सभामुख सापकोटालाई१४३औं सभामा सहभागी हुन पठाइएको निमन्त्रणा खारेज गर्न अन्तरव्यवस्थापिका संघलाई आग्रह गरेका थिए । बुधबार अन्तरव्यवस्थापिका संघका अध्यक्ष र स्पेनको परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै ती संस्थाहरूले सभामुख सापकोटामाथि ज्यान मुद्दामा नेपालमा अनुसन्धान भइरहेको भन्दै उनलाई सहभागी नगराउन आग्रह गरेका हुन्।

उनीहरूले सपकोटालाई स्पेन प्रवेशको अनुमति नदिन र दिइहालेमा द्वन्द्वकालीन घटनामा विश्वव्यापी क्षेत्राधिकार अन्तरगत स्पेन सरकारको 'दायित्व' पूरा गर्न भनेका छन्। सभामुख सापकोटामाथि काभ्रेका अर्जुनबहादुर लामाको हत्या घटनामा संलग्नताको आरोप लागेको छ ।

सापकोटालाई अस्वीकार गर्न माग गर्दै पत्र लेख्ने संस्थाहरूमा एड्भोकेसी फोरम, एम्नेस्टी इन्टरनेसनल नेपाल, बाँदरमुढे घटना पीडित समिति, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्वपीडित साझा चौतारी, द्वन्द्वपीडित टुहुरा समाज, न्यायका लागि द्वन्द्वपीडित समाज, द्वन्द्वपीडित अधिकार मञ्च म्याग्दीलगायत छन्।

प्रकाशित : मंसिर ९, २०७८ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?