कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोला प्रक्रियाबाट इजलास गठन गर्ने मिति तोक्न बिहीबार फुलकोर्ट बस्ने

फुलकोर्ट अघि नेपाल बार र सर्वोच्च बारका अध्यक्षद्वयसँग न्यायाधीशहरूले छलफल गर्ने

काठमाडौँ — सर्वोच्च अदालतका १८ जना न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्ने मिति तोक्नका लागि बिहीबार पूर्ण बैठक (फुलकोर्ट) बोलाउने निर्णय गरेका छन् । बुधबार छलफल गरेका उनीहरूले गोला प्रक्रियाद्वारा इजलास गठन गर्नका लागि प्रशासनिक र प्राविधिक तयारी पूरा भएको ब्रिफिङ कर्मचारीबाट पाएपछि त्यसको मिति तोक्न बिहीबार फूलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

गोला प्रक्रियाबाट इजलास गठन गर्ने मिति तोक्न बिहीबार फुलकोर्ट बस्ने

१८ जना न्यायाधीशको निर्णय बमोजिम मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले फुलकोर्टका लागि समन्वय गर्नेछन् । सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले फुलकोर्ट बोलाउनुपर्नेमा अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।

न्यायाधीशहरूले बिहीबार फुलकोर्ट बस्नुअघि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्षद्वय चण्डेश्वर श्रेष्ठ र पूर्णमान शाक्यसँग पनि छलफल गर्नेछन् । प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै उनले तोकेको इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरूले गोला प्रक्रियाद्वारा पेसी तोक्ने सुनिश्चित गरेपछि इजलास फर्कन लागेका हुन् । यद्यपी नेपाल बार भने प्रधानन्यायाधीश जबराको राजीनामा बाहेकमा आफ्नो सहमती नरहने जनाउँदै निरन्तर आन्दोलनमा छ ।

गत बिहीबार बसेको फुलकोर्टले सर्वोच्च अदालत नियमावली संशोधनको निर्णय गर्दै प्रधानन्यायाधीशले तोक्दै आएको दैनिक पेसी र इजलास अब गोला प्रक्रियाद्वारा तोक्ने व्यवस्था गरेको थियो । गत सोमबार नेपाल राजपत्रमा प्रकाशित उक्त संशोधित नियमावलीमा ‘फुलकोर्टले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि गोला प्रक्रिया लागू हुने’ व्यवस्था गरिएको छ । त्यही व्यवस्था अनुसार गोला प्रक्रिया लागू हुने मिति तोक्न फुलकोर्ट बस्न लागेको हो ।

प्रधानन्यायाधीशको रूपमा जबरालाई अस्वीकार गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरू जबराले नेतृत्व गरेको फुलकोर्टमा पनि बसेका छैनन् । गत बिहीबार पहिले १८ जना न्यायाधीशले निर्णयमा हस्ताक्षर गरेर मुख्य रजिष्ट्रारमार्फत् प्रधानन्यायाधीशलाई पठाएका थिए । जसमा प्रधानन्यायाधीश जबराले पनि पछिबाट हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालत नियमावलीले फुलकोर्टमा प्रधानन्यायाधीशको उपस्थिति अनिवार्य गरेका कारण निर्णय पुस्तिका (माइन्यूट) मा भने उनकै नेतृत्वमा बैठक बसेको लिखत तयार पारिएको छ । बिहीबारका लागि पनि त्यही प्रक्रिया दोहोरिनेछ ।

प्रकाशित : मंसिर ८, २०७८ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?